युएईमा शितगङ्गा सम्पर्क समितिको ‘असार १५ दही चिउरा तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न
दुबई, युएई:
रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीहरूबीच आपसी भाइचारा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले शितगङ्गा सम्पर्क समिति युएईको आयोजनामा ‘असार १५ दही चिउरा खाने तथा विविध सांस्कृतिक कार्यक्रम २०८३’ भव्यताका साथ सम्पन्न भएको छ।
जुन २८ तारिख (आइतबार) का दिन बरदुबईको शराफ डिजि मेट्रो स्टेसन (Exit 3) नजिकै रहेको जया किचनमा आयोजित उक्त कार्यक्रममा युएईमा कार्यरत नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो। ‘नेपालीहरूको सान हाम्रो संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै प्रवासमा पनि नेपाली मौलिक चाडको उल्लास छरिएको थियो।
औपचारिक कार्यक्रम र अतिथिहरू:
यस विशेष कार्यक्रम शितगङ्गा सम्पर्क समिति युएईका अध्यक्ष गणेश प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष जे. पी. पोखरेलको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, कलाकार तथा दर्शकहरूलाई सबिता खनाल पौडेलले आफ्नो स्वागत मन्तव्यमार्फत न्यानो स्वागत गर्नुभएको थियो।
सांस्कृतिक माहोल र मुख्य आकर्षण:
कार्यक्रम संयोजक हरि बि.सी.को कुशल व्यवस्थापनमा सम्पन्न यस कार्यक्रममा परम्परागत रूपमा दही र चिउरा खाने विशेष व्यवस्था गरिएको थियो। कार्यक्रमका मुख्य आकर्षणहरूमा अर्घाखाँचीको लोक लयमा गुन्जिने असारे भाका, प्रत्यक्ष नेपाली लोकदोहोरी र विविध सांस्कृतिक नृत्यहरू रहेका थिए।
दर्जनौं स्थानीय तथा आमन्त्रित कलाकारहरूको उत्कृष्ट प्रस्तुतिले उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्नुका साथै स्वदेशको झल्को मेटाएको थियो।
प्रमुख सहयोगी संस्थाको रूपमा ‘अर्घाखाँची सम्पर्क समिति युएई’ रहेको यस कार्यक्रमले नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्णले आपसी भेटघाट गर्दै असार १५ को शुभकामना आदान-प्रदान गरेका थिए। आयोजक शितगङ्गा सम्पर्क समिति युएईले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी संस्थाहरू, मिडिया पार्टनर, कलाकार तथा दर्शकहरूलाई विशेष धन्यवाद ज्ञापन गरेको छ।






