तस्बिर स्रोत, EPA
सरकारले आगामी मनसुनजन्य विपद् र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि मनसुन कमान्ड पोस्टलाई थप प्रभावकारी बनाउने भएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने अनुमान गरे पनि बाढी पहिरोका घटना कम नहुने भन्दै पूर्वतयारीमा जोड दिइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) अनुसार, विभागको पूर्वानुमानलाई आधार मानी केन्द्र, स्थानीय र सुरक्षा निकायलगायत सबै सचेत रहँदै क्षति न्यूनीकरणमा काम गरिनेछ। हिमपहिरो वा खडेरी जस्ता समस्या पनि आउन सक्ने भएकाले प्राधिकरण सबै प्रकारका विपद्लाई ध्यानमा राखेर तयारी अवस्थामा रहेको दाबी गर्छ। विज्ञहरूले पूर्वानुमानलाई गम्भीरतापूर्वक लिई त्यसअनुसार तयारी गर्ने र प्रभावित बासिन्दालाई सचेत गराउन सकेमा विपद्को क्षति घटाउन सकिने बताएका छन्।
नेपालमा प्रत्येक वर्ष मनसुनजन्य विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति हुँदै आएको छ। गत वर्ष अत्यधिक वर्षा भए पनि सरकारी निकायहरूको सक्रियता र पूर्वतयारीले क्षति उल्लेख्य मात्रामा घटाउन सफल भएको निष्कर्ष प्राधिकरणले निकालेको थियो। विपद् पोर्टलको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष (२०८० जेठ ७ देखि २०८१ जेठ ७ सम्म) मनसुनजन्य बाढी तथा पहिरोमा १०४ जनाले ज्यान गुमाए, ३१ बेपत्ता र ९९ घाइते भए। त्यसअघिको आर्थिक वर्ष (२०७९ जेठ ७ देखि २०८० जेठ ७ सम्म) भने ४४७ जनाको मृत्यु, ६७ बेपत्ता र ३३५ घाइते भएका तथ्याङ्क छ। गत वर्ष पूर्वानुमान अनुसार जनतासम्म सूचना पुर्याई सरोकारवाला निकायहरू सचेत रहँदा क्षति न्यूनीकरणमा सफलता प्राप्त भएको विज्ञहरूको भनाइ छ।
यो वर्षको मनसुनी अनुमान कस्तो छ?
तस्बिर स्रोत, EPA
तस्बिरको क्याप्शन, दुई वर्षअघिको बर्खायाममा पानी पर्दा काठमाण्डूका कतिपय ठाउँबाट सुरक्षाकर्मीले मानिसहरूको उद्धार गर्नुपरेको थियो
जल तथा मौसम विज्ञान विभागले यस वर्ष देशका धेरैजसो स्थानमा मनसुनमा कम पानी पर्ने पूर्वानुमान गरेको छ। प्रायः जुन १३ मा मनसुन सुरु हुने गर्छ, तर यस वर्ष केही चाँडै सुरु हुनसक्ने अनुमान गरिए पनि निश्चित मिति यकिन छैन। भारतको केरलामा मे २६ मा मनसुन सुरु हुने विवरण आए पनि त्यसकै आधारमा नेपालमा अनुमान गर्न कठिन हुने विभागले जनाएको छ। वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार, “केरलामा मनसुन सुरु भए पनि कहिलेकाहीँ नेपाल नजिकै आएर अड्किन्छ।” उनले कम पानी पर्ने अनुमान गरिए पनि बाढी पहिरोका घटना कम नहुने स्पष्ट पारिन्। “पानी कम पर्ने तर परेको बेला एकै पटक बेस्सरी पर्दा विपद् हुन्छ। लामो समय खडेरी रही एकै पटक बाढी आउने प्रवृत्ति पनि देखिएको छ,” पोखरेलले भनिन्।
सरकार कति तयार?
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य घटना कम गर्न र विपद् आइहालेमा राहत उद्धारका लागि ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना’ स्वीकृत गरी कार्यान्वयन गरिरहेको छ। प्रवक्ता शान्ति महतले कार्य योजनामा क्षति कम गर्ने पूर्वतयारीका साथै विपद् आइहालेमा कसको के जिम्मेवारी रहने स्पष्ट तोकिएको बताइन्। मनसुन कमान्ड पोस्टको भूमिका महत्त्वपूर्ण छ। महतका अनुसार, “भारी वर्षाको पूर्वानुमान हुने बित्तिकै विपद्को सम्भावनालाई मध्यनजर गरी चौबीसै घण्टा खटिने कमान्ड पोस्ट स्थापना गरिएको छ। यसले रियल टाइम डेटा हेरेर तुरुन्त स्रोत परिचालन, समन्वय र उच्च सतर्कता गराउँछ।” प्रभावित क्षेत्रमा रिङ टोन र एसएमएसमार्फत सूचना प्रवाह गरिने योजना रहेको महतले जानकारी दिइन्।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दीपक अर्यालले मनसुनजन्य विपद्, विशेषगरी बाढी र पहिरोका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वानुमानअनुसार सतर्क रहनुपर्नेमा जोड दिएका छन्। उनले गत वर्ष सरकारले पूर्वानुमानलाई गम्भीरतापूर्वक लिँदै स्थानीय निकायहरू सचेत रहँदा अत्यधिक वर्षा भए पनि क्षति न्यूनीकरणमा सफलता मिलेको उदाहरण प्रस्तुत गरे। अर्यालले पूर्वानुमानलाई ध्यान दिई सचेत बन्न र त्यसका लागि स्थानीय निकाय, सरकारी विद्यालयलगायत सबै सरोकारवाला निकाय परिचालन गर्नुपर्ने बताए। सरकारले गर्ने भरपर्दो पूर्वानुमानलाई सरकार र प्रभावित बासिन्दाले कडाइका साथ पालना गरेमा क्षति धेरै हदसम्म कम हुने उनको विश्वास छ।
