२८ असार, काठमाडौं । राजधानीमा मेलम्चीको पानी प्रशोधन हुने सुन्दरीजल क्षेत्रका बासिन्दा वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्न बाध्य छन् । सिन्धुपाल्चोकबाट २७.५ किलोमिटर सुरुङमार्ग हुँदै सुन्दरीजल आइपुग्ने मेलम्चीको पानी यहीँ प्रशोधन भई राजधानीमा वितरण गरिए पनि, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित आपूर्ति नहुँदा स्थानीय काकाकुलको नियति भोगिरहेका छन् ।
मुहान क्षेत्रमै खानेपानी नपाएको विषयमा जनप्रतिनिधिले वर्षौंदेखि सरकारको ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन सकेको छैन । काठमाडौँ क्षेत्र नं ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वरमा खानेपानी समस्या समाधान नभए मेलम्चीको पानी आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । गत साता संसद्को सम्बन्धित समितिमा यस्तो भनाइ राखेका उनले शनिबार केयुकेएल प्रतिनिधिसँग सुन्दरीजलमै बैठक गरी समस्या समाधानको पहल गर्न निर्देशन समेत दिए ।
कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासकी सावित्री सापकोटाले १० लिटर खानेपानीका लागि गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारस्थित सार्वजनिक धारासम्म आधा घण्टा पैदल हिँड्नुपर्ने र पानी भर्न पालोका लागि दुई घण्टासम्म प्रतीक्षा गर्नुपर्ने बाध्यता सुनाइन् । ‘धारामा सधैँ लामो लाम हुन्छ, घण्टौँको प्रतीक्षा पछिमात्र पालो आउँछ,’ उनले दुखेसो पोखिन् । केशवप्रसाद पुडासैनीले दिगो व्यवस्थापन नहुँदा स्वच्छ खानेपानीको अधिकारबाट स्थानीयवासी वञ्चित हुनुपरेको गुनासो गरे ।
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले पाइप बिछ्याएर केयुकेएललाई हस्तान्तरण गरे पनि अपेक्षित रूपमा खानेपानी वितरण हुन नसकेको स्वीकार गरे । स्थानीयवासी प्रेम श्रेष्ठका अनुसार सुन्दरीजलस्थित पुरानो बागमती पानी प्रशोधन केन्द्र लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय क्षेत्रमा शुद्ध पानी वितरण प्रभावित भएको छ । उनले केन्द्रको मर्मत गरी नियमित पानी उपलब्ध गराउन माग गरे ।
केयूकेएलका प्रबन्ध निर्देशक रामरतन साहले सुन्दरीजल क्षेत्रमा खानेपानी अभावको मुख्य कारण पुरानो वितरण प्रणाली भएको बताए । पञ्चायतकालमा बनेको पुरानो पाइपलाइनले बढ्दो जनघनत्व धान्न नसकेकाले नयाँ वितरण प्रणाली निर्माण गर्ने विषयमा सांसद पाण्डेसँग सहमति भएको उनले जानकारी दिए ।
यसैबीच, सुन्दरीजलको बागमती नदीतर्फको पुरानो पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालनमा नआउँदा बौद्ध क्षेत्रसम्म वितरण हुने पानी धमिलो हुने गरेको अत्तरखेलका स्थानीयवासी नोर्साङ शेर्पाले गुनासो गरे । यस्तो पानी प्रयोग गर्दा कपडा राम्रोसँग सफा नहुने र नुहाएपछि शरीर चिलाउने समस्या हुने गरेको उनको भनाइ छ । नागरिक समाजले एक दशकदेखि यो विषय उठाउँदै आए पनि सम्बन्धित निकायबाट प्रभावकारी सुनुवाइ नभएको शेर्पाले बताए ।
