नेपालको सङ्घीय शासन प्रणालीमा तीनै तहका सरकार (सङ्घ, प्रदेश र स्थानीय) बिचको सहकार्य, समन्वय र सहअस्तित्वलाई मजबुत बनाउन कर्मचारीको क्षमता विकास अपरिहार्य मानिएको छ। यसले कर्मचारीको ज्ञान, सिप, दक्षता, व्यावसायिकता, नेतृत्व क्षमता र कार्यसम्पादनमा निरन्तर सुधार ल्याई प्रभावकारी, उत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। सरकारी जनशक्तिको क्षमता विकासका लागि विभिन्न आयामहरूलाई उच्च महत्व दिनुपर्ने देखिएको छ।
क्षमता विकासका प्रमुख दश आयामहरू यस प्रकार छन्:
- **ज्ञान व्यवस्थापन:** संविधान, सङ्घीयता, गणतन्त्र, लोकतन्त्रका सिद्धान्त, कानुन, नीति, योजना, बजेट तथा सार्वजनिक प्रशासनसम्बन्धी ज्ञानको अभिवृद्धि।
- **बुद्धि विकास:** बहुदलीय शासन प्रणालीको रणनीति, खुला तथा उदारीकरणको अर्थनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग र जनभावना बुझ्ने बुद्धिको विकास तथा नवीनतम सोचको प्रवद्र्धन।
- **सिप विकास:** आवधिक र वार्षिक योजना निर्माण, बजेट व्यवस्थापन, खरिद प्रक्रिया, अनुगमन तथा मूल्याङ्कन, तथ्याङ्क विश्लेषण, अभिलेख व्यवस्थापन र आधुनिक सूचना प्रविधिको प्रयोगसम्बन्धी सिप।
- **स्वभाव र व्यवहार विकास:** उच्च नैतिकता, अनुकरणीय इमानदारिता, उत्कृष्ट अनुशासन, सकारात्मक सोच, सेवाभाव, जवाफदेहिता र व्यावसायिक आचरणको विकास।
- **प्रभावकारी बोली र प्रस्तुतीकरण:** सरकारी सेवाको बजारीकरणको कला, कूटनीतिक सिप तथा असल अभ्यास एवं सेवा प्रवाहको विधि बताउन सक्ने क्षमता।
- **नेतृत्व तथा व्यवस्थापकीय क्षमता:** निर्णय क्षमता, समस्या पहिचान र समाधान, समूह परिचालन, समन्वय, संस्थागत नेतृत्व र उत्प्रेरणा विकास।
- **प्राविधिक क्षमता:** कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, प्राविधिक परीक्षण, वातावरण, विपत् व्यवस्थापनलगायत क्षेत्रगत प्राविधिक दक्षताको अभिवृद्धि।
- **संस्थागत क्षमता:** सङ्गठनात्मक छवि, संरचना, कार्यप्रणाली, कार्यवातावरण, आन्तरिक नियन्त्रण, सिकाइ प्रणाली, असल अभ्यासको अभिलेखीकरण र सेवाको बजारीकरणको सुदृढीकरण।
- **डिजिटल क्षमता:** विद्युतीय सेवा प्रवाह (ई-गभर्नेन्स), डिजिटल अभिलेख, अनलाइन सेवा, साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ताको उपयुक्त प्रयोग गर्ने क्षमता।
- **सिर्जनशीलताको विकास:** नवप्रवर्तन, साबिकका कार्यहरूलाई नयाँ ढङ्गबाट सम्पादन गरी सेवाग्राहीलाई अपेक्षित सन्तुष्टि प्रदान गर्ने कार्यशैलीको विकास।
नेपालको संविधानको धारा ५१ (ख) (४) ले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउने राज्यको नीति हुने स्पष्ट पारेको छ। यस लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सक्षम प्रशासनिक संयन्त्रको विकास तथा अन्तरसरकारी समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनु अपरिहार्य छ।
