धीरेन्द्रप्रसाद साह
राजविराज, चैत २ गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशासनबीच गम्भीर विवाद उत्पन्न भएको छ, जसले शैक्षिक वातावरणमा अशान्ति ल्याएको छ। यस विवादका कारण आक्रोशित विद्यार्थीहरूले विद्यालयको कार्यालय कक्षमा तालाबन्दी गर्नुका साथै विभिन्न सरोकारवाला निकायमा न्यायका लागि ज्ञापनपत्र बुझाएका छन्।
विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ अध्ययनरत तेस्रो सेमेस्टरका विद्यार्थी अशुकुमार मण्डलसहित केही विद्यार्थीले आफूहरूलाई जानाजानी परीक्षा दिनबाट वञ्चित गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार, शैक्षिक सत्र २०८१-०८२ मा पहिलो सेमेस्टरमा केही दिन मात्रै कक्षा सञ्चालन भएको थियो। त्यसपछि दोस्रो तथा तेस्रो सेमेस्टरमा भने एक दिन पनि कक्षा सञ्चालन नभएको उनीहरूको गम्भीर आरोप छ। यसरी नियमित कक्षा सञ्चालन नहुँदा पनि परीक्षा फारम भर्न बाध्य पारिएको र यसले उनीहरूको शैक्षिक भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको विद्यार्थीहरूको भनाइ छ।
विद्यार्थीहरूले परीक्षा फारम भर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले तोकेको शुल्क प्रति विद्यार्थी पाँच सय रुपियाँ भए पनि विद्यालय प्रशासनले २५ सय रुपियाँ मागेको आरोप लगाएका छन्। उनीहरूले महँगो शुल्क तिरेपछि पनि त्यसको रसिद नदिएको र तोकिएको शुल्क तिर्दा समेत विद्यालयले परीक्षा फारम नभरिदिएको गुनासो गरेका छन्। विद्यार्थी मण्डलले भन्नुभयो, “गत फागुन २९ गतेदेखि परीक्षा सुरु भएको थियो। हामीले प्रवेशपत्र माग्दा विद्यालयका कोअर्डिनेटर इन्जिनियर दिनेश साहले प्रवेशपत्र दिन अस्वीकार गर्नुभयो, जसका कारण हामीमध्ये तीन चार जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भयौँ ।”
प्रवेशपत्र नपाएपछि सोही दिन विद्यार्थीहरूले विद्यालयको कार्यालय कक्षमा तालाबन्दी गरेको विद्यार्थी अंशुले जानकारी दिनुभयो। तालाबन्दीपछि केही विद्यार्थीलाई सो दिनको परीक्षामा सहभागी गराइएको भए पनि आफूलाई अझै प्रवेशपत्र नदिई परीक्षामा बस्न नदिएको उहाँको आरोप छ। विद्यार्थीहरूले विद्यालय प्रशासनले उनीहरूको भविष्यसँग खेलवाड गरेको भन्दै सम्बन्धित व्यक्तिमाथि कडा कारबाही गरी न्याय दिलाउन माग गरेका छन्। उहाँहरूले यस विषयमा ध्यानाकर्षण गराउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मधेश प्रदेश सरकारको शिक्षा मन्त्रालय, सिटिइभिटी जनकपुर, जिल्ला प्रशासन कार्यालय सप्तरी, शिक्षा समन्वय एकाइ सप्तरी र इलाका प्रहरी चौकी सखडालाई समेत बोधार्थसहित निवेदन दिएका छन्।
यता, यस विषयमा विद्यालयका प्रधानाध्यापक लालबहादुर मण्डलले विद्यार्थीको आरोप असत्य भएको दाबी गर्नुभएको छ। उहाँका अनुसार, विद्यार्थी अंशुकुमार मण्डल नियमित विद्यालय नआउने विद्यार्थी हुन्। उहाँलाई पटकपटक परीक्षा फारम भर्न आग्रह गर्दा पनि फारम नभरेका कारण उहाँ परीक्षा दिनबाट वञ्चित भएका हुन्। प्रधानाध्यापक मण्डलले स्पष्ट पार्दै भन्नुभयो, “विद्यालयले सिटिइभिटीले तोकेको राजस्व दस्तुरभन्दा एक रुपियाँ पनि बढी शुल्क मागेको छैन। परीक्षा फारम भर्ने समयमा अंशु भारतमा हुनुहुन्थ्यो। विभिन्न माध्यमबाट सम्पर्क गरी फारम भर्न आग्रह गर्दा पनि आउनुभएन।”
प्रधानाध्यापक मण्डलले केही स्थानीय व्यक्तिहरूले विद्यालय, संयोजक तथा आफूलाई बदनाम गराउने उद्देश्यले षड्यन्त्र गरी तालाबन्दी गराएको आरोप समेत लगाउनुभयो। उहाँका अनुसार, परीक्षा सुरु भइसकेपछि विद्यार्थी एकै पटक विद्यालयमा आएर असहज वातावरण सिर्जना गरेको हो। सो विषयमा कोअर्डिनेटर इन्जिनियर दिनेश साहसँग थप बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। स्थानीय बासिन्दाहरूले यस गम्भीर विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।
