तस्बिर स्रोत, Getty Images
नेपालको स्थिरता र समृद्धिमा आफ्नो हित देख्ने चीनले जेन जी आन्दोलनदेखि आसन्न चुनावसम्मको परिस्थितिलाई “अनिश्चित राजनीतिक परिदृश्य” को रूपमा विश्लेषण गरिरहेको चिनियाँ नेपाल मामिलाका जानकारहरूले बताएका छन्। गत भदौमा भएको आन्दोलनबारे बेइजिङ खुलेर नबोले पनि, चीनका प्राज्ञहरूले नेपालको चुनाव र यसमा चीनको सम्भावित दृष्टिकोणबारे बीबीसीसँग कुराकानी गरेका छन्। चीनले नेपाली जनताले रोजेको विकास मार्गको सम्मान गर्ने र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रही द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
बेइजिङस्थित सरकारी थिङ्क ट्याङ्क चाइना इन्स्टिट्यूट अफ कन्टेम्पोररी इन्टरन्याश्नल रिलेसन्स (सीआईसीआईआर) का दक्षिण एसिया मामिला विज्ञ प्राध्यापक हु शिशेङले नेपालका मुख्य दलहरूको चुनावी प्रभावबारे समीक्षा भइरहेको बताए। सीआईसीआईआरको मूल्याङ्कनअनुसार, परम्परागत दल, उदीयमान शक्ति, क्षेत्रीय दल, राजतन्त्रवादी र खण्डित वामपन्थी गरी पाँच-पक्षीय प्रतिस्पर्धाले मतहरू व्यापक रूपमा छरिने सम्भावना छ। यसले चुनावी मुद्दाहरूलाई सुशासन, भ्रष्टाचारविरोधी अभियान, संवैधानिक सुधार र रोजगारीजस्ता जेन जी पुस्ताले उठाएका विषयमा केन्द्रित गराएको प्राध्यापक शिशेङले उल्लेख गरे।
तस्बिर स्रोत, PM Secretariat
तस्बिरको क्याप्शन, चुनावको एक साताअघि नवनियुक्त चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्
प्राध्यापक शिशेङका अनुसार, राजनीतिक अस्थिरताले चीन-नेपाल सहकार्यमा बाधा पुर्याएकाले चीनले चुनावपछि स्थिर सत्तारुढ गठबन्धनलाई प्राथमिकता दिनेछ। बेइजिङले नयाँ दलहरूको बीआरआई, सीमा व्यापार र चीन-भारत-अमेरिका परिदृश्यप्रतिको अडानलाई नजिकबाट नियालिरहेको छ। सिचुवान विश्वविद्यालयका नेपालविज्ञ प्राध्यापक गाओ ल्याङले जेन जी आन्दोलन र चुनावलाई ‘शक्ति संरचनामा आएको ठूलो परिवर्तनको वास्तविकता’ का रूपमा हेरेका छन्, जसले नेपालको शक्ति समीकरण अब सम्भावित मात्र नभई एउटा यथार्थ भएको जनाउँछ। उनले नेपालमा राजनीतिक स्थिरता आएमा द्विपक्षीय सम्बन्धको वृद्धिमा लाभ पुग्ने आशा व्यक्त गर्दै, चीनले तिब्बततर्फ विस्तार गरिरहेको रेल सञ्जालको उदाहरण दिँदै नेपालले ट्रान्जिट अर्थतन्त्रका रूपमा लाभ लिन सक्ने बताए, तर यसका लागि आन्तरिक स्थिरता अत्यावश्यक रहेकोमा जोड दिए।
तस्बिर स्रोत, Courtesy of Hu Shisheng
तस्बिरको क्याप्शन, प्राध्यापक हु शिशेङ बेइजिङस्थित एक सरकारी थिङ्क-ट्याङ्क सीआईसीआईआरका दक्षिण एसिया विज्ञ हुन्
हबे युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजनेसमा नेपाल अध्ययन केन्द्रका निर्देशक प्राध्यापक झाङ सुबिनले चीनको नेपालको आन्तरिक मामिलाप्रति सदा सम्मान रहने बताए। उनले जेन जी आन्दोलनले सुशासन र विकासका लागि घरेलु आकाङ्क्षालाई प्रतिविम्बित गरेको उल्लेख गरे। नेपालमा चीनका मुख्य चासोहरू राजनीतिक स्थिरता, द्विपक्षीय सहयोग परियोजनाहरूको स्थिर कार्यान्वयन, सीमा सुरक्षा र एक-चीन नीतिप्रतिको प्रतिबद्धताको निरन्तरतामा केन्द्रित छन्। बेइजिङले नयाँ सरकारले विद्यमान सम्झौताहरूको सम्मान गर्ने, एक-चीन नीति कायम राख्ने, घरेलु स्थिरता कायम राख्ने र स्वतन्त्र एवं सन्तुलित विदेश नीतिको पालना गर्दै व्यावहारिक साझेदारी अँगाल्ने अपेक्षा राखेको छ।
तस्बिर स्रोत, Getty Images/BBC
तस्बिरको क्याप्शन, प्राध्यापक झाङ सुबिन हबे युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजनेसमा नेपाल अध्ययन केन्द्रका निर्देशक हुन्
तस्बिरको क्याप्शन, गाओ ल्याङ चीनको सिचुवान विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका उपनिर्देशक हुन्
चिनियाँ विज्ञहरूले चुनावले जेन जी आन्दोलनपछिको सङ्क्रमणको अन्त्य गर्ने अपेक्षा गरे पनि, नयाँ सरकार गठन र नीति निर्माणमा लाग्ने समयले चीनसँग सम्बद्ध मुख्य आयोजनाहरूको प्रगतिमा ढिलासुस्ती हुनसक्ने चिन्ता व्यक्त गरेका छन्। प्राध्यापक हु शिशेङले “ऋणको पासो” जस्ता धारणा प्रवर्द्धन गर्ने बाह्य शक्तिविरुद्ध बेइजिङ चनाखो रहने बताए। उनले अन्तरिम सरकारले चीन, भारत र अमेरिका सबैतिरबाट सहयोग स्वीकार गर्नुले भविष्यका नेपाली सरकारले सन्तुलित कूटनीति अपनाउने सम्भावना देखाएको टिप्पणी गरे। प्राज्ञ गाओ ल्याङले नेपालको आसन्न चुनावलाई अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण मान्दै यसले अनिश्चितताको अन्त्य गरी प्रभावकारी निर्णय लिन सक्ने जिम्मेवार सरकार निर्माण गर्न र राष्ट्रिय विकासका लागि अनुकूल राजनीतिक वातावरण सिर्जना गर्न अहम् भूमिका खेल्ने बताए। चीनले नेपालको सार्वभौमसत्ताको सम्मान गर्ने एवं आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति कायम राख्दै चुनाव स्थिर तथा सहज रूपमा सम्पन्न हुने आशा व्यक्त गरेको छ।
तस्बिर स्रोत, Getty Images
