गोरखापत्र अनलाइन
काठमाडौँ, चैत ११ गते । वीर अस्पतालले बिरामी उपचारमा क्रान्तिकारी फड्को मार्दै अत्याधुनिक ल्याब मेडिसिन स्पेक्ट–सिटी (SPECT-CT) उपकरण भित्र्याएको छ । यो उच्च प्रविधियुक्त मेसिनको जडान कार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । यसबाट क्यान्सर, मुटु, हड्डी तथा मिर्गौला जस्ता गम्भीर रोगहरूको निदान तथा उपचारमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।
अस्पतालका मेडिकल फिजिसिस्ट प्राडा. कञ्चनप्रसाद अधिकारीका अनुसार स्पेक्ट–सिटी प्रविधिले रोगको प्रारम्भिक चरणमै पहिचान गर्न, शरीरमा यसको फैलावटको मूल्याङ्कन गर्न र उपचारको प्रभावकारितालाई निगरानी गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । उहाँले स्पष्ट पार्नुभयो, “स्पेक्ट प्रविधिले अङ्गहरूको कार्य प्रणाली (फिजियोलोजी) देखाउँछ भने सिटी स्क्यानले संरचना (एनाटोमी) । यो उपकरणले दुवै पक्षको अध्ययन एकसाथ गर्दछ, जसले निदान अझ सटीक बनाउँछ ।” यस प्रक्रियामा बिरामीलाई सानो मात्रामा रेडियोएक्टिभ पदार्थ (आइसोटोप) इन्जेक्सनमार्फत दिइन्छ, जसबाट निस्कने गामा विकिरणलाई उपकरणले समातेर अङ्गको कार्यक्षमता र असामान्यता बारे विस्तृत इमेज तयार पार्छ ।
यो उपकरण विशेषगरी क्यान्सरको पहिचानमा अत्यन्त उपयुक्त मानिएको छ । साथै, मुटुको रक्तसञ्चार, हड्डीको सङ्क्रमण वा क्यान्सर फैलावट र मिर्गौलाको कार्यक्षमताको गहन अध्ययनका लागि पनि यो उपयोगी हुने डा. अधिकारीले बताउनुभयो । नयाँ उपकरण सञ्चालनमा आएपछि नेपाली बिरामीहरूले स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको उच्चस्तरीय सेवा प्राप्त गर्नेछन्, जसले विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । सरकारी अस्पताल भएकाले सर्वसाधारणलाई न्यून शुल्कमा यो अत्याधुनिक सेवा उपलब्ध गराइनेछ ।
वीर अस्पतालका अनुसार, रेडियोआइसोटोप नियमित उपलब्ध भएमा दैनिक २० देखि २५ जनासम्म बिरामीको परीक्षण गर्न सकिनेछ । यद्यपि, नेपालमा आइसोटोप उत्पादन गर्ने पूर्वाधार नभएकाले हाल यसलाई विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । स्पेक्ट–सिटी परीक्षणले एकै पटक धेरै जानकारी प्रदान गर्ने हुँदा अनावश्यक परीक्षणहरू घट्ने, समय र खर्च बचत हुने तथा उपचार छिटो सुरु गर्न सहज हुनेछ ।
विश्वका विकसित मुलुकहरूमा जटिल रोगहरूको निदानमा प्रयोग हुँदै आएको यो अत्याधुनिक स्पेक्ट–सिटी मेसिन भियनास्थित इन्टरनेसनल एटोमिक इनर्जी एसोसिएसन (आईएईए) ले वीर अस्पताललाई अनुदानस्वरूप प्रदान गरेको हो । यसको बजार मूल्य २० करोड रुपियाँभन्दा बढी आँकलन गरिएको छ । नेपालमा आवश्यक सबै कानुनी प्रक्रियाहरू पूरा भएपछि मात्र उपकरण भित्र्याइएको डा. अधिकारीले जानकारी दिनुभयो । यो उपकरण कुनै पनि सरकारी अस्पतालमा पहिलो पटक भित्रिएको हो, जसले सार्वजनिक स्वास्थ्य सेवामा नयाँ आयाम थपेको छ ।
यसअघि अस्पतालमा रहेको गामा क्यामेरा मेसिन बिग्रिएपछि करिब एक वर्षसम्म सेवा अवरुद्ध भएको थियो । भविष्यमा यस्ता समस्या दोहोरिन नदिने उद्देश्यका साथ अस्पतालले बिरामीबाट लिइने शुल्कको ५ देखि १० प्रतिशत रकम छुट्याई, उपकरण बिग्रिएमा त्यसको मर्मत सम्भारका लागि प्रयोग गर्ने योजना बनाएको डा. अधिकारीले बताउनुभयो । यस दीर्घकालीन योजनाले अत्याधुनिक सेवाको निरन्तरता सुनिश्चित गर्ने विश्वास लिइएको छ ।
