चपल भादुरी ‘रङ्गमञ्चकी रानी’ मानिन्थे। (तस्बिर स्रोत: Debarshi Sarkar for Parama Calcutta)
पूर्वी भारतको बङ्गालमा बीसौं शताब्दीको मध्यतिर रङ्गमञ्चका चर्चित ‘महिला स्टार’ मध्ये चपल भादुरी अग्रपङ्क्तिमा थिए। ‘चपल रानी’ वा ‘जात्रा’की रानीका रूपमा ख्याति कमाएका भादुरीको जीवनयात्रालाई लेखक सन्दीप रोयले आफ्नो नयाँ पुस्तक “चपल रानी: द लास्ट क्वीन अफ बङ्गाल” मा उतारेका छन्। यो पुस्तकले उनको स्टारडमदेखि गुमनामसम्मको यात्रा मात्र होइन, लैङ्गिक पहिचान अभिनयको हिस्सा बनेको एउटा हराउँदै गएको सांस्कृतिक दुनियाँलाई पनि उजागर गर्छ।
युरोपदेखि जापानसम्म विश्वका विभिन्न रङ्गमञ्चमा पुरुष कलाकारले महिलाको भूमिका निर्वाह गर्ने चलन त्यसबेला सामान्य थियो। बङ्गालमा यही चलन ‘जात्रा’का रूपमा फस्टाएको थियो। ग्रामीण क्षेत्रका खुलामञ्चमा प्रस्तुत गरिने सङ्गीत, मिथक र भक्ति कथामा आधारित यी मेलोड्रामा सिनेमाझैं लोकप्रिय थिए। चर्को आवाज, हाउभाउ र विशेष वेशभूषा यिनका विशेषता थिए। यी ‘पुरुष रानी’हरूले वर्षौँसम्म महिला पात्रको भूमिका निर्वाह गरे।

‘स्त्रीत्व सदैव मेरो एउटा अंश थियो,’ भादुरी भन्छन्। (तस्बिर स्रोत: Courtesy of Debojit Majumder and Sanjay Singha)
यद्यपि, जात्रालाई सधैँ उच्च वर्गले ‘गाउँले वा असंस्कृत’ ठान्दथे। सन् १९५० को दशकमा भादुरीले रङ्गमञ्च प्रवेश गर्दा यो संसार बदलिँदै थियो; महिलाहरूले अभिनयमा भाग लिन थालेका थिए। तर, भादुरीले आफ्नो विशिष्ट पहिचान बनाए। सन् १९३९ मा अभिनेत्री प्रभा देवीका सन्तानका रूपमा जन्मिएका उनले १६ वर्षको उमेरमै अभिनय सुरु गरे। उनले रानी, देवी र देहव्यापार गर्ने महिलाका भूमिकालाई निपुणताका साथ निर्वाह गरे। पोसाक र शृङ्गारमा उनले सूक्ष्म ध्यान दिन्थे, जसले उनलाई मञ्चमा पूर्ण रूपमा रूपान्तरित गर्दथ्यो। “स्त्रीत्व सधैँ मेरो एउटा अंश थियो,” उनी भन्थे। उनका प्रस्तुतिहरू व्यङ्ग्यात्मक मात्र नभई गहिरो अनुभूतिमा डुबेका हुन्थे।

एउटा डक्युमन्टरी फिल्मका निम्ति पुन: उक्त भूमिकामा प्रस्तुत हुँदै भादुरी। (तस्बिर स्रोत: Courtesy of Debojit Majumder and Sanjay Singha)
रङ्गमञ्चबाहिर भादुरीको जीवन अझ जटिल थियो। तत्कालीन बङ्गाली समाजमा उनी खुला रूपमा समलिङ्गीका रूपमा नचिनिए पनि प्रेमका प्रस्ताव र स्नेहपूर्ण पत्र प्रशस्तै आउँथे। उनले आफ्नो प्रेमका लागि कहिल्यै माफी नमागेको बताउँछन्। उनको एउटा सम्बन्ध तीन दशकभन्दा बढी समय चल्यो, यद्यपि उनका पार्टनरले विवाह गरे र सन्तानसमेत भए। महिला कलाकारहरूको बढ्दो सहभागितासँगै जात्रामा पुरुष महिला कलाकारको माग घट्दै गयो। सन् १९६० को दशकको अन्त्यतिर ‘जात्राका जुँगाधारी रानीहरू’लाई मञ्चबाट हटाइयो। भादुरीले दर्शकबाट अस्वीकृतिको तीतो अनुभव गरे; एक पटक त उनलाई मञ्चबाट धपाइयो। धेरै समकालीनहरू गरिबीमा फसे, कसैले आत्महत्यासमेत गरे। भादुरीले पनि पुस्तकालयमा सरसफाइ गर्ने र सडकमै शीतला देवीको भूमिका निर्वाह गर्नेजस्ता काम गरेर गुजारा चलाए।

भादुरीले रङ्गमञ्चमा थरिथरीका भूमिका निर्वाह गरेका छन्। (तस्बिर स्रोत: Debarshi Sarkar for Parama Calcutta)
अघिल्लो दशकमा बङ्गाली फिल्म निर्देशक कौशिक गाङ्गुलीका फिल्महरूमा भूमिका पाएपछि उनी पुनः देखा परे। सन् १९९९ मा नवीन किशोरले उनको जीवनलाई फिल्म र प्रदर्शनीमा दस्तावेजीकरण गरिसकेका थिए। नयाँ पुस्ताले उनलाई ‘ज्येष्ठ क्वेर’ व्यक्तित्वका रूपमा हेर्न थाल्यो, यद्यपि भादुरीले स्वयमलाई कुनै लेबलमा बाँध्न चाहेनन्। उनी रङ्गमञ्चबाहिर अन्य बङ्गाली पुरुषझैं कुर्ता-पाइजामा लगाउँथे। ८७ वर्षीय भादुरी हाल एउटा वृद्धाश्रममा छन्, पुराना सम्झना र स्वास्थ्य समस्यासँग जुधिरहेका। उनको यो कथाले अभिनयकला क्षेत्रको इतिहास देखाउँछ जहाँ लिङ्ग लचिलो विषय थियो, र प्रश्न गर्छ: किन कोही कलाकार सम्झिइन्छन् र कोही बिर्सिइन्छन्? रोयको पुस्तकले यसको उत्तर खोज्ने प्रयास गरेको छ।

भादुरीको जीवन फिल्ममा दस्तावेजीकरण भइसकेको छ भने अहिले पुस्तकमा आएको छ। (तस्बिर स्रोत: Naveen Kishore)

८७ वर्षका भादुरी हाल वृद्धाश्रममा बस्छन्। (तस्बिर स्रोत: Debarshi Sarkar for Parama Calcutta)
