तस्बिर स्रोत: PMO
गत भदौमा भएको ‘जेन जी’ आन्दोलनका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतवार प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो प्रतिवेदन बुझाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रममा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री कार्कीसमक्ष ९०० पृष्ठभन्दा बढीको विस्तृत प्रतिवेदन पेश गरेका हुन्।
प्रतिवेदन बुझाएपछि पत्रकारहरूसँग कुरा गर्दै आयोगका प्रवक्ता विज्ञानराज शर्माले “जसले गल्ती गरेको छ, त्यसलाई कारबाहीको सिफारिस गरेको” जानकारी दिए। उनले प्रारम्भिक चरणमै “केही सुरक्षा कमजोरी” भएको कुरा प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख गरिएको पनि बताए। यस प्रतिवेदनले दोषीमाथि आवश्यक कानूनी कारबाही अगाडि बढाउन महत्वपूर्ण आधार तयार गरेको विश्वास व्यक्त गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आयोगको प्रतिवेदन ग्रहण गरेपछि यसको “निचोड आफ्नै सरकारले सार्वजनिक गर्ने” प्रतिबद्धता व्यक्त गरेको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले बीबीसीलाई जानकारी दिए। प्रतिवेदन बुझाउने क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले “आफूहरूले पूर्ण इमानदारीका साथ काम गरेको र कुनै पनि पूर्वाग्रह नराखी जे देख्यो, त्यही कुरा प्रतिवेदनमा समावेश गरेको” बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अध्यक्ष कार्कीले “भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक सुझावहरू पनि प्रतिवेदनमा समेटिएको” उल्लेख गरे।
आयोगको निचोड सार्वजनिक गर्छौँ: प्रधानमन्त्री
आइतवार मध्याह्न आफ्नै कार्यालयमा प्रतिवेदन बुझेपछि प्रधानमन्त्री कार्कीले आयोगलाई धन्यवाद दिँदै “निष्पक्ष छानबिन गरेकोमा आफू विश्वस्त रहेको” बताएको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले बीबीसीलाई जानकारी गराए। उनले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भने, “न्याय र कानुनका दिग्गज व्यक्तिहरू रहेको आयोगले निष्पक्ष र तथ्यपरक छानबिन गरी सत्यतथ्य बाहिर ल्याएकोमा म विश्वस्त छु।”
प्रधानमन्त्रीले थप भनिन्, “सुरक्षाका हिसाबले सबै विवरण सार्वजनिक गर्न नसके पनि यसको निचोड हाम्रै सरकारले पारदर्शी रूपमा सार्वजनिक गर्नेछ।” उनले आयोगको भूमिकाका कारण “देशले महत्त्वपूर्ण दस्ताबेज प्राप्त गरेको” बताउँदै “सीमित स्रोतसाधनका बाबजुद” आयोगले गरेको कार्यको उच्च प्रशंसा पनि गरिन्। प्रतिवेदन बुझेलगत्तै प्रधानमन्त्री कार्कीले यसलाई अब आफू र गृहमन्त्रीले गहन अध्ययन गरी मन्त्रिपरिषद्मा पेश गर्ने जानकारी गराएकी छन्।
तस्बिर स्रोत: PMO
तीन पटक म्याद थपेर प्रतिवेदन पेश
तस्बिर स्रोत: RSS
आयोगका सदस्य विज्ञानराज शर्माले उक्त प्रतिवेदन “जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले यसलाई अनुसन्धानको आधारका रूपमा प्रयोग गर्नुपर्ने” बताएका छन्। उनले यस प्रतिवेदनले आगामी अनुसन्धानका लागि ठोस आधार तयार गरिदिएको स्पष्ट पारे। गत भदौ २३ र २४ गतेका घटनामा भएको मानवीय र भौतिक क्षतिको छानबिनका लागि मन्त्रिपरिषद्ले सुरुमा तीन महिनाको समय दिएको थियो। पछि, कार्य सम्पन्न गर्न थप समय आवश्यक परेपछि आयोगको म्याद पहिलो पटक एक महिना, दोस्रो पटक २० दिन र तेस्रो पटक २५ दिन गरी तीन पटक थप गरिएको थियो।
अन्तिमपटक थपिएको म्याद सकिनुभन्दा एक दिनअघि आयोगले प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको हो। अन्तरिम सरकार गठन भएसँगै असोज ५ गते ‘जेन जी’ आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तीनसदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित यस उच्चस्तरीय आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्यका रूपमा रहेका छन्।
भदौ २३ र २४ का घटनाहरूको छानबीन
तस्बिर स्रोत: Skanda Gautam/SOPA Images/LightRocket via Getty Images
गत भदौ अन्तिम साताका ती दुई दिनका घटनाहरूमा नेपाल प्रहरीको विवरणअनुसार ७६ जनाको ज्यान गएको थियो भने सयौँको सङ्ख्यामा मानिसहरू घाइते भएका थिए। एक सरकारी प्रतिवेदनले ८४ अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको भौतिक क्षति पुगेको अनुमान गरेको थियो।
आन्दोलनको अघिल्लो दिन सुरक्षाकर्मीहरूको कारबाहीमा युवा प्रदर्शनकारीहरूको मृत्यु भएपछि भदौ २४ गते आन्दोलनले अझ उग्र रूप लिएको थियो। त्यस क्रममा कैयौँ सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठानहरू तथा निजी घर र सम्पत्तिमा आक्रमण, लुटपाट र आगजनीका गम्भीर घटनाहरू भएका थिए। यस प्रतिवेदनले भविष्यमा यस्ता आन्दोलनहरूलाई कसरी व्यवस्थित गर्ने र दमनका घटनाहरूलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे महत्वपूर्ण पाठ प्रदान गर्ने अपेक्षा गरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि उपलब्ध छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
