चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि त्रासको पर्याय बनेको जङ्गली भाले हात्ती ‘ध्रुवे’ लाई १० दिन लामो अथक प्रयासपछि नियन्त्रणमा लिई अत्याधुनिक स्याटेलाइट रेडियो कलर जडान गरिएको छ। यस कार्यले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण कदम चालिएको निकुञ्ज प्रशासनले जनाएको छ।
पश्चिम चितवनमा असार २० गते दुई जना स्थानीयको ज्यान गएपछि जनआक्रोश र त्रास बढेको थियो। यसै सन्दर्भमा निकुञ्ज प्रशासन, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले गहन खोजी अभियान चलाएको थियो। असार ३१ गते राति १०:३० बजे सुखीभार क्षेत्रबाट ध्रुवेलाई नियन्त्रणमा लिन टोली सफल भयो। बाढी, निरन्तरको झरी र बाक्लो झाडीका कारण चुनौतीका बावजुद तीन पालो (सिफ्ट) मा विभाजित भएर गरिएको अथक खोजीपछि टोलीले यो सफलता हासिल गरेको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनका अनुसार, यसपटक ध्रुवेलाई नियन्त्रणमा लिनु केवल प्राविधिक प्रयास मात्र थिएन। यसलाई उसको उग्र स्वभाव शान्त पार्ने र प्रविधिको उच्चतम प्रयोग गर्ने एक जटिल ‘मेडिकल अपरेसन’ को रूपमा लिइएको थियो। असार ३१ गते साँझ ७:०० बजे टोलीले ध्रुवेलाई प्रारम्भिक रूपमा लठ्ठ्याउन ‘जाइलाजिन’ औषधि प्रयोग गर्यो। पूर्ण रूपमा नियन्त्रणमा लिन र बेहोस बनाउन राति ९:३० बजे ‘जनरल एनेस्थेसिया एम९९’ प्रयोग गरियो। करिब ४० मिनेटको अवधिमा कलर जडान, दाह्रा काट्ने र आवश्यक औषधोपचारको काम सम्पन्न गरियो। त्यसपछि ब्युँझने औषधि दिएपछि ध्रुवे सकुशल जङ्गलतर्फ लागेको थियो।
हात्ती मत्त चढेका बेला अत्यधिक उग्र हुने जैविक चक्रलाई रोक्न यसपटक प्राविधिक टोलीले विशेष औषधिको प्रयोग गरेको छ। विगत २५ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत भेटेरिनरी प्राविधिक किरणराज रिजालले ध्रुवेको मत्त हर्मोन कम गर्न ‘जीएनआरएच एनालग’ नामक औषधि दिइएको जानकारी दिए। यो औषधिको प्रभाव ७२ घण्टापछि सुरु भई करिब डेढ महिनासम्म रहनेछ। यसैगरी, ध्रुवेले भौतिक संरचनामा क्षति पुर्याउन कम गरोस् र मनोवैज्ञानिक रूपमा उसको मनोबल घटाउने उद्देश्यले ६ इन्च दाह्रा काटिएको छ।
ध्रुवेको घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको यो चौथो पटक हो। निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार, यसपटक जडान गरिएको कलर पहिलेको भन्दा निकै अत्याधुनिक छ। यो नयाँ प्रणालीमा रहेको ‘जियो फेन्सिङ’ प्रविधिले ध्रुवे मध्यवर्ती क्षेत्र वा मानव बस्तीतर्फ प्रवेश गर्नासाथ हरेक १५–१५ मिनेटको छोटो अन्तरालमा निकुञ्ज प्रशासनलाई स्वचालित रूपमा सतर्कता सन्देश पठाउनेछ। यसले गर्दा सम्भावित मानवीय क्षति रोक्न तत्कालै उद्धार टोली परिचालन गर्न सहज हुने विश्वास लिइएको छ।
पहिलो पटक २०६६ साल मङ्सिरमा मानिस मारेपछि चर्चामा आएको ध्रुवे हात्तीको आक्रमणबाट हालसम्म २५ जनाले ज्यान गुमाइसकेका छन्। यसअघि प्रत्येक एक घण्टाको फरकमा मात्र भौगोलिक अवस्थाको विवरण प्राप्त हुने गरेकामा नयाँ प्रविधिले धप प्रभावकारी पहरेदारी गर्ने प्रमुख संरक्षण अधिकृत पुर्जापुनले विश्वास व्यक्त गरे। निकुञ्ज प्रशासनले आफ्नो शतप्रतिशत क्षमता लगाएर काम गरिरहेको अवस्थामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीय समुदायको सचेतता र सक्रिय सहयोग उत्तिकै आवश्यक रहेको अधिकारीहरूको भनाइ छ।
