काठमाण्डूमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि सडकदेखि सदनसम्म चर्को आक्रोश उत्पन्न भएको छ। शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सरकारको कडा आलोचना गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। राष्ट्रिय सभामा त प्रधानमन्त्रीको राजीनामाको माग समेत उठेको छ।
गणेश नेपालीको मृत्युको खबर सार्वजनिक भएलगत्तै काठमाण्डूको माइतीघर मण्डलमा केही युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
गृहमन्त्री सुधन गुरुङले घटनाबारे पाँचसदस्यीय छानबिन समिति गठन गर्ने घोषणा गर्दै संसद्लाई निष्पक्ष छानबिन गरिने आश्वासन दिएका छन्। उनले सरकारको प्रयासका बाबजुद गणेश नेपालीलाई बचाउन नसकिएकोमा दुःख व्यक्त गरे।
तस्बिर स्रोत, Nepal Photo Library
तस्बिरको क्याप्शन, गणेश नेपालीको मृत्यु भएको खबर बाहिर आएसँगै माइतीघर मण्डलामा प्रदर्शन भएको छ
संसद्मा चर्को आलोचना
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद बासना थापाले घटनामा राज्य मूकदर्शक बनेको आरोप लगाइन्। उनले “शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन। बरु प्रहरी प्रशासन लगाएर अपराधीझैँ घिसारेर लग्यो,” भन्दै आक्रोश व्यक्त गरिन्। थापाले प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै राज्यको निरीहता र असफलतामाथि प्रश्न उठाइन्। उनले केही समयअघि भएका अन्य आत्महत्याका घटनाहरूसँग पनि यसलाई जोडेकी थिइन्।
नेकपा एमालेका सांसद ऐन महरले राज्यले नै नागरिकलाई आत्मदाह गर्ने अवस्थामा पुर्याएको आरोप लगाए। उनले “यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो,” भन्दै महानगर सरकारलाई जिम्मेवार ठहराए।
नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुनले उक्त घटना राज्यको असफलता हो वा होइन भनी प्रश्न गर्दै गरिब, दुःखी, विपन्न र सुकुम्बासीहरू राजधानीमा बाँच्न पाउँदैनन् भन्ने सङ्केत हो कि भनेर सरकारको ध्यानाकर्षण गराए। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले “सरकारकै कारण” गणेश नेपालीको ज्यान गएको आरोप लगाए।

तस्बिर स्रोत, Nepal Photo Library
तस्बिरको क्याप्शन, चिकित्सकहरूले प्रयास गर्दागर्दै गणेश नेपालीलाई बचाउन नसकिएको बताएका छन्
राष्ट्रिय सभामा राजीनामा माग
राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीका विष्णुबहादुर विश्वकर्माले गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै “यदि नैतिकता छ भने बालेन सरकार राजीनामा दिएर तुरुन्त सडकमा आओस्” भनी माग गरे। उनले जल्दै गरेका गणेश नेपालीप्रति “राम्रो व्यवहार नगरिएको” र “उचित तरिकाले अस्पताल नपुर्याइएको” आरोप समेत लगाउँदै संलग्न ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कारबाहीको माग गरे।
ट्राफिक प्रहरीको स्पष्टोक्ति
ट्राफिक प्रहरीले भने जरिवानाका कारण गणेश नेपालीले आत्मदाहको प्रयास गरेको दाबीको खण्डन गरेको छ। शुक्रबार एउटा विज्ञप्तिमार्फत ट्राफिक प्रहरीले “उक्त घटनामा ट्राफिक प्रहरीले निजलाई जरिवाना (फाइन) तिराएको र सोही कारणले आत्मदाहको प्रयास गरेको भनी फैलाइएका विवरणहरू पूर्णतः तथ्यहीन र भ्रामक रहेका छन्,” भन्दै ट्राफिक कारबाहीसँग घटनाको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। घटनाको वास्तविक कारणबारे अनुसन्धान अधिकारीहरूबाट कानुनी रूपमा अनुसन्धान अघि बढिसकेको उसले उल्लेख गरेको छ।

तस्बिर स्रोत, Nepal Photo Library
तस्बिरको क्याप्शन, प्रदर्शनकारीहरू वीर अस्पालतर्फ बढ्न खोजेका थिए
घटनाको विवरण
मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो काठमाण्डूको त्रिपुरेश्वरमा रोकिराखेको आफ्नो मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्वील लक’ लगाएको विषयमा विवाद भएलगत्तै आत्मदाह गरेका थिए। गम्भीर जलनका कारण अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था अस्थिर भएकाले तत्काल भारत लैजान नसकिएको सरकारले जानकारी गराएको थियो। तर, त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।
पुराना घटना र चर्चा
करिब साढे तीन वर्षअघि काठमाण्डूको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि इलामका उद्यमी प्रेमप्रसाद आचार्यले आत्मदाह गरेर ज्यान गुमाएको घटनासँग यसलाई तुलना गरिएको छ। तत्कालीन काठमाण्डूका मेयर वालेन्द्र शाह ‘बालेन’ले त्यस बेला आचार्यको आत्मदाहलाई “राज्यको चरम असफलता” को रूपमा चित्रण गरेका थिए। उनले राज्यका सबै अङ्ग असफल भएको तर्क गरेका थिए।
प्रेमप्रसाद आचार्यको मृत्यु हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए। उक्त घटना हुनुमा आफू पनि दोषी रहेको भन्दै लामिछानेले सामाजिक सञ्जालमार्फत् माफी मागेका थिए र नयाँ राजनीतिक दलले पनि आशा जगाउन नसकेको स्वीकार गरेका थिए।

तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, पछिल्लो घटनाबारे प्रधानमन्त्रीको तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति आएको छैन

तस्बिर स्रोत, Balen Shah/Facebook
तस्बिरको क्याप्शन, बालेन शाहको पुरानो पोस्टको अहिले चर्चा भइरहेको छ