सरकारी कर्मचारीको क्षमता विकासलाई संस्थागत गर्न निजामती सेवा तालिम नीति, २०७१ जारी गरिएको छ। यस नीतिले तालिमलाई कर्मचारीको वृत्ति विकाससँग आबद्ध गर्ने, आवश्यकता पहिचानका आधारमा तालिम सञ्चालन गर्ने, गुणस्तर, प्रभावकारिता र उपलब्धि सुनिश्चित गर्ने, तालिम संस्थाबिच समन्वय कायम गर्ने तथा तालिमबाट प्राप्त ज्ञान र सिपलाई कार्यस्थलमा प्रयोग गर्ने वातावरण बनाउने कुरामा जोड दिएको छ। यसै गरी, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ ले सरकारी प्रशासनलाई सक्षम र व्यावसायिक बनाउने, व्यवस्थापन तथा प्रशासनसम्बन्धी ज्ञान र सिप विकास गर्ने, कर्मचारीलाई विकास व्यवस्थापन र सार्वजनिक नीति निर्माणमा दक्ष बनाउने लक्ष्य राखेको छ। प्रतिष्ठानले हालसम्म क्षमता विकासमा प्रशंसनीय भूमिका निर्वाह गर्दै आएको छ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सन् २०१८ मा तयार पारेको ‘कम्पिटेन्सी फ्रेमवर्क अफ सिभिल सर्भिस अफ नेपाल’ सरकारी कर्मचारीको क्षमता विकासका लागि महत्वपूर्ण सन्दर्भ दस्ताबेज हो। यसमा नैतिकता तथा सदाचार, नेतृत्व क्षमता, नतिजामुखी कार्यसम्पादन, सेवाग्राहीमैत्री व्यवहार, प्रभावकारी सञ्चार, रणनीतिक सोच तथा व्यवस्थापन, निर्णय क्षमता, समन्वय तथा सहकार्य, नवप्रवर्तन तथा परिवर्तन व्यवस्थापन र सिकाइ तथा ज्ञान व्यवस्थापनलाई उच्च महत्व दिइएको छ। यिनै गुणयुक्त कर्मचारीतन्त्रले मात्र मुलुकमा स्थायी र प्रभावकारी सरकारको आभास दिन सक्छ।
सरकारी जनशक्तिको क्षमता विकासबिना आम नागरिकमा प्रवाह हुने सेवाको प्रभावकारिता र विकास बजेटको खर्चमा गुणात्मक सुधार सम्भव छैन। यसका लागि प्रत्येक मन्त्रालय र निकायले मानव संसाधन विकास योजना तर्जुमा गरी लागु गर्नुका साथै तालिम आवश्यकता पहिचान गर्नुपर्छ। पेसागत विकास, नेतृत्व विकास, डिजिटल क्षमता, नैतिकता र सदाचार विकासमा निरन्तर लगानी र प्रयास आवश्यक छ। वित्तीय व्यवस्थापन, सङ्घीयता कार्यान्वयन, नतिजामुखी व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन, समावेशी प्रशासन र नवप्रवर्तनमा सरकारी जनशक्तिलाई निरन्तर प्रोत्साहित गर्नुपर्छ।
हाल, सरकारी कर्मचारीको क्षमता विकासका लागि तालिममा आधारित (सेवा प्रवेश, सेवाकालीन, पुनर्ताजगी, नेतृत्व विकास, विषयगत), कार्यस्थलमा आधारित (कार्यस्थलमै सिकाइ, मेन्टोरिङ, सहकर्मीबाट सिकाइ, अनुभव आदानप्रदान, अध्ययन भ्रमण) र संस्थागत (सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण, कार्यविवरण स्पष्टीकरण, ज्ञान व्यवस्थापन प्रणाली, सूचना प्रविधिको प्रयोग) गरी विभिन्न कार्यहरू भइरहेका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानसहित करिब दुई दर्जन सरकारी तालिम केन्द्र र प्रदेश सुशासन केन्द्रहरू यस कार्यमा क्रियाशील छन्। यी प्रयासहरूलाई अझ घनीभूत बनाउनु आवश्यक देखिन्छ, ताकि सङ्घ, प्रदेश र स्थानीय सरकारको सेवा प्रवाहलाई सर्वोत्कृष्ट तुल्याउन सकियोस्।
