तस्बिर स्रोत, Reuters
बालेन्द्र शाह ‘बालेन’ ले झापा क्षेत्र नम्बर ५ बाट भारी मतान्तरले विजय हासिल गरेपछि दमकस्थित निर्वाचन कार्यालय बाहिर उनका समर्थकहरूको अभूतपूर्व भीड जम्मा भएको थियो। उनले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ५० हजार मतको अन्तरले पराजित गरेका हुन्।
कडा सुरक्षा घेराबीच साँझ निर्वाचन कार्यालय पुगेका बालेनलाई उनका उत्साहित युवा समर्थकहरूले “अबकी बार, बालेन सरकार” जस्ता नारा लगाउँदै र घण्टी बजाउँदै स्वागत गरेका थिए। स्वदेशी तथा विदेशी सञ्चारकर्मीहरूको बाक्लो उपस्थितिबीच उनी मतगणना कक्षमा प्रवेश गरेका थिए।
गत फागुन २१ गतेको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ देशभरमै सबैभन्दा बढी चर्चामा रहेको थियो। चार पटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली र काठमाण्डूका निवर्तमान मेयर बालेन्द्र शाहबीचको यो चुनावी प्रतिस्पर्धा उम्मेदवारी दर्तादेखि अन्तिम मतपरिणाम घोषणासम्म सधैँ चासोको विषय बन्यो।

तस्बिर स्रोत, BBC/Bikram Niraula
करिब आधा घण्टा निर्वाचन कार्यालयमा बसेपछि बालेन्द्र शाह विजयी भएको औपचारिक घोषणा भयो। लगत्तै, मतगणना कक्ष बाहिरको प्राङ्गणमा आयोजित संक्षिप्त कार्यक्रममा निर्वाचन कार्यालयले उनलाई विजय प्रमाणपत्र हस्तान्तरण गर्यो। यस अवसरमा शाहले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएनन्। सञ्चारकर्मीको आग्रहमा उनी तस्बिरका लागि केही बेर उभिएका मात्र थिए।
प्रमाणपत्र ग्रहण गरेपछि उनी पुनः सोही सुरक्षा घेरामा बाहिरिए, जहाँ उनका समर्थकहरूले उनलाई घेरेका थिए।
अन्तिम मतपरिणामअनुसार, बालेन्द्र शाहले ६८,३४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ओली १८,७३४ मतमा सीमित भएका छन्। यसरी उनीहरूबीचको मतान्तर ४९,६१४ रहेको छ। दुवै उम्मेदवारलाई आआफ्ना दलले प्रधानमन्त्रीको रूपमा अगाडि सार्दै चुनावी अभियान चलाएका थिए।

तस्बिर स्रोत, BBC/Bikram Niraula
बालेनको विजयपछि उनका समर्थकहरूले अब पुरानो राजनीतिक शैलीमा परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्। झापाको दमकका सरगम पौडेलले शाहले युवावर्गका लागि मात्र नभई सबै उमेर समूहका नागरिकका लागि काम गर्नुपर्नेमा जोड दिए।
अर्की स्थानीय सरस्वती दाहालले युवा पलायन रोक्न र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने सुझाव दिइन्। उनले अब भाषणभन्दा कामको आवश्यकता रहेको र युवाहरूलाई देशको बागडोर सम्हाल्न दिनुपर्ने धारणा व्यक्त गरिन्। उनले बालेन्द्र शाहले जनभावना अनुरूप काम गर्नेमा आफू विश्वस्त रहेको बताइन्।
यद्यपि, केही वर्गले बालेनको विगतका कार्यशैलीको स्मरण गर्दै भूमिहीन सुकुम्बासीहरूका पक्षमा उनले कसरी काम गर्छन् भन्नेमा शङ्का व्यक्त गरेका छन्। नेकपा (एमाले) को परम्परागत गढ मानिने झापा क्षेत्र नम्बर ५ मा बालेनको यो विजयले राजनीतिक वृत्तमा ठूलो तरङ्ग ल्याएको छ। यसपटक मतदाताले आफ्नो मत परिवर्तन गरी बालेनलाई जिताएको कुरा स्थानीयहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
