बेत्रावतीमा बाढीको भीषण ताण्डव: एक पीडितको संघर्ष र सरकारी सहायताको याचना
१४ भदौ, बेत्रावती । भदौ १० गते बिहान नुवाकोटको बेत्रावती बजारमा एक्कासी आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्यायो। रसुवाको लाङटाङ हिमश्रृङ्खलाबाट झरेको पहिरोले भोटेकोशी नदी थुनिएर फुटेपछि आएको यो प्रकोपले सयौँ घर र पसलहरू बगाउँदै बेत्रावतीको जनजीवन अस्तव्यस्त बनायो। यस विनाशकारी घटनाका प्रत्यक्ष भोक्ता हुन् स्थानीय सन्तमान लामा।
सन्तमान लामाको लागि छोराछोरीलाई विद्यालय पुर्याउनु दैनिकीको सामान्य हिस्सा थियो। तर, भदौ १० गतेको त्यो बिहान भने उनको मनमा केही असहजता महसुस भयो। विद्यालयबाट फर्किएपछि घरभित्र पस्न मन नलागेर उनी आफ्नै पूजा सामग्रीको पसल रहेको घर अगाडि टक्क अडिए। घरछेवैका हार्डवेयर पसले साहुले उनलाई बाढीको सूचना दिँदै भने, ‘बेत्रावतीमा बाढी आउने कुरा सुने, यहाँ नबस् भनेको छ।’
बाढीको सूचना नौलो नभए पनि ‘यहाँ नबस् भनेको छ’ भन्ने वाक्य सन्तमानको कानमा गुञ्जिरह्यो। उनले श्रीमतीलाई घरबाहिर बोलाए र सूचनाबारे जानकारी गराए। हार्डवेयरका साहुले उनीहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै आफू खोला हेर्न जाने बताए। सन्तमान सम्झन्छन्, ‘मैले नजानुस्! भनेर हपारेको मात्र के थिएँ, खोला त आइ पो हाल्यो ! खोलाको पहिलो बहावले उहाँलाई लडाएर लगिहाल्यो।’
त्यस भयानक क्षणमा सन्तमानले ज्यान बचाउन ठूलो संघर्ष गर्नुपर्यो। ‘मेरो पछाडि श्रीमती थिइन् । मैले पहिला उनलाई च्याप्प समाते तर खोलाले न्याँकीहाल्यो। तै पनि बल्लतल्ल उचालेर श्रीमतीलाई माथि फ्याँके र त्यसपछि बुट्यान समातेर माथि उक्लिएँ।’ उनी सुरक्षित स्थानमा पुग्दासम्म उनको घर बाढीले बगाइसकेको थियो। छिमेकीको घर र परिवारका सदस्य समेत बगेको देखेर उनी भावुक बने। उनले दुईजनालाई बाढीबाट तान्न सफल भए पनि त्यसपछि उनीहरूको सम्पर्क नभएको बताए।
सुरक्षित स्थानमा पुगेपछि सन्तमानलाई छोराछोरीको चिन्ताले पिरोल्यो। उनले छिमेकीको मोबाइलबाट तत्काल विद्यालयमा सम्पर्क गरे। सौभाग्यवश, उनका दुवै सन्तान डाँडामा रहेको नीलकण्ठ विद्यालयमा सुरक्षित रहेछन्। ‘मैले चारजनाको मेरो परिवार बचाउन सफल भएँ,’ उनले सन्तोषको सास फेरे। यद्यपि, ज्यान जोगिए पनि सन्तमानसँग अहिले भौतिक रूपमा केही बाँकी छैन। घर बगेपछि उनी एकजोर लुगासमेत आफन्तसँग माग्नुपरेको अवस्था छ। ‘खाने बस्ने केही छैन, माग्नेको हालत भयो,’ उनले भावुक हुँदै सुनाए, ‘मैले महेनत गरेर जोडेको सम्पत्ति थियो।’

सन्तमानको थाप्लोमा अहिले २३ लाख रूपैयाँ ऋणको भारी छ। घर बनाउन लिएको यो ऋण बाढीले घर बगाएपछि तिर्न असम्भव देखिएको छ। उनलाई ऋणको चिन्ता र छोराछोरीको भविष्य कसरी सुनिश्चित गर्ने भन्ने प्रश्नले सताएको छ। ‘कहाँबाट तिर्नु अब ऋण ? बैंकले त बुझ्दैन मेरो पीरमर्का,’ उनी भन्छन्, ‘सरकारले राहत दियो भने जिन्दगी थप बाँच्न सकिएला।’ सन्तमानले सरकारसम्म आफ्नो आवाज पुर्याइदिन आग्रह गरेका छन्। बेत्रावतीका सयौं पीडितहरूलाई तत्काल सरकारी राहत तथा पुनर्स्थापनाको खाँचो छ। सरकारले यस्ता पीडितहरूको दीर्घकालीन समाधानका लागि विशेष पहल गर्नुपर्छ।
