तस्बिरको क्याप्शन: इजरेल र अमेरिकी हमलापछि तेहरानमा भेला भएका इजरेल तथा अमेरिका विरोधी प्रदर्शनकारीहरू। तस्बिर स्रोत: EPA/Shutterstock
संयुक्त राज्य अमेरिका र इजरेलले इरानसँगको नयाँ युद्धमा होमिन जुन निर्णय लिएका छन्, यसले अनुमान नगरिएका र डरलाग्दा असरहरू सहितको अवस्था सिर्जना गरेको छ। इजरेलले आफ्नो हमलाको औचित्य पुष्टि गर्न “पूर्व प्रत्याक्रमण” (pre-emptive strike) को शब्दावली प्रयोग गरे पनि, उपलब्ध प्रमाणहरूले इजरेलमाथि हुन लागेको आसन्न आक्रमणको प्रतिक्रिया स्वरूप यो हमला गरिएको भन्ने दाबीलाई समर्थन गर्दैन। बरु, यो आफ्नै रोजाइमा गरिएको युद्धका रूपमा देखिएको छ।
इजरेल र संयुक्त राज्य अमेरिकाले इरानको वर्तमान इस्लामिक शासनलाई कमजोर अवस्थामा रहेको आकलन गरेका छन्। इरान गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ, र यस वर्षको सुरुदेखि भएका विरोध प्रदर्शनहरूमाथि गरिएको क्रूर दमनले आन्तरिक अस्थिरता बढाएको छ। गत ग्रीष्मयाममा भएको युद्धपछि इरानका प्रतिरक्षा प्रणालीहरू अझै क्षतिग्रस्त अवस्थामै छन्। यी अवस्थाहरूलाई मध्यनजर गर्दै, उनीहरूले इरानी सत्तामाथि आक्रमण गर्ने यो अवसरलाई सदुपयोग गर्नुपर्ने निष्कर्ष निकालेको देखिन्छ। यो अन्तर्राष्ट्रिय कानुनको कमजोर हुँदै गएको प्रणालीमाथि अर्को गम्भीर धक्का पनि हो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानलाई आफ्ना देशका लागि खतरा र ट्रम्पले त विश्वकै लागि खतरा भनेर बयान दिएका छन्। इरानी सत्तालाई उनीहरूले आफ्नो प्रमुख शत्रु मान्छन्। यद्यपि, अमेरिका र इजरेलको संयुक्त सैन्य शक्ति र इरानबीचको ठूलो शक्ति असन्तुलनलाई हेर्दा, आत्मरक्षाका लागि पहिले हमला गरिएको भन्ने कानुनी औचित्य पुष्टि गर्न गाह्रो छ।
युद्ध एक राजनीतिक कदम हो, र एकपटक सशस्त्र द्वन्द्व सुरु भएपछि यसलाई नियन्त्रण गर्न अत्यन्तै कठिन हुन्छ। नेताहरूलाई युद्धको लागि स्पष्ट उद्देश्यहरू चाहिन्छ। बेन्जमिन नेतन्याहुले दशकौँदेखि इरानलाई इजरेलको सबैभन्दा खतरनाक शत्रुको रूपमा हेर्दै आएका छन्। उनका लागि यो तेहरानको सत्ता र इरानको सैन्य क्षमतालाई अधिकतम क्षति पुर्याउने अवसर हुनसक्छ। नेतन्याहुले यसै वर्ष आमनिर्वाचनको सामना गर्दैछन्, र हमाससँगको दुई वर्ष लामो लडाईँपछिका अनुभवले इजरेल युद्धमा होमिएको बेला उनको राजनीतिक स्थिति बलियो हुने देखाएको छ। डोनल्ड ट्रम्पका उद्देश्यहरू प्रायः परिवर्तनशील रहेका छन्। जनवरीमा उनले इरानका प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै मद्दत आउँदै गरेको बताएका थिए, तर त्यतिबेला अमेरिकी नौसेनाको ठूलो हिस्सा भेनेजुएलाका नेतालाई अपदस्थ गर्नमा व्यस्त भएकाले उनीसँग सैन्य विकल्प सीमित थियो। यस क्षेत्रमा दुईवटा क्यारिएर स्ट्राइक समूहहरू र उल्लेख्य स्थलगत सैन्य शक्ति परिचालन गरेपछि, ट्रम्पले इरानको परमाणु हतियार प्राप्त गर्ने उद्देश्यको खतरालाई ठूलो चर्चामा ल्याएका छन्, जबकि गत ग्रीष्ममा भएको युद्धपछि उनले इरानको परमाणु कार्यक्रमलाई “ध्वस्त पारिएको” घोषणा गरेका थिए।
इरानी सत्ताले सधैँ आफूले परमाणु हतियार बनाउन नचाहेको बताउँदै आएको छ। तर, उसले आफ्नो परमाणु कार्यक्रममा गैर-सैन्य प्रयोजनका लागि उपयोग नहुने स्तरमा युरेनियम प्रशोधन गरेको थियो। यसबाट उसको न्यूनतम चाहना एउटा बम बनाउन प्रयोग गर्न सकिने विकल्प तयार पार्ने हुनसक्ने अनुमान गर्न सकिन्छ। तर, यस्तो हुन लागेको भन्ने ठोस प्रमाण इजरेल र अमेरिकाले हालसम्म सार्वजनिक गरेका छैनन्।
हवाई हमलाबाट मात्रै कुनै पनि देशमा सत्ता परिवर्तन भएको दृष्टान्त विरलै पाइन्छ। इराकमा सन् २००३ मा अमेरिकी नेतृत्वको ठूलो अतिक्रमणकारी सैन्यले सद्दाम हुसेनलाई सत्ताच्युत गरेको थियो भने, लिबियामा मुअम्मर गद्दाफीलाई सन् २०११ मा विद्रोही सैन्यले नेटो र केही अरब देशहरूको हवाई समर्थनमा हटाएका थिए। ती दुवै घटनाका परिणाम सत्ता पतन, गृहयुद्ध र हजारौँको मृत्यु नै रह्यो। लिबिया अझै पनि एक असफल राष्ट्रका रूपमा छ भने, इराक त्यसबखतको सैन्य अतिक्रमण र रक्तपातको असरसँग जुझिरहेको छ।
यसपटक हवाई शक्तिको भरमा सत्ता परिवर्तन भएमा पनि त्यहाँको इस्लामिक शासनलाई मानवअधिकारको प्रत्याभूति दिने उदारवादी प्रजातान्त्रिक व्यवस्थाले प्रतिस्थापन गर्नेछ भन्नेमा शङ्का छ। हालको शासन ढलेमा सत्ताको बागडोर सम्हाल्नका लागि निर्वासनमा रहेको कुनै विश्वसनीय सरकार पनि तयार अवस्थामा छैन। अहिले इरानका नेताहरू कसरी यो युद्धबाट जोगिने र यसका प्रभावहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने हिसाबकिताब गरिरहेका हुन सक्छन्। साउदी अरेबियाको नेतृत्वमा रहेका इरानका छिमेकीहरू शनिबारका हमलाका सम्भावित परिणामहरू र यसबाट उत्पन्न हुने ठूलो अनिश्चितताबाट चिन्तित अवस्थामा रहेका हुन सक्छन्।

