
तस्बिर स्रोत, Getty Images
अमेरिकी र इजरेली आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु पुष्टि भएको छ। सरकारी टेलिभिजनले राष्ट्रभर ४० दिन शोक घोषणा गर्यो। खामेनेईकी छोरी, ज्वाइँ, नातिनातिना र बुहारी पनि सोही हमलामा मारिए।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा खामेनेईको मृत्युलाई धेरैका लागि “न्याय” भनी घोषणा गरे। उनले बमबारी जारी रहने चेतावनी दिँदै इरानीहरूका लागि “देश फिर्ता लिने यो एक मात्र अवसर भएको” टिप्पणी गरे।
खामेनेईको मृत्युपछि इरानले मध्यपूर्वभरि जवाफी आक्रमण गर्यो। दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा हमला भएको विवरणहरू छन्। रेडक्रसका अनुसार अमेरिका-इजरेली हमलामा इरानमा दुई सयभन्दा बढीको ज्यान गयो, जसमा एउटा कन्या विद्यालयमाथिको आक्रमणमा कम्तीमा ८५ जना मारिएका थिए।
दोहाको सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा अल उदेइदमा विस्फोटन भयो। रोएटर्सका अनुसार, इराकको एब्रिलमा अमेरिकी अखडा नजिकै एक ड्रोन खसाइयो। जोर्डनले इजरेल सिमामा दुई बलिस्टिक क्षेप्यास्त्र खसालेको जनायो। दुबईको फेअरमोन्ट द पाम होटेलमा विस्फोटन भई चारजना घाइते भएको पुष्टि भयो।
सन् १९७९ को क्रान्तिपछिका इरानका दोस्रा सर्वोच्च नेता खामेनेई सन् १९८९ मा रुहोल्लाह खोमेइनीको निधनपछि यस पदमा आएका थिए। विगत चार दशकदेखि शक्तिमा रहेका उनका कट्टरपन्थी नीतिहरूले इस्लामिक गणतन्त्रको जनजीवनलाई आकार दिए, उनलाई सर्वशक्तिमान बनायो।

तस्बिर स्रोत, ISNA/WANA/Reuters
इरानले परमाणु अस्त्र नचाहेको बताउँछ, तर गैरसैनिक प्रयोजनका लागि भन्दै युरेनियम प्रशोधन क्षमता बढाएकाले बम बनाउन सक्ने अनुमान छ। यसको प्रमाण इजरेल र अमेरिकाले दिएका छैनन्।
हवाई हमलाले मात्र कुनै देशमा सत्ता परिवर्तन विरलै हुन्छ। इराक (२००३) मा सद्दाम हुसेन र लिबिया (२०११) मा गद्दाफीलाई सैन्य हस्तक्षेपले हटाइयो। तर दुवैले गृहयुद्ध र हजारौँको मृत्यु निम्त्याए। लिबिया असफल राष्ट्र बन्यो, इराक रक्तपातको असर झेलिरहेछ।
यसपटक हवाई हमलाले सत्ता परिवर्तन भएमा पनि मानवअधिकारयुक्त प्रजातान्त्रिक व्यवस्था आउने सम्भावना न्यून छ। विश्वसनीय सरकारको अभाव छ। इरानी नेताहरू कसरी जोगिने र यसका प्रभाव व्यवस्थापन गर्ने भनेर हिसाबकिताब गर्दैछन्। छिमेकी राष्ट्रहरू अनिश्चितता र परिणामले चिन्तित छन्।
