आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा झापा क्षेत्र नम्बर ५ यतिबेला राष्ट्रिय चर्चाको शिखरमा छ। यस क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौँका निवर्तमान मेयर बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले चुनावी माहौल तातेको छ। दुवै जना प्रमुख उम्मेदवारहरू मतदाताका घरदैलोमा पुगेर मत मागिरहेका छन्, जसले स्थानीय मतदाताहरूमाझ पनि निकै उत्सुकता जगाएको छ। एमालेबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका लागि प्रस्तावित शाहबीचको यो चुनावी भिडन्तलाई स्थानीय बासिन्दाले निकै रोचक मानेका छन्।
ओलीले यस क्षेत्रबाट २०४८ सालदेखि २०७९ सम्मका छवटा निर्वाचनमा विजय हासिल गरिसकेका छन्। उनी २०६४ सालमा मात्रै पराजित भएका थिए। आइतबार दमक क्षेत्रका विभिन्न वडाका चुनावी सभामा सहभागी हुँदा एमाले उम्मेदवार ओली केही अस्वस्थ र थकित देखिएका थिए। उनले चुनावी दौडधुप र धूलोका कारण आफूलाई खोकी लागिरहेको सभामा बताए। उनले यस पटकको चुनावलाई ‘देश बनाउने कि देश बिगार्ने’ भन्ने वैचारिक लडाइँको रूपमा अर्थ्याएका छन्।
झापा ५ का अर्का उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पनि आइतबार काठमाडौँबाट झापा झरेर अन्तिम चुनावी प्रचारमा जुटेका छन्। दोस्रो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको रास्वपाले आफूलाई नयाँ दलका रूपमा प्रस्तुत गर्दै आएको छ, जसले परम्परागत राजनीतिक शक्तिहरूलाई चुनौती दिने प्रयास गरिरहेको छ।
स्थानीय बासिन्दाहरूले यस निर्वाचनलाई गहिरो चासोका साथ हेरिरहेका छन्। स्थानीय पुष्कर पोखरेलले देशमा भ्रष्टाचार अन्त्य भई सुशासन कायम होस् भन्ने आफ्नो मुख्य चाहना रहेको बताए। उनले नेपाली युवाहरूले विदेश जानु नपरोस् र विदेश गएकाहरू पनि स्वदेश फर्केर काम गर्ने वातावरण बनोस् भन्ने आशा व्यक्त गरे। यद्यपि, ‘कसलाई भोट दिने भन्नेबारे चाहिँ अहिलेसम्म दोधारमै रहेको’ उनले बताए। ठेलामा तरकारी बेचेर गुजारा गर्ने रचना लावतीले भनिन्, “हामीले राम्रो मान्छेलाई भोट दिने हो। उनीहरूले हामीजस्ता काम गर्ने मान्छेलाई गरी खान वातावरण राम्रो बनाइदिनुपर्यो, बाटोघाटो राम्रो बनाइदिऊन्। हाम्रा छोराछोरी कामका लागि विदेश जानु नपरोस्। नेताले भाषण मात्र गर्छन्, घोषणापत्रमा लेखेका कुरा कार्यान्वयनमा लैजानुपर्यो।”

सोमबार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले त्यसपछि चुनावी प्रचार गर्न पाइने छैन। स्थापित शक्ति एमाले र उदाउँदो रास्वपाका उम्मेदवारबीचको यस भिडन्तले झापा–५ लाई देशको हाइप्रोफाइल चुनावी मैदानमध्ये एक बनाइदिएको छ। यस क्षेत्रमा नेपाली कांग्रेसबाट मन्दरा पौडेल चिमरिया, नेकपाबाट रञ्जित तामाङ, श्रम संस्कृतिबाट समीर तामाङ लगायत करिब दुई दर्जन उम्मेदवार चुनावी मैदानमा छन्। यस निर्वाचन क्षेत्रमा कूल १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन्।
झापा ५ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र भएकाले यहाँको चुनावलाई सधैँ राष्ट्रिय राजनीतिसँग जोडेर हेरिन्छ। यस पटक बालेन्द्र शाह ओलीसँग प्रतिस्पर्धामा उत्रिएसँगै यो चासो अझ बढेको छ। २०७९ को निर्वाचनमा ओलीले ५२ हजारभन्दा बढी मतान्तरसहित जितेका थिए। उक्त निर्वाचनमा रास्वपा उम्मेदवार तेस्रो भए पनि समानुपातिकतर्फ रास्वपाले एमालेपछि दोस्रो ठूलो मत पाएको थियो, जसले यस पटकको प्रतिस्पर्धामा रास्वपाको सम्भावित प्रभावलाई संकेत गर्दछ।

केपी शर्मा ओली र बालेन्द्र शाहबीचको चुनावी भिडन्तले झापा ५ ले धेरैको ध्यान तानिरहेका बेला झापाकै अर्को क्षेत्र झापा २ पनि रोचक चुनावी प्रतिस्पर्धाको थलो बनेको छ। झापा २ मा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे एमालेबाट, उपसभामुख इन्दिरा राना रास्वपाबाट र विघटित प्रतिनिधिसभा सदस्य सरिता प्रसाईँ नेपाली कांग्रेसबाट उम्मेदवार छन्, जसले गर्दा यो क्षेत्रको चुनाव पनि निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ। यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन्।
