असार १३, २०८३ शनिबार १८:१४:१०
रामेछाप: रामेछापको खाँडादेवी गाउँपालिकामा प्राविधिक कर्मचारीमाथि कार्यालय परिसरमै भएको हातपातपछि सम्पूर्ण प्रशासनिक तथा प्राविधिक कामकाज ठप्प भएको छ। सुरक्षा र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै कर्मचारीहरूले आन्दोलन जारी राखेकाले दैनिक सेवाहरू अवरुद्ध बनेका छन्।
बिहीबार मध्यान्हदेखि कर्मचारीहरूले सम्पूर्ण सेवा बन्द गरेपछि विभिन्न कामकाजका लागि कार्यालय पुगेका सेवाग्राहीहरू रित्तो हात फर्किन बाध्य भए, जसले स्थानीय नागरिकको दैनिक जीवन प्रत्यक्ष प्रभावित भएको छ। गाउँपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र ढुङ्गेलका अनुसार, खाँडादेवी गाउँपालिका–५ का प्रेम तामाङले एक खानेपानी योजनाको मूल्याङ्कनमा दबाब दिएको कारण हो। तामाङले योजनामा विनियोजित सम्पूर्ण बजेट बराबरको काम सम्पन्न भएको दाबी गर्दै पूर्ण रकम भुक्तानी हुने गरी मूल्याङ्कन गर्न प्राविधिक टोलीलाई दबाब दिइरहेका थिए।
तर, प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्दा एक लाख रुपैयाँ लागतको उक्त योजनामा खन्ने र पुर्नेजस्ता आधारभूत कामसमेत पूर्ण नभएको पाइएको थियो। प्राविधिक मापदण्डअनुसार, उनीहरूले सम्पन्न कामको वास्तविक मूल्याङ्कन गर्दै रकम घटाएर प्रतिवेदन तयार पारेका थिए। यसै विवाद उत्कर्षमा पुगेर तामाङले कार्यालयभित्रै कर्मचारीमाथि गालीगलौज, हातपात तथा ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ।
घटनामा सब–इन्जिनियर हरी मानन्धर र चन्द्रशेखर घिमिरेमाथि दुर्व्यवहार र हातपात भएको जनाइएको छ। त्यसलगत्तै उनीहरू दुवैले प्रमुख प्रशासकीय अधिकृतसमक्ष राजीनामा बुझाएका छन्। करार सेवामा कार्यरत अर्का एक प्राविधिकले पनि सुरक्षा अभाव देखाउँदै राजीनामा दिएको इन्जिनियर ढुङ्गेलले पुष्टि गरेका छन्।
यस घटनाको विरोधमा खाँडादेवी गाउँपालिकाका सम्पूर्ण कर्मचारी एकजुट भएका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यस्थलमा कर्मचारी सुरक्षा, दोषीमाथि अविलम्ब कानुनी कारबाही र राष्ट्रसेवकको सम्मान तथा मर्यादा संरक्षण गर्न माग गरेका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत उनीहरूले दिएका छन्। सार्वजनिक सेवामा खटिएका राष्ट्रसेवकमाथि हुने दुर्व्यवहारले सेवा प्रवाहमा गम्भीर नकारात्मक असर पार्ने भन्दै कर्मचारीहरूले यस्ता गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
यसैबीच, प्राविधिक कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रेम तामाङलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र कर्मचारीहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्न माग गरेका छन्। कर्मचारीहरूले कार्यस्थलमा हिंसा, धम्की वा दुर्व्यवहार स्वीकार्य नहुने बताउँदै सुरक्षित वातावरणबिना प्रभावकारी सार्वजनिक सेवा असम्भव हुनेमा जोड दिएका छन्। यस घटनाले स्थानीय तहमा सुशासन र विकास आयोजना कार्यान्वयनमा चुनौतीहरू उजागर गरेको छ।
