तस्बिर स्रोत, Sobita Gautam/Facebook
वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संयुक्त रूपमा विशेष पहल थाल्ने भएका छन्। दुई मन्त्रालयको सहकार्यमा आगामी साता एउटा कार्यदल गठन गरी ठगी नियन्त्रणका साथै नागरिकलाई सही प्रक्रियाबारे जानकारी दिने कार्य अगाडि बढाइने कानुनमन्त्री सोबिता गौतमको सचिवालयले जनाएको छ।
वैदेशिक रोजगारीका गुनासा र उजुरीहरू सरकारी निकायमा व्यापक रूपमा बढेपछि सरकारले यो कदम चालेको हो। वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी उजुरीहरूको कार्यान्वयन भइरहेको र विगतका उजुरीहरू अद्यावधिक गरी ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम गरिरहेको स्पष्ट पारेको छ।
यसअघि सरकारले वैदेशिक रोजगारीसम्बन्धी ठगीमा संलग्न भई पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई तोकिएको समयभित्र सम्पर्कमा आउन र नआए बैङ्क खाता तथा यात्रा अनुमति रोक्का गर्ने भन्दै ३५ दिने म्याद जारी गरेको थियो। उक्त म्याद आगामी मङ्सिर १३ गते अर्थात् आइतवार सकिँदै छ।
सम्बन्धित मन्त्रीहरूले के भने?
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वैदेशिक रोजगारीका नाममा हुने ठगीसम्बन्धी एउटा विशेष पहल लिएर छिट्टै आउन लागिएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी राजनीतिमा आएदेखि आफूले नागरिकहरूबाट सबैभन्दा धेरै सुनेका गुनासाहरूमध्ये एक रहेको उल्लेख गरेकी छन्। उनले श्रम मन्त्रालयले नीतिगत तथा प्रक्रियागत सुधारका कामहरू गरे पनि नागरिकलाई सही प्रणालीबारे जानकारी गराउन उत्तिकै आवश्यक रहेकोमा जोड दिइन्।
मन्त्री गौतमले वैदेशिक रोजगारीमा जान चाहने नागरिकले कुन प्रक्रिया अवलम्बन गर्ने, कसलाई विश्वास गर्ने, ठगीबाट कसरी बच्ने र समस्या परे कहाँ सम्पर्क गर्ने भन्ने जानकारी समुदाय स्तरसम्म पुग्नुपर्ने आवश्यकता औँल्याइन्। यसै उद्देश्यका साथ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयको सहकार्यमा विशेष पहल गरिने उनले स्पष्ट पारिन्। वैदेशिक रोजगारीसम्बन्धी ऐन सदनमा पठाउने तयारी भइरहेको पनि कानुन मन्त्रालयले जानकारी दिएको छ।
यसैबीच युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले पनि वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरू कानुनी प्रक्रियाबाट उम्किन नसक्ने भन्दै चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत पक्राउ पुर्जी जारी भएका सबै सम्बन्धित व्यक्तिहरूलाई तोकिएको समयभित्र वैदेशिक रोजगार विभागमा उपस्थित भई मुद्दाको कानुनी प्रक्रिया पूरा गर्न र पीडितको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरे। अन्यथा कानुनअनुसार बैङ्क खाता रोक्का, राहदानी तथा विदेश यात्रामा प्रतिबन्ध र सम्पत्ति रोक्कासम्बन्धी कानुनी कारबाही अगाडि बढाइने उनले चेतावनी दिएका छन्।
पीडितको उजुरी सम्बोधनका लागि के हुँदै छ?

तस्बिर स्रोत, Getty Images
वैदेशिक रोजगार विभागका महानिर्देशक नवराज ढकालका अनुसार ठगीसम्बन्धी विभागमा प्राप्त भएका उजुरीहरू अद्यावधिक गर्ने काम जारी छ। विभिन्न घटनाक्रममा विभागमा रहेका कतिपय रेकर्ड नपाइएको अवस्थामा अन्य निकायबाट उजुरीका प्रतिलिपि सङ्कलन गरिरहेको उनले बताए। साउन १ गतेदेखि पूर्णतः अनलाइन प्रणालीमा गएपछि हजारभन्दा बढी उजुरी दर्ता भएका छन् भने त्यसअगाडिका करिब २८-२९ हजार उजुरीहरू अद्यावधिक गरिँदै छ। विभागको मुख्य उद्देश्य पीडितलाई न्याय दिन, क्षतिपूर्ति दिलाउन वा ठगिएको रकम फिर्ता गर्न सहजीकरण गर्नु रहेको महानिर्देशक ढकालले जानकारी दिए। उनले प्रारम्भिक रूपमा नै अवधि पुगेपछि हजारौँको खाता रोक्का हुने बताए।
महानिर्देशक ढकालका अनुसार वैदेशिक रोजगारीमा हुने ठगी सामान्य प्रकृतिका मात्र नभई निकै जटिल बन्दै गएको छ। रकम लिएर विदेश नपठाउने वा एउटा काम भनेर अर्कै काममा लगाइदिनेजस्ता नियमित ठगीबाहेक प्रविधिको प्रयोग गरी प्रमाणको रूपमा प्रयोग हुनसक्ने रकम विभिन्न खाताबाट ‘लेयरिङ’ गरेर अर्को खातामा पठाउनेलगायत १०० भन्दा बढी प्रकारका ठगीका उजुरी आएका छन्।
व्यवसायी के भन्छन्?
वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले वैदेशिक रोजगारीका विषयमा संस्थागतभन्दा पनि व्यक्तिगत ठगी धेरै हुने गरेको अनुभव सुनाए। उनले वैदेशिक रोजगार ऐनले संस्थागत ठगीलाई मात्र हेर्ने हुँदा व्यक्तिगत रूपमा हुने ठगीका लागि पर्याप्त कानुन नभएको र त्यसतर्फ ध्यान दिन आवश्यक रहेको औँल्याए।
खत्रीले कुनै बिचौलियाले वैदेशिक रोजगारीमा जाने व्यक्तिसँग पैसा लिएर त्यसको उद्देश्य स्पष्ट नभएको अवस्थामा मुद्दा हेर्ने निकाय नरहेकाले नयाँ कानुन बनाउन आवश्यक रहेको बताए। उनले थप स्पष्ट पारे, “तर त्यो कानुन बन्नुभन्दा अघि वैदेशिक रोजगार ऐन २०६४ का त्रुटियुक्त दफाहरू समयसापेक्ष संशोधन गरेर संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने श्रमिकले दिने पारदर्शी र वैज्ञानिक सेवा शुल्क निर्धारण नगरी ठगी नियन्त्रण हुँदैन।”
