२८ असार, पर्वत। कास्की र पर्वत जिल्ला हुँदै बग्ने मोदीखोलामा अविरल वर्षाका कारण आएको बाढीले जलस्तर अत्यधिक बढेको छ। आज बिहानैदेखि परेको मुसलधारे वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङ क्षेत्रमा बाढी आएको र विभिन्न स्थानमा पहिरो जाँदा मोदीखोलाको बहाव अप्रत्याशित रूपमा बढेको हो। यसले गर्दा खोला किनारका बस्तीहरू उच्च जोखिममा परेका छन् भने जनजीवन प्रभावित भएको छ।
मोदीखोलामा पानीको सतह दिउँसो ३ बजेदेखि निरन्तर बढिरहेको छ। बाढीले कास्की क्षेत्रका विभिन्न स्थानमा भौतिक क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। स्थिति गम्भीर बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्वत र मोदी गाउँपालिकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई तत्काल आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रशासनले कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।
पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोला किनारमा बसोबास गर्ने सम्पूर्ण सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ। उहाँले नदी किनारमा काठदाउरा निकाल्न, माछा छोप्न वा अन्य कुनै पनि प्रयोजनका लागि खोला नजिक नजान कडा निर्देशन दिनुभएको छ। नदीको बहाव तीव्र र अप्रत्याशित भएकाले कुनै पनि बेला जोखिम बढ्न सक्ने भन्दै उहाँले अनावश्यक जोखिम नलिन आग्रह गर्नुभएको छ।
यसैगरी, मोदी गाउँपालिकाले पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्र पर्ने मोदीखोला किनारका बासिन्दालाई सुरक्षित रहन र अत्यावश्यक बाहेकका काममा खोला नजिक नजान आग्रह गरेको छ। स्थानीय प्रशासनले विपद् जोखिम न्यूनीकरणका लागि सबैलाई सचेत रहन आग्रह गरेको छ।
मोदीखोलामा पानीको बहाव अत्यधिक बढेपछि खोलामा सञ्चालित चारवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरेका छन्। मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले उत्पादन बन्द गरेका हुन्। तल्लो मोदी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र वेलवासेले दिनुभएको जानकारी अनुसार, बाढीसहित ढुङ्गा, बालुवा र अन्य वस्तु विद्युत् गृहमा पसेर महँगा उपकरणहरूमा क्षति पुग्ने खतरा बढेपछि तत्कालका लागि विद्युत् उत्पादन बन्द गर्ने निर्णय गरिएको हो। यसबाट राष्ट्रिय प्रसारण लाइनमा विद्युत् आपूर्तिमा केही असर पर्न सक्ने देखिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विजय यादवले मोदीखोलाको पर्वत खण्डमा सुरक्षा सावधानीका लागि थप प्रहरी परिचालन गरिएको जानकारी दिनुभएको छ। बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले नियमित गस्ती गर्ने र आवश्यक परेका बेला तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। प्रशासनले अवस्थाको निरन्तर अनुगमन गरिरहेको र कुनै पनि आपत्कालीन परिस्थितिका लागि तयारी अवस्थामा रहेको जनाएको छ।
रासस
