पेरिस । फ्रान्सले इरानलाई साइबर आक्रमणका लागि कडा कारबाही र प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। फ्रान्सका विदेशमन्त्री जिन-नोएल ब्यारोले गत अक्टोबरमा इरानी सेनाको एक साइबर युनिटले देशभरका करिब ७०० सुपरमार्केटलाई लक्षित गरी साइबर आक्रमण गरेको आरोप लगाएका छन्।
आक्रमणकारीहरूले ती सुपरमार्केटका फ्रिज र फ्रिजरको तापक्रम नियन्त्रण गर्ने प्रणाली ह्याक गरी अत्यधिक बढाइदिएका थिए। यसबाट ठूलो परिमाणमा खाद्यवस्तु बिग्रिएको थियो, जसले व्यापारीहरूलाई उल्लेख्य आर्थिक क्षति पुर्याएको थियो। फ्रान्सेली अधिकारीहरूका अनुसार, यो आक्रमण फ्रान्सको भूमिमा हालसम्मकै सबैभन्दा ठूलो र आक्रामक साइबर आक्रमण हो।
यस घटनापश्चात् फ्रान्सेली विदेशमन्त्री ब्यारोले मंगलबार इरानी राजदूतलाई स्पष्टीकरणका लागि बोलाउने बताएका छन्। फ्रान्सले युरोपेली सङ्घ (ईयू) लाई इरानमाथि थप प्रतिबन्ध लगाउन माग गर्ने तयारी पनि गरेको छ। ब्यारोले फ्रान्सले जवाफी कारबाहीका सबै विकल्प खुला राख्ने बताएका छन्, जसमा सार्वजनिक नगरिने उपायहरू समेत समावेश हुनेछन्। उनको भनाइमा, फ्रान्सको उद्देश्य इरान वा कुनै अन्य देशलाई भविष्यमा यस्ता आक्रमण गर्नबाट रोक्नु हो। सुपरमार्केट जस्ता संवेदनशील स्थानमा आक्रमण गरी खाद्यवस्तु नष्ट गर्नाले व्यवसाय र समग्र अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरू बताउँछन्।
फ्रान्सका सरकारी वकिल लोर बेकुओले इरानी सेनाको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को साइबर युनिट ‘शाहिद कावेह’ विरुद्ध अनुसन्धान सुरु गरेकी छन्। यसै युनिटलाई सुपरमार्केटमा भएको आक्रमणको पछाडि रहेको आरोप लगाइएको छ। यस सम्बन्धमा आईआरजीसीको यस युनिटसँग जोडिएका दुई अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गर्न पनि माग गरिएको छ। फ्रान्सेली साइबर सुरक्षा निकायका अनुसार, यो युनिटले विगतमा ठूला-ठूला साइबर आक्रमणहरू गर्दै आएको छ। प्रायः इजरायल र अमेरिका यसको निसानामा पर्ने गरे पनि, फ्रान्स र युरोपका अन्य देशहरू पनि यसको तारो बनिरहेका छन्। फ्रान्ससहित धेरै युरोपेली देशहरू अमेरिका र इजरायलका सहयोगी हुन् र युरोपेली देशहरूले इरानमाथि विभिन्न प्रकारका प्रतिबन्धहरू लगाएका छन्।
यसैबीच, ह्याकरहरूले फ्रान्सको ब्लड बैंकलाई पनि निशाना बनाएको घटना सार्वजनिक भएको छ। गत नोभेम्बर १ मा फ्रान्सका तीनवटा ब्लड स्टोरेज सेन्टरको कुलिङ सिस्टमको सेटिङ बदल्ने प्रयास भएको थियो। आक्रमणकारीहरूले फ्रिजरको तापक्रम माइनस ३० डिग्री सेल्सियसबाट बढाएर ११० डिग्री सेल्सियससम्म पुर्याउने कोसिस गरेका थिए। यद्यपि, अलार्म सिस्टमले समयमै गडबडी पत्ता लगाएकाले रगत र प्लाज्माका नमुनाहरूलाई कुनै नोक्सान हुन पाएन। तर, ब्लड बैंकमा भएको यस आक्रमणमा कसको संलग्नता थियो भन्नेबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन, जसले यस घटनालाई सुपरमार्केट आक्रमणबाट भिन्न बनाउँछ।
सुपरमार्केटमा भएका साइबर आक्रमणको प्राविधिक विश्लेषण गर्दा, ह्याकरहरूले फ्रिज र फ्रिजरलाई कम्प्युटर सिस्टममार्फत नियन्त्रण गर्न सकिने र यिनका सेटिङ इन्टरनेटमा उपलब्ध वेब पेजमार्फत पनि बदल्न सकिने तथ्यको दुरुपयोग गरेका थिए। फ्रान्सेली अधिकारीहरूका अनुसार, ह्याकरहरूले यिनै वेब पेजमार्फत फ्रिज-फ्रिजरको कन्ट्रोल सिस्टमसम्म पहुँच बनाएका थिए। उनीहरूले फ्रिजलाई सामान्यभन्दा बढी समयसम्म बरफ पगाल्ने प्रक्रियामा जाने गरी सेटिङ मिलाइदिएका थिए। साथै, फ्रिजका सेन्सरले तापक्रम बढ्दा कर्मचारीहरूलाई चेतावनी दिने प्रणालीलाई पनि ह्याकरहरूले बन्द गरिदिएका थिए, जसले गर्दा कर्मचारीहरूले समयमै जानकारी पाएनन् र ठूलो क्षति भयो।
