तस्बिर स्रोत, Hindustan Times via Getty Images
तस्बिरको क्याप्शन, हसिना सत्तामा रहँदा भारतकी निकट सहयोगी थिइन्
बाङ्ग्लादेशको सत्ताबाट च्युत भएकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेकी छन्। अगस्ट २०२४ मा विद्यार्थी आन्दोलनले उनको १५ वर्ष लामो शासन ढालिदिएपछि उनी दिल्लीमा शरण लिइरहेकी छन्। यसअघि उनको स्वदेशफिर्तीको सम्भावनालाई अस्वीकार गर्दै आएको बाङ्ग्लादेश सरकारले यसपालि ७९ वर्षीया यी नेत्रीको घोषणालाई गम्भीरतापूर्वक लिन थालेको छ।
हसिना सन् १९७१ को मुक्तिसङ्ग्राममा पाकिस्तानमाथि बाङ्ग्लादेशले हात पारेको विजयको स्मृतिदिवसकै दिन स्वदेश फर्किने योजनामा छिन्। विद्रोह दमन गर्न उत्तरदायी रहेको र मानवताविरुद्ध अपराध गरेको ठहर गर्दै बाङ्ग्लादेशमा उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ। यद्यपि, उनको अनुपस्थितिमा मुद्दा चलाइएकाले कानुनी प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठेको छ। उनले नेतृत्व गरेको अवामी लीग पार्टीलाई बाङ्ग्लादेशमा प्रतिबन्ध लगाइएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार उक्त आन्दोलनका क्रममा सुरक्षा निकायको कारबाहीमा झन्डै १,४०० जनाको ज्यान गएको थियो। बाङ्ग्लादेश सरकारले हसिना फर्किन् भने तत्कालै पक्राउ गरिने र मृत्युदण्डको सजाय कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
तस्बिर स्रोत, AFP via Getty Images
तस्बिरको क्याप्शन, विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहका कारण सत्ताच्युत भएपछि शेख हसिना भारतमा शरण लिन पुगिन्
हसिना बाङ्ग्लादेश सरकारले आफ्ना लागि दिल्लीबाट उडानको व्यवस्था गरिदेओस् भन्ने चाहन्छिन्। त्यस्तो प्रबन्ध हुन नसके उनी नियमित उडानको विमान प्रयोग गरेर वा स्थलमार्गबाट बाङ्ग्लादेश प्रवेश गर्न सक्ने सम्भावना छ। उनका प्रमुख सहयोगी अबु ओबैधा अरिनले बीबीसीसँग भने, “उहाँ पैदलै बाङ्ग्लादेश प्रवेश गर्न पनि तयार हुनुहुन्छ।” भारत र बाङ्ग्लादेशको ४,०९६ किलोमिटर लामो सीमा छ, जहाँ हसिनाका समर्थकहरूले सीमा पार गर्न सकिने नौ स्थान पहिचान गरिसकेका छन्। ढाकाले भने हसिनालाई भारतबाट सुपुर्दगी गरिनुपर्ने अडान राख्दै आएको छ। बाङ्ग्लादेशका विदेश राज्यमन्त्री हुमायूँ कबिरले, “उनी साधारण यात्रु होइनन्। उनलाई हतकडी लगाएर मात्रै फर्काउन सकिन्छ,” भनेका छन्।
तस्बिर स्रोत, NurPhoto via Getty Images
तस्बिरको क्याप्शन, फेब्रुअरीमा प्रधानमन्त्री बनेका तारिक रहमानले अझै छिमेकी देश भारतको भ्रमण गरेका छैनन्
भारतको विदेश मन्त्रालयले हसिनालाई सुपुर्दगी गर्न गरिएको अनुरोध “स्थापित प्रक्रिया” अन्तर्गत अध्ययन भइरहेको जनाउँदै स्वैच्छिक रूपमा फर्किनु भने अलग विषय हुने बताएको छ। विश्लेषकहरू हसिनाको घोषणालाई वर्तमान सरकारको अधिकार जाँच्न, आफूलाई पुनः राजनीतिक बहसको केन्द्रमा ल्याउन र आफूलाई हटाउन एकजुट भएका दलहरूबीचका मतभेदको फाइदा उठाउने प्रयासका रूपमा हेर्छन्। यसले भारतलाई पनि प्रत्यक्ष कूटनीतिक सङ्कटतर्फ धकेलिदिने जोखिम छ।
तस्बिर स्रोत, NurPhoto via Getty Images
तस्बिरको क्याप्शन, विगत केही महिनायता बाङ्ग्लादेशमा अवामी लीगका समर्थकहरूले आकस्मिक विरोधप्रदर्शनहरू गर्दै आएका छन्
हसिनाका सहयोगीहरूका अनुसार उनले भारत निर्वासनमा हुँदा पनि टेलिग्राममार्फत् पार्टीलाई सक्रिय राख्दै आएकी छन्। विगत १८ महिनामा उनले ३०० भन्दा बढी अन्तरक्रियात्मक अडिओ संवाद बैठक गरेको र तिनमा देशभरका समर्थकहरू सहभागी भएको दाबी गरिएको छ। अरिनका अनुसार पार्टीले “सीमादेखि ढाकासम्मको मार्गमा ‘मानवसाङ्लो’ बनाएर” हसिनालाई “स्वागत गर्न ५० लाख मानिस परिचालन” गर्न सक्ने क्षमता रहेको बताए।
