काठमाडौं : गत भदौ १० गते आएको भीषण बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएको छ। यस प्राकृतिक विपत्तिले निम्त्याएको विनाशप्रति विश्व समुदायको ध्यान केन्द्रित भएको छ। राजनीतिक र कूटनीतिक सीमाभन्दा पर, खेलकुद क्षेत्रले यस दुःखद घडीमा नेपालप्रति गहिरो ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेको छ।
विशेषगरी भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र त्रिशूली नदी तटीय क्षेत्रमा व्यापक विनाश निम्त्याएको थियो। यस विपत्तिमा सयौँ मानिसले ज्यान गुमाएका छन् भने ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता भएका छन्। यस कठिन परिस्थितिमा विश्वका विभिन्न खेलकुदकर्मी तथा संघसंस्थाहरूले नेपालका लागि प्रार्थना र समर्थनका सन्देशहरू सार्वजनिक गरिरहेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको ‘ए’ समूहले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० शृङ्खलामा विपत्तिको सामना गरिरहेका नेपाली जनताप्रति विशेष सहानुभूति प्रकट गरेको छ। शृङ्खलाको पाँचौँ खेलमा हैदराबाद किङ्ग्समेन एकेडेमीसँग खेल्नुअघि टोलीका खेलाडीहरूले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप मौनधारण गरेका थिए। उक्त खेलमा नेपालका प्रत्येक खेलाडीले कालो पट्टी बाँधेर खेलेका थिए, जसले विश्व समुदायलाई नेपाली जनताको पीडा स्मरण गराएको थियो।
विश्व फुटबलको प्रतिष्ठित लिग ला लिगाअन्तर्गत अगस्ट २७ मा स्पोटिफाइ क्याम्प नोउमा भएको बार्सिलोना र एथ्लेटिक क्लबबीचको खेलमा पनि नेपालप्रति ऐक्यबद्धता देखाइएको थियो। खेलअघि बार्सिलोना र एथ्लेटिक क्लबका खेलाडी, प्रशिक्षक र स्टाफले मैदानमा एकसाथ उभिएर नेपाल र चीनको सीमावर्ती क्षेत्रमा आएको बाढीबाट प्रभावितहरूप्रति मौनधारण गरेका थिए। उपलब्ध भिडियो र रिपोर्टहरूमा उनीहरूले नेपालका लागि प्रार्थना समेत गरेको उल्लेख छ। ला लिगा च्याम्पियन बार्सिलोनाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत उद्धार तथा राहत कार्यमा संलग्न सबैप्रति सम्मान व्यक्त गर्दै कठिन घडीमा नेपाली जनतासँग आफूहरू एकजुट रहेको सन्देश पोस्ट गरेको थियो। त्यस्तै, क्लब एट्लेटिको म्याड्रिडले पनि ‘एक्स’ मार्फत समवेदना व्यक्त गर्दै ‘स्टे स्ट्रङ नेपाल’ अर्थात् ‘नेपाल बलियो रहोस्’ भन्दै सन्देश सार्वजनिक गरेको थियो।
विश्व क्रिकेट समुदायले पनि नेपालको यस विपत्तिप्रति गहिरो सहानुभूति र ऐक्यबद्धता प्रकट गरेको छ। भारतका विभिन्न क्रिकेट हस्ती तथा फ्रेन्चाइज टोलीहरूले नेपालको यस परिस्थितिमा समर्थन सन्देशहरू जारी गरेका छन्। चेन्नई सुपर किङ्ग्सले जनधनको ठूलो क्षति भएकोमा मर्माहत भएको जनाएको छ भने राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादले पनि नेपाली नागरिकको सुरक्षाको कामना गर्दै सहानुभूति सन्देशहरू सार्वजनिक गरेका छन्।
भारतीय क्रिकेटका लिजेन्ड सचिन तेन्दुलकरले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नेपालमा आएको आकस्मिक बाढीले प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले आफ्ना प्रियजनको खबर पर्खिरहेका परिवारको पीडाप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि खटिएका टोलीका लागि प्रार्थना गरेका छन्। त्यस्तै, भारतीय क्रिकेटर युवराज सिंहले पनि नेपालको विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीहरूको सुरक्षाको कामना गरेका छन्। उनले नेपाली जनतालाई यो अत्यन्त कठिन समय पार गर्न साहस र शक्ति मिलोस् भन्ने कामना गरेका छन्। अर्का भारतीय क्रिकेटर सुरेश रैनाले पनि फसेका मानिसहरू सुरक्षित रूपमा उद्धार हुन सकून् र प्रभावितहरूलाई शक्ति मिलोस् भन्ने कामनासहित सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
क्रिकेट वेस्ट इन्डिजका अध्यक्ष डा. किशोर सालोले संस्थाको तर्फबाट औपचारिक वक्तव्य नै जारी गरेका छन्। उनले नेपाललाई विश्व क्रिकेट परिवारको महत्वपूर्ण सदस्यको रूपमा उल्लेख गर्दै यस दुःखको घडीमा नेपालसँग काँधमा काँध मिलाएर उभिएको बताएका छन्। उनले प्रभावित परिवार, ज्यान गुमाउनेहरूका आफन्त, आफ्ना प्रियजनको खबर पर्खिरहेका परिवार र उद्धारमा खटिएका सुरक्षाकर्मीहरूप्रति सहानुभूति व्यक्त गर्दै नेपालको शीघ्र पुनर्स्थापनाको कामना गरेका छन्।
मिक्स्ड मार्सल आट्र्स (एमएमए) क्षेत्रबाट पनि नेपालप्रति प्रार्थना गरिएको छ। चीनको सांघाईमा जारी रोड टु युएफसी सिजन ५ मा प्रतिस्पर्धा गरिरहेका नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले यस विपत्तिप्रति विश्वको ध्यान आकर्षित गरेका छन्। प्रतियोगिताका कमेन्टेटरहरूले नेपाल र चीनको सीमावर्ती क्षेत्रमा पुगेको बाढी र त्यसबाट भएको क्षतिबारे चर्चा गर्दै दुवै देशको छिट्टै पुनर्स्थापनाको कामना गरेका थिए। सेमिफाइनल खेलमा न्युजील्यान्डका फाइटर कासिब मर्डोचलाई पराजित गरेपछि रविन्द्र ढाँटले रिङभित्रैबाट नेपालमा हाल असहज स्थिति रहेको र सम्पूर्णले सक्दो सहयोग गर्न अनुरोध गरेका थिए।
