महाभारतको युद्धमैदानमा, जीवनका गम्भीर प्रश्न उठ्दा, वीर योद्धा कर्णले भगवान् श्रीकृष्णसमक्ष हृदयविदारक प्रश्नहरू राखे। उनले पीडा पोख्दै सोधे, ‘जन्मनासाथ मेरी आमाले मलाई त्यागिन्। के मैले अवैध सन्तानका रूपमा जन्म लिएको थिएँ? मेरो अपराध के थियो? आज मैले जे जति सम्मान र अवसर पाएको छु, त्यो सबै दुर्योधनको उदारताले गर्दा हो। यस्तोमा दुर्योधनप्रति वफादार रहनु मेरो कुन अपराध हो?’
श्रीकृष्णले कर्णका प्रश्नहरू धैर्यपूर्वक सुनेर मन्द मुस्कानसहित उत्तर दिए। उनले भने, ‘कर्ण, मेरो जन्म कारागारमा भएको थियो। जन्मिनुअघि नै मृत्युले मलाई पर्खिरहेको थियो। जन्मेकै रात मलाई यशोदाको घरमा पुर्याइयो। मेरो बाल्यकाल रथघोडाहरूको धमक र अस्त्रशस्त्रको छायामा बित्यो। मैले गाई चराएँ र गोबरसमेत सङ्कलन गरेँ। हिँड्न नसक्ने बेलामै ममाथि प्राणघातक हमला भए। मसँग न सेना थियो, न उचित शिक्षा, गुरुकुल वा महलको सुविधा। १६ वर्षसम्म औपचारिक शिक्षाबाट वञ्चित रहेँ। तिमीले मनपर्ने जीवनसाथी पायौ, मेरा धेरैजसो विवाह राजनीतिक बाध्यताले भए। मेरा मामा कंसले मलाई सबैभन्दा ठूलो शत्रु ठान्थे। शक्तिशाली जरासन्धको त्रासले मेरा कुटुम्बलाई यमुना किनारबाट सुदूर समुद्रको किनारमा द्वारका बसाउनुपर्यो, जसले संसारले मलाई कायरको उपमा दियो। तिमीहरूले वीरताका लागि गुरुजन र समाजबाट प्रशंसा प्राप्त गरिरहँदा, म भने शिक्षा र अवसरको अभावमा थिएँ। यो धर्मयुद्ध हो, र धर्मको विजय हुनेछ, जसको श्रेय अर्जुनलाई प्राप्त हुनेछ।’
‘हे कर्ण,’ श्रीकृष्णले गम्भीर हुँदै भने, ‘यो संसारमा चुनौतीबिनाको कुनै जीवन हुँदैन। हरेक व्यक्तिको जीवनमा कमजोरी वा असफलता हुन्छ। दुर्योधनमा केही कमीहरू थिए भने युधिष्ठिरमा पनि आफ्नै त्रुटिहरू थिए। सत्य के हो, चित्तशुद्ध के हो, यसको निर्धारण हाम्रो अन्तर्मनको आवाजले गर्छ। हामीमाथि कति पटक अन्याय भयो, कति पटक अपमानित भयौँ वा हाम्रा हकहरूको हनन गरियो, यसले खासै फरक पार्दैन। महत्त्वपूर्ण कुरा त हामी ती विषम परिस्थितिहरूको सामना कसरी गर्छौं।’
जीवनमा कहिलेकाहीँ हामीमाथि वा हाम्रो माध्यमबाट केही गलत घटनाहरू घट्न सक्छन्। तर, ती घटनाहरूले हामीलाई गलत कार्यतर्फ धकेल्नुहुँदैन। बरु, त्यस्ता अनुभवहरूबाट पाठ सिक्दै आत्मविश्वासी भई अगाडि बढ्नुपर्छ। हामी एउटा परिस्थितिको लागि अर्को परिस्थितिको जिम्मेवारी लिन सक्दैनौं। अन्ततः, जीवनको सङ्घर्ष र कर्मले नै हाम्रो भाग्यको निर्धारण गर्छ।
‘ईश्वरले हामीलाई विवेकशील मस्तिष्क प्रदान गरेका छन्,’ उनले थपे, ‘जसको सही वा गलत प्रयोग गर्ने सम्पूर्ण जिम्मेवारी हाम्रो हो। कर्म गर्न हातखुट्टा दिएका छन्, तर कुन बाटोमा हिँड्ने भन्ने निर्णय गर्ने अधिकार पनि हामीमै निहित छ। जीवनको सङ्घर्ष अनिवार्य छ। कृष्णजस्तै दृढतापूर्वक सामना गर्ने वा कर्णजस्तै नियतिको सिकार बन्ने—यो निर्णय अन्ततः हामी आफैँले गर्नुपर्छ। यस संवादले जीवनका चुनौतीहरूलाई कसरी सामना गर्ने भन्नेबारे गहिरो प्रेरणा दिन्छ।’
