गत भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीले जुम्लाका दर्जनौं परिवारलाई गहिरो शोकमा डुबाएको छ। बाढीले बगाएका प्रियजनको अत्तोपत्तो नहुँदा चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाका बासिन्दा अनिश्चितता र छटपटीमा दिन बिताइरहेका छन्। परिवारजनका आँखा अझै पनि घरको मूल ढोकाबाट हट्न सकेका छैनन्, मोबाइलको घण्टी बज्दा हराएका आफन्तको खबर आउने झिनो आशामा उनीहरूको मुटु जोडले धड्किन्छ।
चन्दननाथ नगरपालिका-१० बोहोरा गाउँका शारदाप्रसाद देवकोटाका ५१ वर्षीय कान्छा भाइ भानु देवकोटा विगत एक हप्तादेखि सम्पर्कविहीन छन्। तीन भाइमध्ये कान्छा भानु गोसाइँकुण्ड हुँदै मानसरोवरको धार्मिक यात्रामा निस्किएका थिए। रसुवागढी नाकाबाट हेलिकप्टरमार्फत मानसरोवरातर्फ जाने अन्तिम उडानको पर्खाइमा उनी सीमा नजिकै रोकिएका बेला लेदो र ढुङ्गासहितको प्रलयंकारी बाढी उर्लिएको थियो। परिवारका सदस्यहरूका अनुसार भदौ ९ गतेसम्म भानुको श्रीमती बिमा रोकाया (देवकोटा) सँग नियमित कुराकानी भइरहेको थियो, तर बाढी आएको दिनदेखि उनको फोन लाग्न छाड्यो। भानुका एक छोरा अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनरत छन् भने छोरी चितवनमा एमबीबीएस पढ्दैछिन्। बुवा बेपत्ता भएको खबरपछि परिवारका आफन्तहरू चितवन, पोखरा हुँदै रसुवाका अस्पताल तथा शवगृहहरूसम्म पुगे पनि उनको कुनै पत्तो लाग्न सकेको छैन। यद्यपि, परिवारले अझै पनि सकुशल भेटिने झिनो आशा त्यागेको छैन।
भोटेकोशीको बाढीले चन्दननाथको देवकोटा परिवार मात्र होइन, जुम्लाकै पातारासी गाउँपालिका-५ तल्लो लोर्पा गाउँका दर्जनौं विपन्न परिवारको निद्रासमेत खोसिदिएको छ। लोर्पा गाउँका अनमोल बुढा आफ्ना जेठा दाजु रुबिन बुढाको बाटो हेरेर बसिरहेका छन्। वैदेशिक रोजगारीको सपना बोकेर रसुवाको जलविद्युत् आयोजनामा मजदुरी गर्न पुगेका रुबिन पनि बाढी आएको दिनदेखि सम्पर्कविहीन छन्। अनमोलका अनुसार बाढी आउनुभन्दा एक दिनअघिसम्म दाइसँग कुरा भएको थियो, जहाँ उनले केही महिना काम गरेर विदेश जाने योजना सुनाएका थिए। सात जनाको बुढा परिवारको भविष्य र सपना रुबिनसँगै जोडिएको थियो। परिवारमा एक भतिजी, एक भतिजा र भाउजू आँसुमा डुबेका छन्। लोर्पा गाउँकै अर्का युवा हेमन्त बुढाको अवस्था पनि अहिलेसम्म अज्ञात छ। उनका ससुरा धर्मराज बुढा दिनरात ज्वाइँको पर्खाइमा छटपटाइरहेका छन्।
लोर्पा गाउँकी स्थानीय धनरुपा बुढाका अनुसार गाउँका धेरैजसो कमाउने युवाहरू बाढी प्रभावित क्षेत्रमै परेकाले पूरै गाउँ यतिबेला शोक र सन्नाटामा डुबेको छ। उनले भनिन्, ‘गाउँका कलिला युवाहरू रोजगारी नपाएर उतै काम गर्न गएका थिए, आज घरमा बूढा बा-आमा र साना छोराछोरीको बिचल्ली भएको छ। जलविद्युत् आयोजनाका क्याम्प नै बाढीले बगाएर बगर बनाइसकेपछि मान्छे फर्किने आशा पनि कम हुँदै गएको छ।’ धनरुपा बुढाले सरकारसँग आक्रोश र पीडासहित माग गरेकी छन्, ‘सरकारले हाम्रा दाजुभाइको कि सास खोजेर दिनुपर्यो कि लास बुझाउनुपर्यो।’
जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका जुम्लाका नागरिकमध्ये हालसम्म २८ जना मात्र परिवार तथा स्थानीय प्रशासनको सम्पर्कमा आएका छन्। अझै पनि जुम्ला जिल्लाका ७१ जना नागरिक पूर्ण रूपमा सम्पर्कविहीन अवस्थामा छन्। आफ्ना प्रियजनको खोजीका लागि कर्णालीका यी दुर्गम गाउँहरूबाट आफन्तहरू काठमाडौं, रसुवा र पोखराका अस्पताल, प्रहरी कार्यालय र अस्थायी शवगृहहरूमा पुगेर डीएनए नमुना बुझाउँदै आफ्ना मान्छेको खबर पर्खिरहेका छन्।
