पाल्पा, असोज २२ गते । पाल्पा जिल्लाले असोज दोस्रो सातादेखि परेको अविरल वर्षा तथा त्यसबाट सिर्जित पहिरो र बाढीको गम्भीर चपेटा भोगिरहेको छ। यस विपद्का कारण मानवीय क्षति, घरपरिवार विस्थापित, सडक तथा पुलमा अवरोध, र कृषि क्षेत्रमा ठूलो नोक्सानी भएको छ। जिल्लाभर ५ जनाको ज्यान गएको छ भने दर्जनौँ घरपरिवार विस्थापित भएका छन् र भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ।
वर्षाका कारण रिब्दीकोट गाउँपालिका सिरुखर्कका मीनबहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेपछि उहाँको परिवार छिमेकीकोमा आश्रय लिन बाध्य भएको छ। घरमुनिबाट पहिरो खसेपछि र माथिल्लो भागमा समेत जमिन फुटेपछि थापा परिवार त्रासमा छ। यस्तै, तिनाउ गाउँपालिका कचलका थर्कबहादुर सारु र माथागढी गाउँपालिका–४ देवगीरका महेन्द्र केसीको घर पनि पहिरोको उच्च जोखिममा छ। रातभर निद्रा नपर्ने र कहाँ गएर बस्ने भन्ने चिन्ताले स्थानीयलाई सताएको छ।
जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार अविरल वर्षाका कारण ३३ घरमा पूर्ण क्षति पुगेको छ भने ६८ घर जोखिममा छन्। १० गोठ क्षति भएको र थप ८ गोठ जोखिममा रहेका छन्। विपद्का कारण जोखिममा परेका २० परिवारका ९० जनालाई सुरक्षित स्थानमा सारिएको छ। विशेषगरी मोटरबाटो खनिएका स्थानमा पहिरो खसेपछि बस्तीहरू जोखिममा परेका हुन्।
माथागढी गाउँपालिका–४ देवगीर बजारको बिचभागबाट करिब २०० मिटर लामो धाँजा फाटेपछि सिङ्गो बजार उच्च जोखिममा परेको छ। सडक चिरिएसँगै यहाँका करिब ३० घरपरिवार प्रभावित भएका छन्। यस क्षेत्रको स्थलगत निरीक्षणपछि प्रदेश सांसद, गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र प्राविधिक इन्जिनियरको टोलीले भू–गर्भविद्मार्फत वैज्ञानिक अध्ययन गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो। सडक पूर्वाधार विकास कार्यालयका इन्जिनियर तेजप्रसाद अधिकारीले प्रारम्भिक अवलोकनमै क्षेत्र जोखिमपूर्ण देखिए पनि विस्तृत अध्ययनपछि मात्र वास्तविक प्राविधिक अवस्था स्पष्ट हुने बताउनुभयो। भू–गर्भविद्को अध्ययन प्रतिवेदन नआएसम्म ठूला तथा भारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो। माथागढी–३ का विभिन्न स्थानमा पनि जमिन चिरिएको छ, जसमध्ये कसेनी–सराई–भैँसकट्टा क्षेत्रमा ७५ मिटर लामो चिराले करिब १० घरपरिवार जोखिममा छन्।
अविरल वर्षासँगै गएको पहिरोले पाँच जनाको अकालमा ज्यान गएको छ। माथागढी गाउँपालिका–३ कसेनी भैँसीकट्टामा पहिरोले घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्तिमगर, उहाँकी १७ वर्षीया छोरी दिना घर्ती र १५ वर्षीया झरना घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। यस्तै, माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पनि पहिरोमा परी ज्यान गएको छ।
पहिरो र बाढीका कारण जिल्लाका अधिकांश ग्रामीण सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–राम्दी सडक खण्डको माथागढी गाउँपालिका–१ चिदिपानी र धेरैनीमा सडक कटान भई आधा भाग भासिएपछि यातायातमा समस्या भएको छ। ग्रामीण सडकहरू अवरुद्ध हुँदा किसानले उत्पादन गरेको दुध, तरकारी, खुर्सानीलगायत कृषिउपज बजारसम्म पुर्याउन नसक्दा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ। खुर्सानी व्यवसायी जनक आचार्यका अनुसार खेतमा पाकेका खुर्सानी बजार पुर्याउन नपाउँदा कुहिन थालेका छन्।
कालीगण्डकी नदीमा आएको बाढीले रामपुर नगरपालिका–३ केलादीस्थित मोटरेबल पुलमा ठूलो क्षति पुर्याएको छ। बाढी पुलभन्दा माथिबाट बगेपछि पाल्पातर्फका दुई स्पानमा क्षति पुगेको र पहिलो स्ल्याबबाट दोस्रो तथा दोस्रोबाट तेस्रो स्ल्याब क्रमशः १५ र २२ सेन्टिमिटरले पूर्वतर्फ सरेको सडक डिभिजन पाल्पाका निमित्त प्रमुख पवित्रमणि आचार्यले बताउनुभयो। पुलमा क्षति पुगेपछि जोखिमलाई ध्यानमा राखेर तत्कालका लागि आवागमन रोकिएको छ।
जिल्लाको तिनाउ, माथागढी, बगनासकाली, तानसेन र पूर्वखोलालगायतका क्षेत्रमा धानबालीमा व्यापक क्षति पुगेको छ। माडीफाँटको ५० प्रतिशतभन्दा बढी भाग डुबानमा परेको र ३०० भन्दा बढी किसानको खेती प्रभावित भएको कृषि ज्ञान केन्द्र पाल्पाको अनुमान छ। स्थानीय किसान मोहन रानाका अनुसार तिनाउ नदी छेउमा रहेको उहाँको सात रोपनी खेतमा लगाएका धान स्याहार्ने अवस्था छैन। ढल निकासको उचित व्यवस्थापन नहुँदा हरेक वर्ष फाँटहरू डुबानमा पर्ने गरेको स्थानीयको भनाइ छ।