तस्बिर स्रोत, AFP via Getty Images
तस्बिरको क्याप्शन, नोभेम्बर १७ मा अवामी लीगका कार्यकर्ताहरूको गिरफ्तारीपछि अशान्ति फैलिँदा गोपालगन्जमा आगजनीका घटनाहरू पनि भए
यद्यपि, अवामी लीग अहिले प्रतिबन्धित छ र यसका अधिकांश नेतृत्व विदेशमा, जेलमा वा भूमिगत अवस्थामा छन्। प्रहरीले यस पार्टीका समर्थकहरूलाई पक्राउ गरेको र कार्यकर्ताविरुद्ध हजारौँ मुद्दा दर्ता भएका छन्। यसका बाबजुद सो पार्टीका समर्थकहरूले सडकमा आन्दोलन जारी राखेका छन्। विगत केही महिनादेखि आकस्मिक विरोधप्रदर्शन र तिनमा तनाव बढ्दै गएको छ। कैयौँ जिल्लामा बम आक्रमण, आगजनी र तोडफोडका घटना भएका छन्। हसिनाको पुर्ख्यौली थलो गोपालगन्ज जिल्लालाई नियन्त्रणमा राख्न सरकारी पक्षलाई विशेष कठिनाइ भएको देखिएको छ। नोभेम्बर २३ सम्म अवामी लीगका समर्थकहरूले ४० पटक विरोधप्रदर्शन र कम्तीमा १४० पटक दङ्गा गरेका छन्। यस महिना भएको राजनीतिक हिंसामा दुई सर्वसाधारणसहित कम्तीमा ११ जनाको ज्यान गएको छ।
तस्बिर स्रोत, NurPhoto via Getty Images
तस्बिरको क्याप्शन, अवामी लीगको स्थापना दिवसका अवसरमा ढाकाको शाहबाग क्षेत्रमा बाङ्ग्लादेशी सुरक्षाकर्मीहरू गस्ती र अभ्यास गर्दै
धेरै मानिस हसिना साँच्चै फर्किन्छिन् भन्नेमा विश्वस्त छैनन्, तर यो घोषणाले अवामी लीगलाई फेरि राजनीतिक चर्चाको केन्द्रमा ल्याएको छ। ‘डेली वादा’का सम्पादक शफिकुल आलमका अनुसार, अवामी लीगले “विद्रोहका क्रममा बनेको एकतामा देखा परेका विभाजनको फाइदा” उठाइरहेको छ। बीएनपी सरकार र विपक्षी जमात-ए-इस्लामी तथा न्याश्नल सिटिजन पार्टी (एनसीपी) बीचका मतभेदले अवामी लीगलाई सडकमा उत्रिने उपयुक्त अवसर मिलेको छ।
तस्बिर स्रोत, Reuters
तस्बिरको क्याप्शन, ढाका विश्वविद्यालयनजिकै शेख हसिनाको भित्तेचित्रअगाडि सडकमा सवारीसाधनहरू
भारतका लागि अवामी लीगजस्तो ठूलो राजनीतिक शक्तिलाई बाहिर राखेर बाङ्ग्लादेश अर्को अस्थिरता सिर्जना नहुने गरी चल्न सक्छ कि सक्दैन भन्ने प्रश्न महत्त्वपूर्ण छ। दिल्लीले हसिनालाई शरण दिएको छ, तर ढाका उनको सुपुर्दगी चाहन्छ र उनका सार्वजनिक अभिव्यक्तिका कारण चिढिएको छ। पदभार सम्हालेको झन्डै १० महिना बितिसक्दा पनि प्रधानमन्त्री तारिक रहमानले भारत भ्रमण गरेका छैनन्। दिल्ली विश्वविद्यालयका प्राध्यापक अविनाश पालीवालका अनुसार, हसिनाको स्वदेशफिर्तीको घोषणाले “निर्णय गर्ने दायित्व दिल्लीबाट ढाकातर्फ सारिदिएको छ।” भारतले ढाकासँग सम्बन्ध सुधार्न खोजे पनि सम्बन्ध अझै तनावपूर्ण छ। अवामी लीगलाई बाङ्ग्लादेशको राजनीतिबाट सधैँका लागि अलग्ग्याइनु भारतको हितमा पनि छैन भन्ने उनको तर्क छ।
तर ढाकामा बाङ्ग्लादेशमा भारत अवामी लीगलाई पुनःस्थापित गर्न चाहन्छ भन्ने धारणा बढ्दै गएको छ। हसिनाको सुपुर्दगीसहित भारतले समाधान नगरेका विषयहरू छन्। अहिलेसम्म केवल पर्यटन र स्वास्थ्योपचारका लागि दिइने भिसा फेरि सुरु भएका छन्, अन्य सबै कुरा अनिश्चित छन्। हसिना डिसेम्बर १६ मा फर्किन्छिन् भन्ने निश्चित नभए पनि, उनले आफ्नो फिर्तीलाई ढाका र दिल्ली दुवैले बेवास्ता गर्न नसक्ने विषय बनाइसकेकी छन्। एक्लेडकी दक्षिण एशिया विश्लेषक पर्ल पाण्ड्याले भनिन्, “हसिना फर्किने सम्भावना कम छ, किनभने उनले मृत्युदण्डको सामना गर्नुपर्ने छ। तर उनका अभिव्यक्तिले स्पष्ट रूपमा उनका समर्थकहरूलाई उत्साहित बनाएको छ।” यो गतिरोधले भारत र बाङ्ग्लादेशबीचको सम्बन्ध पनि जटिल बनाइरहेको छ।
