अध्यागमन विभागले श्रम स्वीकृति नलिई पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई राष्ट्रिय लीगमा नखेलाउन निर्देशन दिएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जारी राष्ट्रिय पुरुष तथा महिला फुटबल लीग प्रतियोगिताहरू अनिश्चितकालका लागि स्थगित गरेको छ। एन्फाले प्राविधिक कारण देखाए पनि, विभागको पत्र नै यो निर्णयको मुख्य आधार मानिएको छ।
तस्बिर स्रोत, ANFA
तस्बिरको क्याप्शन, नेपालमा हाल फुटबल खेलिरहेका अधिकांश विदेशी खेलाडीसँग श्रम स्वीकृति नभएको अधिकारीहरू बताउँछन्।
पुरुष राष्ट्रिय लीगमा सहभागी १७ क्लबमध्ये चित्लाङ फुटबल क्लबले मात्र आफ्ना विदेशी खेलाडीका लागि श्रम स्वीकृति लिएको छ। बिहीवार तालिकामा रहेका केही खेलहरूमा विदेशी खेलाडी सहभागी भए पनि, अध्यागमनको चेतावनीपछि साँझको खेल रोकिएको थियो। महिला लीगका खेलहरू भने सम्पन्न भएका थिए। यो स्थगनले लीगको भविष्यमाथि प्रश्न खडा गरेको छ।

तस्बिर स्रोत, ANFA
विदेशी खेलाडीहरूलाई श्रम स्वीकृतिबिना खेलाइएको भन्दै राष्ट्रिय खेलकुद परिषद् र अध्यागमन विभागमा उजुरी परेपछि यो विषयले महत्त्व पाएको हो। अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले अनुगमन प्रारम्भ भएको र भिसाको उद्देश्यविपरीत सहभागी पाइएमा कारबाही गर्ने चेतावनीसहित एन्फालाई पत्र लेखेका थिए।
एन्फाका प्रवक्ता सुरेश शाहले लीग स्थगित हुनुको कारण प्राविधिक बताए पनि, एन्फाले दुबै लीगका लागि विदेशी खेलाडीको श्रम स्वीकृतिका लागि राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको स्वीकारेका छन्।

तस्बिर स्रोत, ANFA
तस्बिरको क्याप्शन, राष्ट्रिय लीग खेलिरहेको चित्लाङ फुटबल क्लबले भने आफ्ना विदेशी खेलाडीका लागि श्रम स्वीकृति लिएको छ।
श्रम स्वीकृति प्रक्रियाको जटिलतालाई क्लबका अधिकारीहरूले बारम्बार उठाउँदै आएका छन्। भगवती क्लबका सदस्य राम जोशीले स्वीकृति पाउन ढिलाइ भएको भन्दै करोडौँको लगानी जोखिममा परेको र खेलाडीहरू बेरोजगार बन्ने चिन्ता व्यक्त गरे। उनले प्रक्रियामा डेढ महिनासम्म लाग्दा खेल नै सकिने अवस्था आउने बताए।
एन्फाका एक अधिकारीले भने सरकारसँगको सहमतिअनुसार नै विदेशी खेलाडी खेलाइएको दाबी गरे। युवा तथा खेलकुद मन्त्रालय, राखेप र परराष्ट्र मन्त्रालयको सहमतिमा श्रम स्वीकृति प्रक्रिया सरलीकरण गर्ने र त्यस अवधिमा तीन महिना भिसा अवधि भएका विदेशीलाई खेल्न दिने भनिएको थियो। यसै प्रक्रियाअनुसार नेपाल प्रिमिअर लीग (एनपीएल)मा विदेशी खेलाडीहरू निर्बाध खेलेका थिए।
विगतमा श्रम स्वीकृतिसम्बन्धी नियम उल्लङ्घनमा कडा सजाय भएको उदाहरण छ। विसं २०७९ मा शहीद स्मारक ए डिभिजन लीगमा थ्रीस्टार क्लबले जावलाखेल क्लबविरुद्धको खेलमा विदेशी खेलाडीलाई स्वीकृतिबिना खेलाएको भन्दै एन्फाले थ्रीस्टारको जित उल्टाइ श्रेणी घटुवा गरिदिएको थियो। यसपटक एन्फाले तत्काल त्यस्तो कारबाही गरेको छैन।
बीबीसी न्यूज नेपालीका सामग्रीहरू यूट्यूब, फेसबुक, इन्स्टाग्राम र ट्विटरमा उपलब्ध छन्। साथै, बीबीसी नेपाली सेवाको कार्यक्रम सोमवारदेखि शुक्रवारसम्म बेलुकी पौने नौ बजे रेडिओमा सुन्न सकिन्छ।
