ललितपुर, फागुन १८ गते। नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा आम मतदातालाई उत्साहपूर्वक सहभागी हुन आग्रह गर्नुभएको छ। लोकतन्त्रको सुदृढीकरण र स्वच्छ, निष्पक्ष एवं भयरहित निर्वाचनका लागि सरकार, निर्वाचन आयोग र सम्पूर्ण राजनीतिक दलहरूको साझा प्रतिबद्धता अनिवार्य हुनेमा उहाँले जोड दिनुभयो। निर्वाचन आयोग र सरकारलाई सुरक्षित मतदान वातावरण सिर्जना गर्न आग्रह गर्दै उहाँले मतदातालाई आवेगमा नपरी, विवेकपूर्ण ढंगले मताधिकार प्रयोग गर्न विनम्र अनुरोध गर्नुभयो। ‘तपाईंको एक मतले देशको भविष्य निर्धारण गर्छ,’ उहाँले भन्नुभयो।
पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले नेपाली कांग्रेसले अघि सारेको ‘बदलिएको कांग्रेस, बदल्छौँ देश’ भन्ने नाराले नवयुवा पुस्ताको परिवर्तनप्रतिको तीव्र चाहनालाई मूर्तरूप दिएको बताउनुभयो। पार्टीको आन्तरिक सुधार र नवीन विचारले युवा वर्गमा नयाँ आशा र विश्वास जगाएको उहाँको दाबी थियो। यसबाट प्राप्त जनसमर्थनले मुलुकलाई प्रगति र समृद्धिको बाटोमा अघि बढाउन थप ऊर्जा मिलेको उहाँले उल्लेख गर्नुभयो।
उहाँले नेपाली कांग्रेसका नीतिगत प्रतिबद्धता र भावी योजनाहरूले नागरिक तहमा गहिरो विश्वास सिर्जना गरेको बताउनुभयो। यसै विश्वासका आधारमा ‘यो देश हामी बनाउन सक्छौँ, हामीले नै बनाउने हो’ भन्ने दृढ संकल्पका साथ अघि बढ्न पार्टी प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। राष्ट्र निर्माणको महाअभियानमा हरेक नागरिकको साथ महत्वपूर्ण हुनेमा जोड दिँदै सुशासन, विकास र समृद्धिको नयाँ अध्याय खोल्ने विश्वास व्यक्त गर्नुभयो।
सञ्चारमाध्यमहरूलाई उपसभापति शर्माले निर्वाचनको मौन अवधिमा भ्रम र गलत सूचना निस्तेज पार्दै सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गर्न आग्रह गर्नुभयो, जसले मतदातालाई सही निर्णय लिन मद्दत पुग्ने उहाँको भनाइ थियो। साथै, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कुनै पनि द्वेषपूर्ण अभिव्यक्ति वा घृणा फैलाउने सामग्री पोस्ट/सेयर नगर्न आह्वान गर्दै सचेत र जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो। गलत सूचनाले निर्वाचनको निष्पक्षता र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने जोखिमप्रति उहाँले सचेत गराउनुभयो।
यसै क्रममा, उपसभापति शर्माले वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा कार्यरत हजारौं नेपाली नागरिकहरूको सुरक्षा र कल्याणप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका ती नेपालीहरूको जीवन रक्षा र हितका लागि सरकारले ठोस कदम चाल्नुपर्ने उहाँले बताउनुभयो। खाडी मुलुकमा रहेका नेपाली दूतावासहरूलाई आफ्ना नागरिकका समस्याहरू सुन्न, कानूनी तथा अन्य सहायता प्रदान गर्न र संकटकालीन अवस्थामा तत्काल उद्धार तथा सहयोगका लागि तत्पर रहन विशेष अनुरोध गर्नुभयो।
समग्रमा, उपसभापति शर्माले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महापर्वका रूपमा लिँदै, सबैको सक्रिय सहभागिता, जिम्मेवार व्यवहार र सहकार्यबाट मात्रै एक सुदृढ, समृद्ध र न्यायपूर्ण नेपाल निर्माण गर्न सकिने आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो।
