तस्बिर स्रोत, किरण साक्ले/बीबीसी
पश्चिमी भारतकी ४७ वर्षीया रमाबाई रणवीरले कुनै औपचारिक तालिमबिना र खाली खुट्टै दौड प्रतियोगितामा सहभागिता जनाएर पहिलो स्थान हासिल गरेकी छन्। अगस्टमा आयोजित ३ किलोमिटरको सामुदायिक दौडमा उनको सहभागिताको मुख्य उद्देश्य पुरस्कार रकम जितेर आफ्ना दुई छोरीको पढाइ खर्च जुटाउनु थियो।
दौड जित्दा उनले ३,००० भारतीय रुपैयाँ (४,८०० नेपाली रुपैयाँ) प्राप्त गरिन्। यो रकम छोरीहरूका लागि केही पुस्तक र पठन सामग्री किन्न मात्रै पर्याप्त थियो। भारतमा उच्च शिक्षाको बढ्दो लागतको तुलनामा यो रकम अत्यन्तै न्यून थियो, जसले उनकी एक छोरीले लिइरहेको सरकारी जागिरको तयारी कक्षाको शुल्क पनि पूरा तिर्न सक्दैनथ्यो।
खाली खुट्टा दौडिएकी रमाबाईको भिडिओ सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल भएसँगै यसले व्यापक जनमानसको ध्यान खिच्यो। उनको कथाले भारतको शिक्षा प्रणालीमाथि थप बहस सिर्जना गरेको छ। सामाजिक सञ्जालमा कतिपयले यसलाई गौरवको विषय मानेका छन् भने कतिले समाजका लागि लज्जाको विषय भनी प्रश्न उठाएका छन्। रमाबाई धावक बन्ने कल्पनासमेत नगरेकी एक महिला भए पनि, शिक्षा पाएर आफ्ना सन्तानको जीवन राम्रो हुने आशामा भारतीय परिवारले गर्ने सङ्घर्षको प्रतीक बनेकी छन्।
दौडमा सहभागी हुने उनको निर्णय आफ्ना छोरीहरूका लागि थियो। बीड जिल्लास्थित आफ्नो घरबाट बीबीसी न्यूज मराठीसँग कुरा गर्दै उनले बताइन्, “मेरी ठूली छोरीले बिहानै आएर भनिन्, ‘आमा, म दौड प्रतियोगितामा भाग लिन चाहन्छु, पुरस्कारको पैसा जित्न सके पढाइमा सहयोग पुग्नेछ।’ नान्देडमा बस्ने उनकी कान्छी छोरी आरतीलाई किताब किन्न पैसा जुटाउन कठिन भइरहेको अवस्थामा मैले दौड जित्नैपर्छ भन्ने अठोट गरेँ।”
दौडने क्रममा उनका चप्पल फुस्किँदा उनले त्यसलाई फुकालिन्, सारी बलियोसँग बाँधिन् र खाली खुट्टै दौड पूरा गरिन्। उनले ३० देखि ६० वर्ष उमेर समूहको महिला वर्गमा प्रथम स्थान हासिल गरिन्। उनकी जेठी छोरी पूजा पनि आफ्नो उमेर समूहमा दोस्रो भइन् र पुरस्कार जितिन्। पूजाले आफ्नी आमालाई साहसी भन्दै प्रशंसा गरेकी छन्।
तस्बिर स्रोत, किरण साक्ले/बीबीसी
सन् २०१२ मा श्रीमान्को निधन भएयता रमाबाईको एक्लो कमाइले उनको परिवार चल्दै आएको छ। “मैले जे काम पाएँ, त्यही गरेँ। अरूका खेतमा भटमास र चना टिपेँ। बेसार बटुलेँ, पिसेँ र बेचेँ,” उनी आफ्नो सङ्घर्ष सुनाउँछिन्। १३ वर्षको उमेरमा विद्यालयको पढाइ छाडेकी रमाबाई आफ्ना छोरीहरूले आफूले कहिल्यै नपाएका अवसर पाऊन् र राम्रो शिक्षा ग्रहण गरून् भन्ने चाहन्छिन्।
लाखौँ भारतीय परिवारजस्तै, रमाबाई पनि आफ्ना सन्तानको भविष्य उज्ज्वल बनाउन शिक्षालाई महत्त्वपूर्ण माध्यम ठान्छिन्। उनकी एउटी छोरी प्रहरी भर्तीको तयारी गरिरहेकी छन् भने अर्की निजामती सेवाको। यी दुवै सरकारी जागिर सुरक्षित र प्रतिष्ठित मानिए पनि, त्यहाँ उत्तीर्ण हुनका लागि उच्च प्रतिस्पर्धाको सामना गर्नुपर्छ र वर्षौँको तयारी आवश्यक पर्छ। बारम्बार प्रश्नपत्र बाहिरिएको र अनियमितताका आरोपले परीक्षा प्रणालीप्रतिको विश्वास कमजोर बनाउँदै लगेको छ, जसले युवामा निराशा बढाएको छ।
तस्बिर स्रोत, किरण साक्ले/बीबीसी
रमाबाईको मार्मिक कथाले आम मानिसहरूसँगै भारतीय अधिकारीहरूको ध्यान पनि तान्यो। हालै भारतका प्रधानन्यायाधीश सूर्य कान्तले रमाबाईलाई ५०,००० रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउन स्थानीय अधिकारीहरूलाई निर्देशन दिएका छन्। विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष सुखदेव थोराटले यो परिवारको कथाले व्यापक संरचनागत चुनौती उजागर गरेको बताएका छन्।
रमाबाईका लागि भने यो बहस प्राथमिकताको विषय होइन। आफ्ना छोरीहरूको भविष्य राम्रो बनाउने कुरा नै उनका लागि सबैभन्दा महत्त्वपूर्ण छ। “म चाहन्छु, उनीहरूले मैले भोगेजस्तो कठिनाइ भोग्न नपरोस्,” उनी भन्छिन्। “उनीहरूले हिलोमा सङ्घर्ष गर्नु नपरोस्, उनीहरू म जस्तो चर्को घाम र झरीमा हिँड्न नपरोस्। मैले जस्तो दु:ख मेरा छोरीहरूले भोग्न नपरोस्।”
