तस्बिर स्रोत, Reuters
बाढीका कारण हजारौँ मानिस अझै अस्थायी शिविरमा बस्दै आएका छन्।
गत भदौ महिनामा भोटेकोशी र त्यसपछि त्रिशूली नदीमा आएको बाढीले सो क्षेत्रमा बसोबास गर्ने हजारौँ मानिसको जनजीवनमा गहिरो प्रभाव पारेको छ। यस प्रकोपले गर्दा त्यहाँका गर्भवती महिलाहरू थप जटिल चुनौती सामना गर्न बाध्य भएका छन्। घरबास उजाडिनुका साथै सडकमार्ग अवरुद्ध भएपछि नियमित स्वास्थ्य परीक्षण तथा औषधोपचारमा गम्भीर अवरोध आएको छ, जसले महिलाहरूलाई उच्च जोखिममा पारेको जानकारहरू बताउँछन्। वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार, यस प्रतिकूल परिस्थितिमा सन्तान जन्माउने तयारीमा रहेका गर्भवती महिलाहरूका लागि विशेष खानपान र सुरक्षित बसोबासको प्रबन्ध अपरिहार्य हुन्छ।
बाढीबाट अत्यधिक प्रभावित रसुवा जिल्लाका केही गर्भवती महिलाहरूले गर्भमा हुर्कँदै गरेका शिशुका लागि आवश्यक पोषणयुक्त खानेकुराको अभाव र विविध स्वास्थ्य जोखिमहरू झेलिरहेको बताएका छन्। उत्तरगया नगरपालिकाकी ३० वर्षीया नवीना घिमिरेले तेस्रो सन्तान जन्माउने तयारीका क्रममा आफूलाई डर लागेको बताएकी थिइन्। “खानपिनको राम्रो व्यवस्था छैन, राम्ररी जँचाउन पाएको छैन, बाटो नै छैन,” उनले भनेकी थिइन्। केही साताअघि त्रिशूली अस्पताल पुग्न उनलाई करिब साढे तीन घण्टा लागेको थियो। बाढीले बाटो बगाएको र बल्लबल्ल खुलेको बाटोमा पनि खाल्डाखुल्डी भएकाले गर्भमा रहेको बच्चालाई समेत गाह्रो भएको उनले अनुभव सुनाइन्। अस्पतालमा गर्भवती महिलाका लागि छुट्टै सेवा सुविधा आवश्यक रहेको र विपद्पश्चात् पोषिलो खानेकुराको अभाव खड्किएको उनको भनाइ छ। स्थानीय सरकारले एक पटक लिटोको पिठो, घिउ र गेडागुडी बाँडे पनि आफूले बेलैमा जानकारी नपाएको उनले गुनासो गरिन्।
रसुवाको उत्तरगया-४ की माइली लामा पनि तेस्रो सन्तान जन्माउने तयारीका बेला आइपरेको विपद्ले चिन्तित थिइन्। विपद्पछि उनले दुई महिनासम्म स्वास्थ्य चेकजाँच गर्न नपाएको बताइन्। “हेल्थपोस्टमा सामान्य बच्चाको धड्कन मात्र चेकजाँच हुन्छ, एक्स-रे गर्ने उपकरण पनि राम्रो छैन। अन्य अवस्था थाहा पाउन अस्पताल जानुपर्छ तर बाटो खाल्डाखुल्डी हुँदा समस्या भयो,” उनले भनिन्।
रसुवा जिल्लाको जनस्वास्थ्य कार्यालय अन्तर्गतको परिवार कल्याण तथा नर्सिङ शाखाकी चुनीसरा रानाका अनुसार, बाढी प्रभावित गर्भवती महिलाहरूलाई आवश्यक परेमा सुत्केरी उपचारका लागि हेलिकप्टरमार्फत् त्रिशूली र काठमाडौँका अस्पतालहरूमा पुर्याउने तयारी गरिएको छ। हाल नियमित चेकजाँच र मानसिक तनावका लागि परामर्श दिने काम भइरहेको भए पनि पोषिलो खानपानमा भने चुनौती कायमै रहेको राना बताउँछिन्। रसुवाको आमाछोदिङ गाउँपालिकास्थित स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी सृजना तामाङका अनुसार, हालसम्म पनि बाटोको चुनौती यथावत् छ। बाढीले पुल र सडक भत्काउँदा कतिपयलाई तुइन चढेर जोखिमपूर्ण यात्रा गर्न बाध्यता रहेको तामाङको भनाइ छ। हेलिकप्टर पनि तत्काल उपलब्ध नहुने र कागजपत्र मिलाएर नगरपालिका तथा जिल्लामा सम्पर्क गरेपछि मात्रै एक-दुई घण्टापछि आउने उनले बताइन्। “हामीले सकेसम्म स्वास्थ्यचौकीमा सुत्केरी गराउने प्रयास गर्छौँ। नभएपछि मात्र हेलिकप्टरका लागि खबर गर्छौँ,” तामाङले भनिन्।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार, विपद्को बेला गर्भवती महिलाहरूलाई थप जोखिम हुन सक्छ। यस अवस्थामा खानपानको ठूलो समस्या हुने भएकाले गर्भवती महिलाहरूले नियमित स्वास्थ्य चेकजाँचसँगै आइरन, क्याल्सियम, फोलिक एसिडजस्ता औषधि तथा सरकारले उपलब्ध गराउने आवश्यक खोपहरू अनिवार्य रूपमा सेवन गर्नुपर्छ।
सामान्य हिँडडुलका साथै पोषिलो खानेकुरा जस्तै दाल, भात, तरकारी, दही, दूध, हरियो सागपात, गेडागुडी, अण्डाजस्ता सन्तुलित आहार पर्याप्त मात्रामा खानुपर्ने गौतमले सुझाएका छन्। विपद्को बेला गर्भवती महिलाहरू सकेसम्म स्वास्थ्यचौकी वा अस्पतालको नजिक बस्नुपर्ने र सूचना आदानप्रदानमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। प्रसवपीडा सुरु भएमा, पानी बगेमा वा रगत बगेमा तुरुन्तै नजिकको स्वास्थ्य चौकी जानुपर्छ। व्यक्तिगत सुरक्षामा पनि ध्यान दिनुपर्ने र बच्चा जन्मिएपछि घर जाने बाटो अप्ठ्यारो भएमा सुत्केरीलाई सहज हुने सवारीसाधनको प्रयोग गर्न गौतमले सुझाव दिएका छन्। बाढीबाट प्रभावित गर्भवती महिलाहरूले अप्ठ्यारो बाटो यात्रा गर्दा गर्भपतनको जोखिम बढ्ने वा समय नपुगी प्रसवपीडा सुरु हुन सक्ने खतरा रहन्छ। बाढीले गर्दा डर र त्रासमा रहेका तथा आफन्त गुमाएका गर्भवती महिलाहरूलाई मानसिक रूपमा बलियो बनाउने र उनीहरूलाई खुशी राख्ने वातावरण सिर्जना गर्नुपर्छ। पोषिलो खानाको अभावमा कुपोषण, जन्मिएको बच्चामा तौल कम हुने, पुड्कोपन वा बच्चा सानो जन्मिने जस्ता समस्या देखा पर्न सक्ने भएकाले विपद्को बेला गर्भवती महिलाहरूको विशेष हेरचाहमा जोड दिनुपर्ने गौतमले बताए।
