उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम आयोगले सात वर्षको अवधिमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै मुस्लिम समुदायको अधिकार, पहिचान र सशक्तीकरणका लागि अझ प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताएका छन्। आयोगको सातौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेको समानता, न्याय र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मूर्तरूप दिन आयोगको भूमिका महत्त्वपूर्ण रहेको स्पष्ट पारे।
उपराष्ट्रपति यादवले मुस्लिम आयोगले शिक्षा, रोजगारी, महिला सशक्तीकरण, सामाजिक सद्भाव प्रवर्द्धन र सांस्कृतिक उत्थानका क्षेत्रमा गरेका कार्यहरू उल्लेखनीय रहेको बताए। यी प्रयासले मुस्लिम समुदायलाई राष्ट्रिय विकासको मूल प्रवाहमा जोड्न र जीवनस्तर उकास्न टेवा पुगेको उनको भनाइ थियो। आयोगको स्थापनाले समुदायको हकहित र पहिचान संरक्षणमा सकारात्मक प्रभाव पारेको उनले उल्लेख गरे।
‘नेपालको इतिहास, संस्कृति, व्यापार, शिक्षा, कला र सामाजिक सद्भावमा मुस्लिम समुदायले पुर्याएको योगदान अमूल्य र अतुलनीय छ’, उपराष्ट्रपति यादवले भने, ‘राष्ट्रिय एकता र सहिष्णुताको जग बसाल्न यस समुदायको भूमिका अविस्मरणीय छ।’ उनले आयोगले अब अझ उज्ज्वल यात्राको सङ्कल्प लिँदै त्यसका लागि ठोस कार्यक्रमहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।
उनले मुस्लिम युवाहरूका लागि गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न तथा निजामती सेवा, न्याय सेवा, सेना–प्रहरी र कूटनीतिक निकायजस्ता राज्यका प्रमुख संयन्त्रहरूमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए। यसबाट राष्ट्रिय सेवामा मुस्लिम समुदायको सहभागिता बढ्ने र समावेशी राज्यको परिकल्पना साकार हुने विश्वास व्यक्त गरे।
उपराष्ट्रपति यादवले मुस्लिम महिलालाई सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्षम बनाउने कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकतामाथि पनि प्रकाश पारे। महिला सशक्तीकरणबिना समुदायको समग्र विकास सम्भव नहुने भन्दै उनले महिलाहरूलाई निर्णय निर्माण प्रक्रियामा सहभागी गराउन प्रोत्साहन गर्नुपर्ने बताए।
‘नेपाल विविधता र सहअस्तित्वको सुन्दर बगैंचा हो, जहाँ विभिन्न जातजाति, भाषाभाषी र धर्मका फूलहरू फुल्छन्,’ उपराष्ट्रपति यादवले थपे, ‘मुस्लिम समुदायले आफ्नो विशिष्ट संस्कृति, परम्परा र विश्वासका फूलहरू फुलाउँदै यस साझा पहिचानलाई अझ सुगन्धित बनाएको छ, जसले हाम्रो राष्ट्रिय एकतालाई थप बलियो बनाएको छ।’
उनले मुस्लिम आयोगले समुदायको अधिकार प्रवर्द्धन, क्षमता विकास तथा सशक्तीकरणका कार्यक्रमहरूलाई अझ प्रभावकारी र परिणाममुखी ढङ्गले कार्यान्वयन गरी सुखी, समृद्ध र आत्मनिर्भर मुस्लिम समुदाय निर्माणमा अग्रणी भूमिका खेलोस् भन्ने शुभेच्छा व्यक्त गरे। आयोगले समुदायमा शिक्षा, स्वास्थ्य र आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्न थप पहल गरोस् भन्ने उनको आग्रह थियो।
यसै अवसरमा उपराष्ट्रपति यादवले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा आज मनाइँदै गरेको ईद–उल–फित्रको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गरे। समारोहमा मुस्लिम समुदायका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो, जसले समुदायमा थप प्रेरणा प्रदान गर्नेछ।
प्रकाशित: ७ चैत्र २०८२ १९:०५ शनिबार
