नेपाली राजनीति पछिल्लो समय रचनात्मक बहस र जनमुखी कार्यक्रममा भन्दा व्यक्तिगत आरोपप्रत्यारोप र निम्छरो टिप्पणीमा रुमल्लिएको छ। दलका शीर्ष नेतृत्वबाटै कार्यकर्ता भड्काउने अभिव्यक्ति दिने तथा लोकतन्त्रको आफूखुसी व्याख्या गर्ने प्रवृत्तिले विकास र समृद्धिका मुद्दामा जनतामा भ्रम सिर्जना गरेको छ। सत्ताप्राप्तिको तीव्र प्रतिस्पर्धाले राजनीतिलाई अस्थिरताको दिशामा धकेलिरहेको छ।
मुलुक चलाउने स्पष्ट योजना, राजनीतिक संस्कार वा लिखित खाकाको अभाव दलहरूमा देखिन्छ। सामाजिक सञ्जालमा सस्तो लोकप्रियताका लागि गरिने डिजिटल गालीगलौजले राजनीतिको मर्यादा घटाएको छ। अनुभवी र नयाँ पुस्ताबीच अनुभव आदानप्रदानको अभाव तथा एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई नै कमजोर बनाउँदै लगेको छ। यसले मुलुकको विकासको अवसरलाई कयौं वर्ष पछाडि धकेल्ने खतरा बढाएको छ।
संविधानले परिकल्पना गरेअनुसार दलहरू नै शासनका आधार स्तम्भ हुन्, तर यहाँ दलहरू नै सत्ताका लागि आन्दोलन गर्ने, एकअर्कालाई झोस्ने र पोल्ने काममा व्यस्त छन्। यसले नयाँ पुस्तालाई राजनीति भनेको विरोध, आलोचना र समय खेर फाल्ने प्रक्रिया मात्र हो भन्ने गलत सन्देश दिएको छ। अन्तर्राष्ट्रिय अभ्यासमा कानुन सबैका लागि बराबर मानिए पनि, नेपालमा पूर्वउच्च पदस्थहरूलाई कानुन लाग्दैन भन्ने भाष्य निर्माण गरिन्छ। जब दलहरूमा राजनीतिक संस्कार, इमानदारी र नैतिकताको खडेरी पर्छ, त्यसको प्रत्यक्ष असर सुशासन र जनताको जीवनमा पर्छ, जसले विकास र समृद्धिको आशालाई मार्छ।
दूरदृष्टि र दीर्घकालीन योजना अभावका नेतृत्वले मुलुकलाई विकासको मार्गमा डोर्याउन सक्दैनन्। जनताका आधारभूत समस्या, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता महत्वपूर्ण विषयमा दलका नेतृत्व बेखबर देखिन्छन्। उनीहरू अरूका कमजोरी खोतल्न र गाली गर्नमा मात्रै माहिर छन्। विगतका दशवर्षे सशस्त्र द्वन्द्व, ६२/६३ को जनआन्दोलन र जेनजी आन्दोलन लगायतका संघर्षहरूले अपेक्षित परिवर्तन ल्याउन नसकेको अवस्थामा फेरि आन्दोलनको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ। दशवर्षे द्वन्द्वका बेपत्ता र घाइतेका मुद्दा अझै अनुत्तरित छन्, जसको समाधान कता हो भन्ने स्पष्टता छैन।
विगतका आन्दोलनहरूले व्यवस्था परिवर्तन गरे पनि, दलहरू सधैं सत्ताको वरिपरि मात्रै केन्द्रित भएर राजनीतिको आरोपबाट मुक्त हुन सकेनन्। शिक्षा, स्वास्थ्य जस्ता नागरिकका प्रमुख विषयहरू ओझेलमा परे। सत्ता प्राप्तिका लागि गठबन्धन बनाउने र भत्काउने खेलमा दलहरू व्यस्त रहे। यसले मुलुकको विकास र जनताको समृद्धि नारामा मात्र सीमित भयो। जेनजी आन्दोलनले राज्यको अर्बौं सम्पत्ति नास गर्यो र कयौं युवाको ज्यान गयो। प्राकृतिक विपद्का कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा राज्यको ठूलो स्रोत खर्चिनुपर्ने अवस्था छ, जसले विकासको गतिलाई थप रोकेको छ।
देशबाट युवा श्रमशक्तिको भयावह पलायन जारी छ, तर जिम्मेवार दलका नेताहरू यसलाई बेवास्ता गर्दै पुनः उही आन्दोलन र तोडफोडको योजना बुन्नु लोकतन्त्रकै लागि खतराको संकेत हो। विकास र समृद्धि कुनै एक दल वा व्यक्तिको मात्र जिम्मेवारी होइन। सत्तामा जोसुकै भए पनि, प्रतिपक्षले रचनात्मक खबरदारी गर्दै मुलुकको विकासमा सकारात्मक सहयोग नगर्ने हो भने नेपालमा विकास र समृद्धिले सार्थकता पाउन अझै धेरै वर्ष कुर्नुपर्नेछ।
अब आन्दोलनको तानाबाना बुनेर अस्थिरता निम्त्याउने मानसिकता त्यागी, विगतका परिवर्तनलाई संस्थागत गर्दै जनजीविका कसरी सहज बनाउने, रोजगारी सिर्जना गर्ने, र उत्पादनमुखी अर्थतन्त्र कसरी बलियो बनाउने भन्नेमा सत्ता पक्ष र प्रतिपक्ष दुवैको साझा अठोट अपरिहार्य छ।
