हेटौँडा, चैत २४ गते । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडालाई ‘स्वस्थ सहर’ घोषणा गर्ने तयारी अगाडि बढाइएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने बृहत् अभियान अन्तर्गत प्रदेशको राजधानीसमेत रहेको हेटौँडालाई स्वस्थ सहर बनाउने कार्यको थालनी गरेको हो । यस पहलले सहरवासीको समग्र स्वास्थ्य र जीवनस्तर अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
‘एक जिल्ला एक स्वस्थ सहर’ कार्यक्रम अन्तर्गत हेटौँडा उपमहानगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम मङ्गलबार हेटौँडामा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा सहरलाई स्वस्थ, सुरक्षित र दिगो बनाउनका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा गहन छलफल तथा अभिमुखीकरण प्रदान गरियो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख, कार्यालयका अन्य कर्मचारीसहित हेटौँडा उपमहानगरपालिका प्रमुख, वडाध्यक्षहरू, कार्यपालिका सदस्य एवम् कर्मचारीहरूको सहभागिता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारीले उपमहानगरपालिकाको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्थाबारे विस्तृत प्रस्तुतीकरण दिनुभएको थियो । यस्तै, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले जिल्लाको स्वास्थ्य परिदृश्यमाथि प्रकाश पार्नुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बागमती प्रदेशका अधिकृत हरि भुसालले स्वस्थ सहर निर्माणका लागि आवश्यक पर्ने कार्ययोजना, रणनीतिक पक्षहरू र अन्तर्राष्ट्रिय मापदण्डबारे जानकारी गराउनुभएको थियो ।
प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, स्वास्थ्यका अत्यावश्यक पूर्वाधारहरू पुर्याउने, जिल्लाका नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने र सहज स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण अभियानलाई तीव्रताका साथ अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । यो अभियानले स्थानीय तह र स्वास्थ्य क्षेत्रबीचको समन्वयलाई बलियो बनाउँदै दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
बागमती प्रदेशमा काठमाडौँको चन्द्रागिरी नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा ‘एक जिल्ला एक स्वस्थ सहर’ कार्यक्रम सुरु भइसकेको छ । यसका अतिरिक्त, रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । यसअघि काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका नेपालको पहिलो ‘स्वस्थ सहर’ घोषित भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले धुलिखेललाई एसियाको दोस्रो स्तरको र नेपालको पहिलो स्वस्थ सहरका रूपमा मान्यता दिएको थियो ।
स्वस्थ सहरको अवधारणा सन् २०१६ मा चीनको साङ्घाई सहरमा आयोजित मेयर सम्मेलनपछि अगाडि आएको हो । उक्त सम्मेलनले दिगो विकासका लागि मेयरहरू नै वास्तविक परिवर्तन ल्याउने शक्ति हुन् भन्ने प्रतिवद्धता व्यक्त गरेको थियो, जसले विश्वव्यापी रूपमा स्वस्थ सहरीकरणको एजेन्डालाई अगाडि बढाएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका प्रदेश अधिकृत भुसालले मानिसको स्वास्थ्यलाई स्वस्थ बनाउन स्वास्थ्य क्षेत्रको योगदान २० प्रतिशत मात्रै हुने र बाँकी ८० प्रतिशत अन्य क्षेत्रहरू जस्तै खानपान, घरायसी वातावरण, पर्यावरण, शिक्षा, रोजगारी र आर्थिक अवस्थाको प्रभाव रहने तथ्य प्रस्तुत गर्नुभयो । उहाँले प्रदेशमा करिब ७० प्रतिशत मानिस सहरमा बसोबास गर्दै आएको र पछिल्लो समय नसर्ने रोगको प्रकोप पनि बढ्दै गएको तथ्याङ्क प्रस्तुत गर्दै सहरीकरणसँगै स्वास्थ्य चुनौतीहरू पनि बढेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, प्रदेश सचिव डा. सुमित्रा गौतम, हेटौँडा उपमहानगरपालिका महाशाखा प्रमुख भीम तिमल्सिना लगायतका व्यक्तित्वहरूले हेटौँडालाई स्वस्थ सहर बनाउने अभियानमा आ-आफ्नो धारणा र प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँहरूले यस अभियानको सफलताका लागि सबै सरोकारवाला निकाय, समुदाय र नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
