काठमाडौं, चैत २८ गते। नेपाली भाषासाहित्यको विकासमा नेपाल र भारतबीचको प्राज्ञिक सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्यले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ। समालोचक एवं साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीले शङ्खघन्टध्वनिका साथ सम्मेलनको उद्घाटन गर्नुभएको थियो। यस त्रिदिवसीय सम्मेलनको आयोजना नइ एकेडेमीले गरेको हो, जसले दुई देशका विश्वविद्यालयहरूमा नेपाली भाषाको पठनपाठन र अनुसन्धानको वर्तमान अवस्था तथा भावी दिशाबारे गहन छलफलको वातावरण सिर्जना गरेको छ।
सम्मेलनको उद्घाटन समारोहमा प्रमुख अतिथि डा. त्रिपाठीले नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक बृहत् ग्रन्थको लोकार्पण गर्नुभयो। यो ग्रन्थ नेपाली भाषासाहित्यको इतिहास, पाठ्यक्रम, अनुसन्धान र प्राध्यापनमा नेपाल तथा भारतका विश्वविद्यालयहरूको योगदानलाई समेट्ने एक महत्त्वपूर्ण दस्तावेजका रूपमा प्रस्तुत भएको छ।
ग्रन्थ लोकार्पणपश्चात् समारोहमा बोल्दै प्रा.डा. त्रिपाठीले नइ एकेडेमीले आफ्नै आन्तरिक साधनस्रोतमा आयोजना गरेको यो तीनदिने सम्मेलनमा नै यति उच्च प्राज्ञिक खोजपूर्ण बृहत् ग्रन्थसमेत प्रस्तुत हुनु अविस्मरणीय र ऐतिहासिक क्षण भएको बताउनुभयो। उहाँले यस कार्यलाई ‘सुनमा सुगन्ध’ को योगजस्तो भनी टिप्पणी गर्दै यसले नेपाली भाषासाहित्यको अध्ययन र अनुसन्धानका लागि नयाँ मार्ग खोल्ने विश्वास व्यक्त गर्नुभयो।
‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक सो ग्रन्थ रोयल साइजमा ८७२ पृष्ठमा विस्तृत भई पूर्ण बनेको छ। यसमा नेपाल तथा भारतका विश्वविद्यालयबारेका २५ ओटा गहन आलेखहरू आबद्ध छन्। यी आलेखहरू नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली विषयको प्राध्यापन र अनुसन्धान कार्यमा संलग्न साधकहरूद्वारा लिखित छन्। ग्रन्थले नेपाली विषयको पठनपाठनको इतिहास, तिनका पाठ्यक्रम तथा अनुसन्धानको अद्यावधिक इतिवृत्तलाई समेटी प्राज्ञिक वृत्तमा एक महत्त्वपूर्ण सन्दर्भ सामग्रीको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित त्रिदिवसीय सम्मेलनको दोस्रो दिनको समारोहमा विभिन्न विद्वान तथा प्राज्ञिक व्यक्तित्वहरूले आआफ्ना मन्तव्य प्रकट गर्नुभएको थियो। उक्त समारोहमा प्रमुख अतिथि समालोचक प्रा.डा. वासुदेव त्रिपाठी, शिवगोपाल रिसाल, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. दिवाकर प्रधान, प्रा.डा. कविता लामा, प्रा. केशव सुवेदी, सम्मेलनका संयोजक प्रा.डा. महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले सम्मेलनको सान्दर्भिकता र यसले पार्ने प्रभावबारे प्रकाश पार्नुभएको थियो।
सम्मेलनमा नइ एकेडेमी र नेपालका विश्वविद्यालयका दस्ताबेजबारे डा. त्रिभुवन बरईले महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, नेपाल तथा भारतका विश्वविद्यालयका कार्यपत्रबारे डा. अम्बिका अर्यालले आफ्नो मन्तव्य प्रकट गर्नुभएको जानकारी नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले दिनुभयो। यस सम्मेलनले नेपाल र भारतबीचको सांस्कृतिक तथा शैक्षिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपाली भाषासाहित्यको विश्वव्यापीकरणमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ।

