२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को बहुप्रतिक्षित काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार सस्मित पोखरेलले प्रभावशाली जित हासिल गरेका छन् । उनले शीर्ष राजनीतिक दलका ‘हेभिवेट’ उम्मेदवारहरूलाई भारी मतान्तरले पराजित गर्दै संसद यात्रा तय गरेका हुन् ।
यो क्षेत्रलाई ‘हट सिट’ का रूपमा हेरिएको थियो किनभने यहाँ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा एमालेका नेता ईश्वर पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कमल थापा जस्ता स्थापित नेताहरू प्रतिस्पर्धामा थिए । पोखरेलले ३० हजार ७३७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत ल्याएका थिए भने एमालेका ईश्वर पोखरेलले ४ हजार ७०१ मत प्राप्त गरेका छन् ।
२९ वर्षीय सस्मित पोखरेल काठमाडौं-५ का स्थायी बासिन्दा हुन् र कानूनमा स्नातक गरेका छन् । वैकल्पिक राजनीतिक अभियन्ताका रूपमा परिचित उनी हाल रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्तासमेत छन् । उनको प्रारम्भिक शिक्षा अमेरिकामा भएको थियो र नेपाल फर्किएपछि उनले काठमाडौं विश्वविद्यालय स्कुल अफ ल बाट बीएएलएलबी अध्ययन पूरा गरे । २०७२ सालको विनाशकारी भूकम्पपछि अमेरिकामा रहँदै उनले नेपालका लागि ‘अर्थक्वेक फन्ड’ संकलन तथा व्यवस्थापन टोलीमा सक्रिय भूमिका पनि निर्वाह गरेका थिए । उनको राजनीतिक यात्रा विवेकशील अभियानबाट सुरु भएको हो, जहाँ उनी विवेकशील साझा युवा संगठनका नेता र पार्टीको केन्द्रीय सदस्य बने ।
२०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन काठमाडौं महानगरपालिकामा मेयर बालेन साहलाई विजयी गराउन सडक, सामाजिक सञ्जाल र संगठनात्मक मोर्चामा अग्रपंक्तिमा खटिएका उनी यसपटक आफैं विजयी भएका छन् । प्रदेशसभा निर्वाचनमा पराजय भोगेपछि पनि उनी मेयर बालेनको टिममा रहेर काठमाडौं महानगरपालिकामा सक्रिय थिए । महानगरपालिकामा रहँदा पोखरेलले शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञ तथा सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गरे ।
शिक्षा सल्लाहकारका हैसियतमा नीति निर्माणदेखि कार्यान्वयनसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै महानगरको वार्षिक नीति, योजना, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समन्वय र नेतृत्वदायी भूमिका खेले । पुराना कानुन परिमार्जन तथा नयाँ कानुनी संरचना तर्जुमा गर्न पनि उनी सक्रिय रहे । सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका करिब २० हजार विद्यार्थीलाई कानुनसम्मत छात्रवृत्ति वितरण गर्न उनले नेतृत्वदायी भूमिका खेले, जसका लागि महानगरपालिकाले वार्षिक करिब साढे ३ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको थियो । सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान, विद्यालय गुरुयोजना निर्माण, ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सुरुवात, भौतिक सौन्दर्यीकरण, आईसीटीमैत्री विकास, ईसीडी कक्षाकोठा सुधार, दिवा खाजा कार्यक्रम तथा शिक्षक तालिमजस्ता पहलहरूमा उनको प्रत्यक्ष भूमिका रह्यो । हाँडीगाउँलाई ‘नो भेहिकल जोन’ बनाउने पहलमा पनि उनको योगदान प्रशंसनीय छ ।

तीन वर्षदेखिको काठमाडौं महानगरपालिकाको शैक्षिक उन्नयन, विकास तथा सकारात्मक परिवर्तनमा सक्रिय रहेका पोखरेलले यही स्थानीय अनुभवलाई राष्ट्रिय तहमा विस्तार गर्ने उद्देश्य सहित संसद् प्रवेशका लागि प्रतिस्पर्धामा होमिएका थिए । आफूलाई कानुन बुझेको, नीति निर्माणको व्यावहारिक अनुभव भएको तथा परिणाम दिन सक्ने युवा नेताका रूपमा प्रस्तुत गर्दै उनले शिक्षा सुधार, सुशासन तथा पारदर्शिता, युवा रोजगारी र डिजिटल अर्थतन्त्र, खेलकुद सशक्तीकरण, सेवा प्रवाह तथा सहरी व्यवस्थापनलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका थिए ।
निर्वाचन परिणामपछि अनलाइनखबरसँग कुरा गर्दै पोखरेलले शिक्षा सुधारमा काम गर्ने र युवा, रोजगारी र डिजिटल अर्थतन्त्र केन्द्रित काम गर्ने बताए । उनले स्टार्टअपमैत्री नीति र प्रविधिमैत्री रोजगारी प्रवर्द्धनमा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । “सेवा प्रवाह र सहरी व्यवस्थापनमा ध्यान दिने वाचा गरेकाले मैले टोखा, हाँडीगाउँ लगायत क्षेत्रमा सम्पदा र सांस्कृतिक पहिचानमा विशेष भूमिका खेल्छु,” उनले भने, “अब कसरी हुन्छ, नागरिकको हितका निम्ति काम गर्नु नै मेरो दायित्व हो, म गर्छु ।” उनले स्थानीय समस्यालाई संसदमा प्रस्तुत गर्दै राष्ट्रिय स्तरमा समाधानका लागि पहल गर्ने आफ्नो प्रमुख दायित्व रहेको समेत उल्लेख गरे ।

