काठमाडौं, भदौ १०, २०८३ बुधबार
बाढीपीडितको उद्धार र राहतमा जुट्न एमालेको राष्ट्रव्यापी निर्देशन
देशभर फैलिएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको जीवनरक्षा र मानवीय सहायताका लागि नेकपा एमालेले आफ्ना सम्पूर्ण पार्टीपंक्तिलाई तत्काल उद्धार तथा राहत कार्यमा खटिन निर्देशन दिएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले देशैभरिका नेता, कार्यकर्ता, जनसंगठनका सदस्यहरू र तीनै तहका जनप्रतिनिधिहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी विपद् व्यवस्थापनमा अग्रपंक्तिमा रहन विशेष निर्देशन जारी गरेको हो। प्राकृतिक विपत्तिको यस घडीमा नागरिकको साथमा उभिनु राज्य र राजनीतिक दलको प्रमुख कर्तव्य भएको भन्दै एमालेले सघन रूपमा उद्धार अभियान चलाउन आफ्ना संयन्त्रलाई सक्रिय पारेको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले बैठकको निर्णय सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली परिचालन गर्न र पीडितलाई आवश्यक राहत सामग्री पुर्याउन पार्टीका सदस्यहरूलाई निर्देशन दिइएको जानकारी दिए। पार्टीले राहत वितरण तथा पुनर्स्थापनाका कार्यमा कुनै विलम्ब नगरी जुट्न अपिल गरेको छ। आचार्यका अनुसार, बैठकले तीनै तहका सरकार, विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवा तथा आम नागरिकलाई पनि यस विपद्को सामना गर्न र पीडितको उद्धार तथा राहतमा एकजुट भएर लाग्न आह्वान गरेको छ। यो मानवीय संकटको घडीमा सबै पक्ष एक ठाउँमा उभिनुको विकल्प नभएको एमालेको ठहर छ।
सचिवालय बैठकले विपदमा परेका नागरिकहरूको जीवनरक्षा राज्यको पहिलो दायित्व भएकोमा जोड दिँदै सरकारसँग विभिन्न महत्त्वपूर्ण मागहरू राखेको छ। बेपत्ता भएका नागरिकहरूको तत्काल खोजी कार्यलाई तीव्रता दिन, जोखिममा रहेका बस्ती तथा समुदायका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूको दीर्घकालीन पुनस्र्थापनाको सुनिश्चितता गर्न एमालेले माग गरेको छ। बाढी र पहिरोले पुर्याएको क्षतिलाई न्यूनीकरण गर्न र पीडितलाई राहत दिनका लागि सरकारले विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधनस्रोत र विकल्पहरूलाई पूर्ण रूपमा परिचालन गर्नुपर्ने एमालेको भनाइ छ।
एमालेले प्रभावित क्षेत्रमा तत्कालीन तथा दीर्घकालीन राहत प्याकेज तुरुन्त घोषणा गर्न पनि सरकारसँग माग गरेको छ। यसमा खाद्यान्न, आश्रयस्थल, स्वास्थ्य सेवा र मनोवैज्ञानिक परामर्श लगायतका अत्यावश्यक सहयोग समावेश हुनुपर्नेमा जोड दिइएको छ। बाढीले भत्काएका भौतिक पूर्वाधार, सडक, पुल र घरहरूको पुनर्निर्माण तथा क्षतिग्रस्त कृषिक्षेत्रको पुनरुत्थानका लागि ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ। भविष्यमा यस्ता विपत्तिहरूको जोखिम कम गर्नका लागि दीर्घकालीन रणनीतिक योजनाहरू विकास गर्न र पूर्वतयारीका उपायहरू अपनाउन पनि बैठकले सरकारलाई आग्रह गरेको छ।
एमालेले आफ्ना कार्यकर्ता र जनप्रतिधिहरूलाई यस घडीमा पीडित नागरिकहरूको मनोबल उच्च राख्न र उनीहरूलाई आवश्यक सहयोग पुर्याउन कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ। विशेषगरी स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको परिचालन गरी महामारीको जोखिमलाई समेत नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ। विपद्को व्यवस्थापनमा राजनीतिकरण नगरी मानवीय सेवालाई प्राथमिकता दिनुपर्ने एमालेको अडान छ। पार्टीले यस अभियानमा सक्रियताका साथ सहभागी हुन सम्पूर्ण शुभचिन्तकहरूलाई पनि अपिल गरेको छ।
एमालेको यस निर्देशनले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। पार्टीले राष्ट्रिय विपद्को यस घडीमा सबैलाई एकताबद्ध भई काम गर्न र नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्न आह्वान गरेको छ।
