कमल शर्मा
दैलेख, चैत ४ गते ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. २ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल सदस्य पदमा निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशको राजनीतिक वृत्तमा यो विजयलाई अर्थपूर्ण रूपमा हेरिएको छ, किनकि प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले) बाट संसद्मा प्रतिनिधित्व गर्ने उहाँ एक्लो उम्मेदवार हुनुहुन्छ । पोखरेलले यस निर्वाचनमा नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी दिक्पालकुमार शाहीलाई पराजित गर्दै संसद् यात्रालाई दोस्रो पटक सुनिश्चित गर्नुभएको हो । यसअघि, उहाँ २०७० सालको संविधान सभा सदस्य पदमा पनि निर्वाचित भई सङ्घीय संसद्को अनुभव बटुलिसक्नुभएको छ, यद्यपि २०७९ को निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो ।
निर्वाचनपश्चात् सांसद पोखरेलले जिल्लाका समग्र समस्याहरूलाई सङ्घीय सदनमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचित भएपछि निर्वाचन क्षेत्रका मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्न र आगामी कार्यकालका लागि सुझाव सङ्कलनका लागि विभिन्न स्थानीय पालिकामा पुग्नुभएका उहाँले यहाँका जनताका गुनासा, समस्या र विकासनिर्माणका सवालमा संसद्मा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउने बताउनुभयो ।
सांसद पोखरेलले दैलेखको दिगो विकासका लागि केही विशिष्ट योजनाहरू अघि सार्नुभएको छ । उहाँले दैलेख निर्वाचन क्षेत्र नं. २ मा पर्ने भैरवी गाउँपालिका–१, जलजलेमा रहेको पेट्रोलियम पदार्थको उत्खनन कार्यलाई अगाडि बढाउन अब बन्ने सरकारलाई निरन्तर ताकेता गर्ने बताउनुभयो । यसैगरी, माथिल्लो डुङ्गेश्वर–मालिका–बैक–दुल्लु–कुसापानी–कालीकोट हुँदै मुगुको गमगढीसम्म जोड्ने उत्तर–दक्षिण राजमार्ग निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्ने उहाँको भनाइ छ । दैलेखको आठबिस नगरपालिकाको मुकाम राकम कर्णालीबाट दैलेख सदरमुकाम जोड्ने प्रशासनिक मार्गको निर्माण, बँदेल आतङ्क नियन्त्रणका लागि आवश्यक कानुन निर्माण तथा लामो समयदेखिको गुठी समस्या समाधानका लागि उपयुक्त ऐनकानुन तर्जुमामा आफ्नो सक्रिय भूमिका रहने उहाँले उल्लेख गर्नुभयो ।
युवा पलायन रोकी स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न सकिने नीतिगत व्यवस्थाका लागि संसद्मा सशक्त आवाज उठाउने सांसद पोखरेलको जोड छ । उहाँले कर्णाली राजमार्गको स्तरोन्नति गरी दुई लेनको सडक निर्माणका लागि पहल गर्ने, जिल्लाका विभिन्न स्थानमा अव्यवस्थित बसोबास गरिरहेका बस्तीहरूलाई व्यवस्थित बनाउने र लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका पुर्जाविहीन नागरिकहरूलाई पुर्जा वितरणका लागि आवाज उठाउने जस्ता सामाजिक र जनजीविकाका महत्त्वपूर्ण विषयहरूलाई पनि आफ्नो प्राथमिकतामा राख्नुभएको छ ।
जिल्लाको सर्वाङ्गीण विकासका लागि यहाँका क्रियाशील राजनीतिक दल, सरोकारवाला निकाय तथा समुदायसँग समन्वय र सहकार्य गर्दै प्राथमिकता निर्धारण गरी काम गर्ने स्पष्ट पार्नुभएका सांसद पोखरेलले सडक, खानेपानी, बिजुली, सञ्चार, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारलाई उच्च प्राथमिकतामा राखी अगाडि बढ्ने बताउनुभयो । निर्वाचनको प्रतिस्पर्धामा रहेका अन्य राजनीतिक दल र उम्मेदवारहरूसँग पनि सहकार्य गरी जिल्लाको विकासका लागि सामूहिक प्रयास गर्ने उहाँको भनाइ छ ।
विगतमा प्रारम्भ गरिएका महत्त्वपूर्ण योजनाहरू जस्तै दैलेखको राकम कर्णालीमा निर्माणाधीन अस्पताल, दुल्लु स्मार्ट सिटी र पेट्रोलियम पदार्थ अन्वेषण लगायतका कार्यहरूलाई अब बन्ने सरकारले प्राथमिकतासाथ अगाडि बढाउन आफूले पहल गर्ने पोखरेलले बताउनुभयो । उहाँले जनताका सरोकार र आवाजलाई प्रभावकारी रूपमा सरकारसम्म पुर्याउने वातावरण सिर्जना गर्ने विश्वास दिलाउनुभएको छ । यसका अतिरिक्त, सांसद पोखरेलले जिल्लाका विभिन्न स्थानीय तहमा निर्माणाधीन अस्पताल तथा स्वास्थ्य चौकी, सडक र पुल निर्माणका कार्यहरूलाई तीव्रता दिन तीनै तहका सरकारबीच समन्वय र सहकार्यका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
नेकपा (एमाले) का तर्फबाट कर्णाली प्रदेशबाट आफू एक्लो प्रतिनिधि सभा सदस्यका रूपमा निर्वाचित भएकाले उहाँले प्रदेशका दशवटै जिल्लाका समस्याहरूलाई सङ्घीय संसद्मा पुर्याउने र तिनको समाधानका लागि सशक्त भूमिका खेल्ने अठोट पनि गर्नुभएको छ । यसले उहाँको दायित्व र कार्यक्षेत्रलाई थप फराकिलो बनाएको देखिन्छ ।
