विश्वका धनाढ्य तथा एक्स, टेस्ला र स्पेसएक्सका प्रमुख इलोन मस्कले आगामी १० वर्षभित्र चन्द्रमामा एउटा आत्मनिर्भर सहर निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेका छन्। यसअघि मङ्गल ग्रहमा बस्ती बसाउने उनको लामो समयदेखिको लक्ष्यमा परिवर्तन गर्दै उनले हालै एक्समार्फत चन्द्रमामा ध्यान केन्द्रित गर्ने बताएका हुन्। उनको यो घोषणालाई चार करोडभन्दा बढी पटक हेरिएको छ।
मस्कका अनुसार, मङ्गल ग्रहको तुलनामा चन्द्रमामा सहर निर्माण कार्य निकै छिटो सम्पन्न गर्न सकिन्छ। उनले भनेका छन् कि चन्द्रमामा १० वर्षभन्दा कम समय लाग्नेछ, जबकि मङ्गल ग्रहमा २० वर्षभन्दा बढी समय आवश्यक पर्नेछ। यसको मुख्य कारण यात्राको समय र आवृत्ति हो: मङ्गल ग्रहमा २६ महिनामा एकपटक मात्र अनुकूल यात्राको अवसर मिल्छ र त्यहाँ पुग्नै छ महिना लाग्छ, जबकि चन्द्रमामा हरेक १० दिनमा यात्रा सम्भव छ र दुई दिनमै पुग्न सकिन्छ। स्पेसएक्सको मूल लक्ष्य “मानव जीवनलाई ताराहरूमा विस्तार गर्नु” रहे पनि चन्द्रमा छिटो माध्यम भएको उनको भनाइ छ।
तस्बिर स्रोत, Reuters
एक्समा पोस्ट गर्दै इलोन मस्कले किन स्पेसएक्सले मङ्गल ग्रहको साटो चन्द्रमामा सहर निर्माण गर्न खोजिएको भनेर वर्णन गरेका छन्।
यद्यपि, चन्द्रमामा सहर बसाउने कुनै विस्तृत औपचारिक योजना सार्वजनिक भएको छैन। मस्कले आफ्नो सामाजिक सञ्जाल पोस्टमा स्थायी मानवबस्ती स्थापना गरी चन्द्रमामा उपलब्ध स्रोतहरूको प्रयोग गरेर त्यसलाई विस्तार गर्ने परिकल्पना गरेका छन्। वाल स्ट्रीट जर्नलका अनुसार, स्पेसएक्सले मानवविहीन चन्द्र अभियान सन् २०२७ को मार्चका लागि तय गरेको जानकारी शेयरधनीहरूलाई दिएको छ। मस्कको विगतमा महत्त्वाकाङ्क्षी लक्ष्य तोक्ने तर कार्यान्वयनमा ढिलाइ हुने इतिहासले यो घोषणामाथि आशङ्का उत्पन्न गरेको छ।

तस्बिर स्रोत, NASA
सन् १९६० को दशक अनि १९७० को सुरुवाती वर्षहरूमा गरिएका अपोलो अन्तरिक्ष अभियानहरूले हामीलाई चन्द्रमा र उसको उत्पत्तिबारे बुझ्न धेरै मद्दत गरेका थिए।
यस योजनाको सम्भाव्यताका बारेमा विज्ञहरूका मिश्रित धारणाहरू छन्। यूकेको यूनिभर्सिटी अफ सरीका डा. सुङ्ग्वू लिमले चन्द्रमामा अखडा बसाउने योजना ‘महत्त्वाकाङ्क्षी’ भए पनि असम्भव नभएको बताएका छन्। उनले चन्द्रमाको माटो प्रयोग गरेर अक्सिजन, पानी र निर्माण सामग्री बनाउने आधारभूत लक्ष्य पृथ्वीमा उपयोग हुँदै आएका औद्योगिक प्रक्रियामा आधारित भएकोले सैद्धान्तिक रूपमा सम्भव रहेको उल्लेख गरे। तर, तापक्रम उतारचढाव, धूलो, न्यून गुरुत्वाकर्षण र सीमित ऊर्जा भएको चन्द्रमाको कठोर वातावरणमा ती प्रणालीले भरपर्दो काम गर्लान् कि नगर्लान् भन्ने मुख्य चुनौती हो। भारतको जीडी गोएन्का यूनिभर्सिटीका डा. उगुर गुभेनले चन्द्रमामा द्रुत आपूर्ति र आपत्कालीन प्रतिक्रिया दिन सकिने जस्ता उल्लेख्य फाइदाहरू रहेको बताए।

तस्बिर स्रोत, NASA
चन्द्रमाको सतहमा देखा पर्ने साना खाडलहरू गुफाका मुख भएको वैज्ञानिकहरूको अनुमान थियो।
‘वास्तवमै आत्मनिर्भर चन्द्र सहर’ निर्माण अझै सुदूर लक्ष्य रहेको डा. लिमको धारणा छ, जसका लागि दशकौँ लाग्न सक्नेछ। प्राध्यापक क्लाइभ नीलले चन्द्रमामा स्रोत निकाल्न आर्थिक रूपमा सम्भव छ कि छैन भन्ने विस्तृत अध्ययन बिना आत्मनिर्भर सहरको कुरा गर्नु हतार हुने बताए। तथापि, आगामी १० वर्षभित्र चन्द्रमामा सानो पोस्ट स्थापना गरेर त्यसले आवश्यक अक्सिजन र पानी निकाल्न सक्ने सम्भावनालाई डा. लिमले ‘यथार्थपरक’ मानेका छन्। पूर्व अन्तरिक्षयात्री जेफ्री हफ्म्यानले चन्द्रमामा बस्ती बसाउने अनुभवले मङ्गल ग्रहमा अखडा जमाउन मद्दत पुग्ने बताएका छन्।

तस्बिर स्रोत, Reuters
यो दशक चन्द्रमामा मानवलाई पठाउने दौडमा अमेरिका र चीनबीच प्रतिस्पर्धा छ।
अन्तरिक्ष अन्वेषणमा बढ्दो प्रतिस्पर्धाका बीच अमेरिका र चीन दुवै यसै दशकभित्र चन्द्रमामा मानव पठाउने दौडमा छन्। सन् १९७२ पछि कुनै पनि मानव चन्द्रमाको सतहमा पुगेको छैन। यसैबीच, मस्कले स्पेसएक्सले उनको आर्टिफिशल इन्टेलिजेन्स स्टार्टअप कम्पनी एक्सएआईलाई किनेको घोषणा गरेका छन्। यो कदमले भविष्यमा अन्तरिक्षमा एआई कम्प्युटिङका लागि डेटा सेन्टरहरू स्थापना गर्ने उनको चाहनालाई बल पुग्छ। स्पेसएक्सले यस वर्ष नासाबाट कुल आम्दानीको केवल ५% मात्र प्राप्त गरेको मस्कले बताएका छन्, यद्यपि स्पेसएक्स नासाको आर्टमिस चन्द्र अभियानको प्रमुख ठेकेदार पनि हो।
