वराहक्षेत्र कार्तिके मेलामा तीन लाखभन्दा बढी भक्तजनको सहभागिता
सुनसरी, मङ्सिर ८ गते । सुनसरीको वराहक्षेत्रस्थित प्रसिद्ध वराह भगवानको मन्दिरमा यस वर्षको कार्तिके मेलामा तीन लाखभन्दा बढी भक्तजनले दर्शन तथा कौशिकी स्नान गरेका छन्। हरिबोधिनी एकादशीबाट सुरु भई कार्तिक पूर्णिमासम्म चलेको यस पाँचदिने मेलामा देशभरका साथै भारत र अन्य मुलुकबाट समेत ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता रहेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ।
वराहक्षेत्र नगरपालिका १ मा अवस्थित वराह भगवानको मन्दिरमा मङ्सिर ४ गतेदेखि सुरु भएको यो मेला पूर्णिमाको दिनमा सर्वाधिक भीडभाडका साथ सम्पन्न भएको हो। वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार, हरिबोधिनी एकादशीदेखि नै भक्तजनको चहलपहल बढ्दै गएको थियो। उहाँले यस वर्ष अनुमानित तीन लाखदेखि चार लाखसम्म भक्तजनले वराह भगवानको दर्शन गरी कौशिकी स्नान गरेको जानकारी दिनुभयो।
अध्यक्ष श्रेष्ठले वराहक्षेत्रमा लाग्ने कार्तिके मेला कुनै औपचारिक निमन्त्रणा वा प्रचारका भरमा नभई वराह भगवानप्रतिको गहिरो आस्था र विश्वासका कारण भक्तजन आफैँ आउने गरेको बताउनुभयो। उहाँका अनुसार, यस मेलाको धार्मिक महत्त्व तुलसी विवाह र भगवान विष्णु योगनिद्राबाट जाग्ने धार्मिक मान्यतासँग पनि जोडिएको छ। यस अवसरमा भगवानको दर्शन तथा पवित्र स्नान गर्नाले धार्मिक पुण्य प्राप्त हुने जनविश्वास रहेको छ, जसका कारण टाढाटाढाबाट समेत भक्तजन आउने गर्छन्।
वराहक्षेत्रमा सन्तान प्राप्तिको कामना गर्ने दम्पती, नवविवाहित जोडीले दुलहीलाई भगवानको दर्शन गराउने तथा नवजात शिशुलाई मन्दिरमा ल्याएर दर्शन गराउने प्राचीन परम्परा अद्यापि कायम छ। यस्ता धार्मिक तथा सांस्कृतिक मान्यताले वराहक्षेत्रप्रति भक्तजनको आस्थालाई पुस्तौँदेखि जीवन्त राखेको उहाँको भनाइ छ।
मेलामा नेपालका विभिन्न स्थानबाट मात्र नभई विशेषगरी भारतको बिहार र पश्चिम बङ्गालबाट ठूलो सङ्ख्यामा हिन्दु धर्मावलम्बीहरू आउने गरेका छन्। भुटान, बर्मा लगायतका मुलुकमा रहेका नेपाली मूलका हिन्दु धर्मावलम्बीहरू समेत वराह भगवानको दर्शनका लागि आउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

वराहक्षेत्रको धार्मिक महिमा नेपालमा मात्र सीमित नभई विभिन्न मुलुकका हिन्दु धर्मावलम्बीहरूबीच फैलिएको छ। पौराणिक मान्यताअनुसार वराह भगवान विष्णुका दश अवतारमध्ये तेस्रो अवतार हुनुहुन्छ। हिन्दु धर्मशास्त्रमा पृथ्वीलाई जलमग्न अवस्थाबाट उद्धार गर्न भगवान विष्णुले वराह (बँदेल) को रूप धारण गरेको प्रसङ्ग उल्लेख छ। यही धार्मिक मान्यताका आधारमा वराहक्षेत्रलाई प्राचीन र महत्वपूर्ण तीर्थस्थलका रूपमा लिने गरिएको वराहक्षेत्र मन्दिरका मूल पुजारी किरण भण्डारीले बताउनुभयो।
मेलामा आउने भक्तजनको सहजताका लागि गुठी व्यवस्थापन समितिले घाट, विद्युत, खानेपानी, स्वास्थ्य तथा सुरक्षाको पर्याप्त व्यवस्था मिलाएको थियो। पूर्वीय प्राचीन संस्कृति र परम्परासँग जोडिएको वराहक्षेत्रमा हरेक वर्ष हरिबोधिनी एकादशीदेखि कार्तिक पूर्णिमासम्म कार्तिके मेला लाग्ने परम्परा छ।
