काठमाडौं, कात्तिक २७। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। लिग चरणको २४औं खेलमा प्राप्त यो महत्वपूर्ण जितसँगै सुदूरपश्चिम रोयल्स प्लेअफमा पुग्ने दोस्रो टोली बनेको हो।
त्रिवि क्रिकेट स्टेडियममा भएको रोमाञ्चक खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। सुरुवाती ब्याटरहरू सस्तैमा आउट भएपछि दबाबमा आएको रोयल्सको इनिङ्सलाई कप्तान दिपेन्द्र सिंह ऐरीले सम्हालेका थिए। उनले धैर्यपूर्ण ब्याटिङ गर्दै ५४ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले। ऐरीले १६.४ ओभरमा जहानदाद खानको बलमा ५४ रनमा हुँदा कप्तान करण केसीबाट जीवनदान पाएका थिए, जसको फाइदा उठाउँदै उनले टिमलाई सम्मानजनक योगफलतर्फ डोर्याए।
रोयल्सले पहिलो विकेटको रुपमा ओपनर स्कट कुगेलेइनलाई एक छक्का प्रहार गरेपछि गुमाएको थियो। त्यसपछि आएका ब्रान्डन म्याकमुलेन र इशान दुवै शून्य रनमा आउट हुँदा अर्का ओपनर विनोद भण्डारी पनि १ रन बनाएर एलबीडब्ल्यूको सिकार भएका थिए। शीर्षक्रमका चार ब्याटर सस्तैमा पेभेलियन फर्किँदा सुदूरपश्चिमको स्कोर निकै नाजुक अवस्थामा थियो। तर, कप्तान दिपेन्द्र र आरिफ शेखले पाँचौं विकेटका लागि महत्वपूर्ण ५४ रनको साझेदारी गर्दै टिमलाई संकटबाट जोगाएका थिए। आरिफ शेख १६ रन बनाएर रनआउट भए। दिपेन्द्रले छैटौं विकेटका लागि पनि ५४ रनकै साझेदारी निभाएका थिए। इनिङ्सको अन्त्यतिर थारिन्दु रत्नायके २६ रन र फाबियन एलन २ रनमा अविजित रहँदै टोलीलाई १२५ रनमा पुर्याए।
काठमाडौं गोर्खाजका लागि बलिङतर्फ जहानदाद खानले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। यस्तै, सन्तोष यादवले २ विकेट हात पारेका थिए।
१२६ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन मात्रै बनाउन सक्यो र ७ रनको हार बेहोर्यो। काठमाडौं गोर्खाजका लागि राशिद खानले सर्वाधिक ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ३१ बलमा ५ चौका प्रहार गरेका थिए। ओपनर साम ह्याज्लेटले ११ रन जोड्दा सन्तोष यादवले १० रनको योगदान दिए। भिम सार्की र सहान जयसुरिया शून्य रनमा आउट भएका थिए, जसले काठमाडौंको रन चेजमा ठूलो धक्का पुर्यायो। दुसान हेमन्थाले २१ रन बनाए भने करण केसी ८ रनमा क्याच आउट भए।
सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु काठमाडौंका ब्याटरहरू खुलेर खेल्न सकेनन्। रोयल्सका लागि बलिङतर्फ अनिल खरेलले २ विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। स्कट केगेलेइन, हेमन्त धामी र फाबियन एलनले समान १–१ विकेट हात पार्दै काठमाडौंलाई लक्ष्यसम्म पुग्न दिएनन्।
यो जितसँगै सुदूरपश्चिम रोयल्सले जारी प्रतियोगितामा आफ्नो प्लेअफको यात्रा तय गरेको छ, जसले टोलीमा उत्साह थपेको छ।
