तस्बिर स्रोत, EPA/Shutterstock
संसदीय चुनावको मतगणना प्रारम्भिक चरणमा प्रवेश गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित रूपमा अग्रता हासिल गरेको छ। चुनाव सम्पन्न भएसँगै शुक्रबार बिहानैदेखि प्राप्त मत परिणामको प्रारम्भिक झलक दिउँसोसम्म कायम रहँदा रास्वपा र विगतका तीन ठूला दलबीचको मतान्तर निकै फराकिलो देखिएको छ। सुरुवाती जितहरू पनि रास्वपाकै पोल्टामा परेका छन्।
निर्वाचन आयोगको अपराहन्न ५ बजेसम्मको तथ्याङ्क अनुसार, १३५ सिटमध्ये रास्वपाले ९६ सिटमा अग्रता (एक सिटमा जितसहित) कायम गरेको छ। यसको तुलनामा नेपाली कांग्रेसले ११ सिट (एक जितसहित), नेकपा (एमाले) ले १० सिट र नेकपा (माओवादी केन्द्र) ले ९ सिटमा अग्रता लिएका छन्। अन्य दलहरू जस्तै श्रम संस्कृति पार्टीले ३, राप्रपा र प्रगतिशील लोकतान्त्रिक पार्टीले एक/एक तथा एक स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। प्रत्यक्षतर्फका १६५ सिटमध्ये धेरै हिमाली र पहाडी क्षेत्रमा मतगणना सुरु हुन बाँकी छ।
राजनीतिशास्त्री कृष्ण खनाल रास्वपाको पक्षमा देखिएको यो रुझान अनपेक्षित नभए पनि यसको आकार ठूलो रहेको बताउँछन्। उनी भन्छन्, “यतिखेर रास्वपाको पक्षमा एउटा प्रचण्ड प्रभाव देखिएको छ, जसले कतिपय नाम चलेका नेताहरूलाई समेत बढाएर लैजान सक्छ।” रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी भने यसलाई अपेक्षित नतिजा मान्छन् र भन्छन्, “स्पष्ट नतिजा नआउँदासम्म हामी हौसिनु हुँदैन, सम्हालिएर अगाडि बढ्नुपर्छ। पछिल्ला राजनीतिक घटनाक्रम र चरम अस्तव्यस्तताले हामीलाई स्थायित्वका लागि यस्तो जनमत दिएको छ।”

तस्बिर स्रोत, Reuters
नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले यस चुनावी रुझानलाई “वास्तविकता” भनी स्वीकार गर्दै आफूहरू जिम्मेवार प्रतिपक्षका रूपमा रहने बताएका छन्। राजनीतिशास्त्री खनालका अनुसार, यो रुझानले नेपालको राजनीतिक प्रणालीमा एउटै दलले स्पष्ट बहुमत ल्याउन कठिन हुने बुझाइलाई चुनौती दिएको छ। उनी भन्छन्, “यसले जनताले चाहेमा त्यो सम्भव हुन सक्ने देखाएको छ।” खनालले बहुमत प्राप्त गर्ने दललाई आफ्ना कार्यक्रम लागू गर्ने र चुनावी बाचाहरू पूरा गर्ने स्पष्ट दायित्व र अवसर दुवै प्राप्त हुने बताए।

तस्बिर स्रोत, EPA/Shutterstock
यसपटकको प्रारम्भिक चुनावी रुझानले संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच स्थिरताको अपेक्षा गर्न सकिने खनालको भनाइ छ। “हिजोका दिनमा जस्तो तत्कालै प्रधानमन्त्री अदलबदल गर्ने परिस्थिति यसले रोक्छ र शासकीय स्थिरतालाई मद्दत गर्छ,” उनले भने। यसबाट संसद्को कामकारबाही पनि गुणस्तरीय हुने अपेक्षा गर्न सकिन्छ।

तस्बिर स्रोत, Reuters
पुराना दलहरू ‘अस्वीकृत’ भएका हुन् भन्ने प्रश्नमा खनाल यसलाई त्यति धेरै अस्वाभाविक मान्दैनन्। उनले २०४८ र २०५६ सालका चुनावमा पनि एउटै दलले बहुमत ल्याएको स्मरण गराए। समानुपातिक व्यवस्था र धेरै दलबीचको मतविभाजनले यसलाई अहिले ठूलो कुरा मानेको मात्रै हो भन्दै उनले रास्वपाको पक्षमा देखिएको रुझानले “एउटा पार्टीले क्लिन स्वीप गर्ने अवस्था बन्यो” भने। तर, यसलाई पुराना दलको ‘अस्वीकार्यता’ भन्न नमिल्ने उनको तर्क छ। “पुरानालाई हेरिसकेकाले ती दललाई फेरि परीक्षण गरिराख्न आवश्यक ठानेनन्। रास्वपालाई बढि रुचाउनुमा उनीहरूले नयाँ विकल्पलाई रोजे भन्न सकिन्छ,” खनालले स्पष्ट पारे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
