लगनशीलता, संघर्ष र दूरदृष्टिको प्रतिफलस्वरुप एक युवाले अकल्पनीय सफलता हासिल गर्न सक्छन् भन्ने बलियो उदाहरण हुन्, गुल्मीको नेरबासमा सन् २००० मा जन्मिएका सनराइज ज्ञवाली। बुवाको निधनपछि ७० लाख रुपैयाँ ऋणको भारी बोकेर १८ वर्षको उमेरमा अस्ट्रेलिया छिरेका उनी हाल २६ वर्षको उमेरमै झन्डै ३० करोड रुपैयाँ (२.२ मिलियन डलर) नेटवर्थ भएको ऊर्जा कम्पनीका मालिकका रूपमा स्थापित भएका छन्।
सनराइजको बाल्यकाल संघर्षपूर्ण रह्यो। बुवा गिरधारीप्रसाद ज्ञवाली माध्यमिक विद्यालयका शिक्षक हुँदा पनि परिवार आर्थिक अभावमा थियो। बुवाको सीमित आम्दानीले काठमाडौंमा दुवै छोराको पढाइ धान्न मुस्किल पर्थ्यो। सरकारी विद्यालयबाट शिक्षा सुरु गरेका सनराइजले पछि छात्रवृत्तिमा पढे भने संगीतको ज्ञान पनि हासिल गरे। डाक्टर बन्ने लक्ष्य राखेका उनको जीवनमा सन् २०१८ मा बुवालाई ब्रेन ट्युमर भएको खबरले ठूलो मोड ल्यायो। बुवाको उपचारमा ५० लाख रुपैयाँ ऋण लाग्यो र सोही वर्ष ४७ वर्षको उमेरमा बुवाको निधन भयो। बुवाको निधनपछि विदेश नजाने सोच बनाएका उनलाई आमाको प्रेरणाले अस्ट्रेलिया जान बाध्य बनायो। बुवाको उपचार र अस्ट्रेलिया जाने प्रक्रियासहित कुल ७० लाख रुपैयाँ ऋण बोकेर उनी २० मे २०१८ मा अस्ट्रेलिया पुगे।
अस्ट्रेलियामा उनले सुरुवाती दिनदेखि नै कठोर परिश्रम गरे। किचेन ह्यान्ड, कार वास, केएफसी र राति ट्रक चलाउने जस्ता विभिन्न काम गरेर हप्ताको १२ सय डलरसम्म कमाउन सफल भए। यसरी काम गर्दै गर्दा उनले सन् २०१९ मा साहुको ट्रकबाट विद्यार्थीहरूको घर सार्ने (रिमुभल) व्यवसाय सुरु गरे, जहाँ कोभिड महामारीका बेला उनले ७० भन्दा बढी नेपाली विद्यार्थीको घर नि:शुल्क सारिदिएका थिए।

आईटीमा स्नातक गरिरहेका भए पनि सनराइजको रुचि ऊर्जा क्षेत्रमा थियो। सन् २०१९ को अन्त्यतिर उनले हप्ताको १२ सय डलरको ट्रक ड्राइभिङको काम छोडेर ‘अल स्टार इनर्जी’ नामक कम्पनीमा हप्ताको ५०० डलरमा वेयरहाउसको सामान्य कामदारसरह म्यानेजरको पद सम्हाले। पैसा कमाउन नभई काम सिक्ने उद्देश्यले गरिएको यो जोखिमपूर्ण निर्णय उनको सफलताको प्रस्थानबिन्दु बन्यो। उनले त्यहाँ इन्स्टलेसन र अपरेसन म्यानेजरको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै वार्षिक ९० हजार डलरसम्म तलब पुर्याए। स्नातकको अन्तिम वर्षमै उनका मातहतमा ९६ जना कर्मचारी कार्यरत थिए।

कम्पनी सञ्चालनको अनुभव हासिल गरेपछि सनराइजले १७ मे २०२२ मा आफ्नै कम्पनी ‘सनराइज सेभ्स इनर्जी’ दर्ता गरे। जुलाई २०२२ मा स्नातक पूरा गरेर अगस्टबाट व्यावसायिक अपरेसन सुरु गरेका उनले १७ मे २०२३ मा अस्ट्रेलियन सरकारको ‘एक्रेडिटेड सर्टिफिकेट प्रोभाइडर’ को लाइसेन्स प्राप्त गरे। उनको कम्पनीले सरकारी मापदण्डअनुसार सर्वसाधारणको घरमा सोलार, ब्याट्री, एसी र हट वाटर जडान गरी ऊर्जा बचतवापत ‘इनर्जी सर्टिफिकेट’ सिर्जना गर्छ। यी सर्टिफिकेटहरू ऊर्जा कम्पनीहरूले कार्बन उत्सर्जनको क्षतिपूर्ति स्वरूप खरिद गरी सरकारलाई बुझाउँछन्। हाल मेलबर्नमा उनको कम्पनीमा करिब ८२ जना कर्मचारी कार्यरत छन्। उनी आफ्नो सफलताको मुख्य आधार समय व्यवस्थापन, कार्यनैतिकता र आध्यात्मिक साधनालाई मान्छन्।
अस्ट्रेलियामा व्यावसायिक साम्राज्य खडा गरे पनि सनराइजको मन नेपालसँगै जोडिएको छ। उनले सन् २०२२ देखि नै काठमाडौंको रविभवनमा ‘जीपीजी सर्भिसेस प्रालि’ सञ्चालन गरिरहेका छन्, जहाँ २२ जना नेपाली युवा कार्यरत छन्। अस्ट्रेलियामा अभ्यास गरिरहेको हरित ऊर्जा मोडल नेपाल भित्र्याउने प्रयासमा उनी छन्। यसका लागि सन् २०२४ को नेपाल लगानी सम्मेलनमा उनले तत्कालीन प्रधानमन्त्री, ऊर्जा मन्त्री र सचिवसँग भेट गरी प्रस्ताव राखेका थिए।

नेपालमा काम गर्ने वातावरण नभएकै कारण दक्ष नेपालीहरू बाहिरिनु परेकोमा सनराइज चिन्तित छन्। ‘सरकारले वातावरण बनाइदिएर बोलाउँछ भने म १० वर्षको सम्झौता गरेर पारिश्रमिक नलिई नि:शुल्क देशका लागि काम गर्न तयार छु,’ उनी भन्छन्, ‘विदेशमा म जस्ता धेरै दक्ष नेपाली छन्, तर बोलाउने वातावरण त सरकारले बनाउनुपर्यो नि !’ अबको १० वर्षभित्र नेपाल फर्किएर ऊर्जा क्षेत्रमा काम गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उनको मुख्य योजना छ। उनी भन्छन्, ‘मैले अहिले २२ जनालाई रोजगारी दिइरहेको छु। त्यसलाई १०० जना पुर्याउन सकेँ भने मेरा लागि त्योभन्दा ठूलो धर्म अरू केही हुँदैन।’
