काठमाडौँ, भदौ १० गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी लगायत देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण सिर्जित मानवीय संकटमा तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। पार्टीले विपद् व्यवस्थापनका लागि ५० लाख रुपियाँको आर्थिक सहयोग घोषणा गर्नुका साथै प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकहरूलाई सक्रियतापूर्वक परिचालन गर्ने निर्णय गरेको छ।
हालैको विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायतका जिल्लाहरूमा व्यापक क्षति पुगेको छ। सयौं परिवार विस्थापित भएका छन् भने केही नागरिक अझै बेपत्ता छन्। पूर्वाधारमा समेत ठूलो क्षति पुगेको अवस्थामा रास्वपाले तत्काल मानवीय सहायताको आवश्यकता महसुस गर्दै आफ्नो केन्द्रीय सचिवालयको बैठकबाट ६ बुँदे कार्ययोजना पारित गरेको हो।
रास्वपाले विपद् व्यवस्थापन कोष स्थापना गरी ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। यो सहयोग विपद् प्रभावित नागरिकको तत्काल आवश्यकता पूरा गर्न उपयोग गरिने जनाइएको छ। साथै, पार्टीले स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा ‘र्यापिड याक्सन टिम (र्याट)’ मार्फत आफ्ना कार्यकर्ताहरूलाई सक्रिय परिचालन गर्ने भएको छ। यी टोलीहरूले बेपत्ताको खोजी, घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत सामग्री वितरणमा सहयोग पुर्याउनेछन्। पूर्व र्याट संयोजक आशिष थापालाई उद्धार तथा राहत परिचालनको संयोजनको जिम्मेवारी दिइएको छ।
पार्टीले सरकारसँग बेपत्ता तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, सुरक्षित बासस्थानको प्रबन्ध, खानेपानी, औषधि र खाद्यान्नको अविलम्ब व्यवस्थापन गर्न विशेष आग्रह गरेको छ। रास्वपाले विपद्मा प्राप्त हुने सम्पूर्ण आर्थिक तथा भौतिक सहयोगलाई सरकारको ‘एकद्वार प्रणाली’ मार्फत मात्रै उपलब्ध गराउन जोड दिएको छ। यसले राहत वितरणमा पारदर्शिता र समन्यायिक पहुँच सुनिश्चित हुने पार्टीको भनाइ छ।
विपद्का बेला फैलिन सक्ने अफवाह र भ्रामक सूचनाबाट जोगिन रास्वपाले आम नागरिकलाई सरकारी निकायबाट जारी आधिकारिक सूचनालाई मात्र आधार मान्न अपिल गरेको छ। साथै, नदी तटीय क्षेत्र तथा पहिरोको जोखिममा रहेका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। सम्भावित महामारीको नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य टोलीलाई तत्काल परिचालन गर्न र प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको सुनिश्चितता गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
दीर्घकालीन समाधानतर्फ, रास्वपाले बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन र घरबारविहीन परिवारलाई उचित क्षतिपूर्ति तथा स्थायी पुनर्स्थापनाका लागि ठोस योजना तयार पार्न सरकारलाई अनुरोध गरेको छ। यसका साथै, विपद् व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राख्दै, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा सांगठनिक गतिविधिहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। यो कदमले पार्टीको विपद् प्रतिको गम्भीरता र नागरिकको सेवामा समर्पित हुने प्रतिबद्धतालाई स्पष्ट पारेको छ।
पार्टीका महामन्त्री विपीनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा यी सबै निर्णयहरूको विस्तृत विवरण उल्लेख छ। रास्वपाले विपद्को यो घडीमा तत्काल राहत, दीर्घकालीन समाधान र जनसचेतनाका लागि सशक्त भूमिका निर्वाह गर्दै राष्ट्रिय संकटमा एकजुट भएर काम गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
