देशका मुख्य सडकहरूमा अवरोध, आइतवारसम्म वर्षाको सम्भावना
तस्बिरको क्याप्शन, वर्षाले गाडी चिप्लने अवस्थाले महेन्द्र राजमार्गको दाउन्ने खण्डमा अवरोध देखा परेको छ
शुक्रवारदेखि सक्रिय बनेको मौसमी प्रणालीका कारण देशका अधिकांश भागमा वर्षा भई विभिन्न मुख्य सडकहरूमा अवरोध उत्पन्न भएको अधिकारीहरूले जनाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार, आइतवारसम्म पनि वर्षा जारी रहने पूर्वानुमान रहेकाले यात्रुहरूलाई विशेष सजगता अपनाउन आग्रह गरिएको छ।
शनिवार मध्यान्ह प्राधिकरणले दिएको जानकारीअनुसार, मध्यपहाडी राजमार्गको रुकुम पूर्व र बागलुङ जोड्ने खण्ड हिमपातका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी, महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा वर्षाका कारण बाटो चिप्लिएर दुईतर्फी यातायात अवरुद्ध भएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले कान्ति लोकपथ र बीपी राजमार्ग भने खुलाइएको जानकारी दिँदै वर्षा जारी रहेकाले आइतवारसम्मै सजग रहन र सडकको अवस्था राम्रोसँग बुझेर मात्र यात्रा गर्न सुझाव दिएकी छन्। प्रहरी एवं हाम्रा संवाददाताहरूका अनुसार, देशका अन्य ठूला तथा साना सडकहरूमा पनि कतै पूर्ण त कतै एकतर्फी अवरोधहरू देखा पर्ने र ती पन्छाउने काम निरन्तर भइरहेको छ।
नेपाल प्रहरीले शनिवार बिहान धुलिखेल र बर्दिबास जोड्ने बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको थियो। तर, मध्यान्हसम्ममा स्थानीय निकाय, सुरक्षाकर्मी र सडक अधिकारीहरूको पहलमा उक्त मार्ग खुलाइएको प्राधिकरणले पुष्टि गरेको छ। स्मरण रहोस्, यो सडक डेढ वर्षअघिको विध्वंसकारी वर्षाबाट करिब १२ किलोमिटर क्षतिग्रस्त बनेको थियो र गत असोजमा पनि वर्षाले ठूलो क्षति पुर्याएको थियो।
यसैबीच, केआई सिंह राजमार्गको डडेलधुरा खण्डमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा खण्डमा पनि पहिरोले सडक अवरुद्ध पारेको अधिकारीहरूले बताएका छन्। मध्यपहाडी लोकमार्गको रुकुम पूर्वका विभिन्न स्थानमा हिमपातका कारण सवारी साधनहरू अघि बढ्न सकेका छैनन्।

मौसमविद्हरूका अनुसार, शनिवार रातीबाट जारी पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु प्रणालीको मिश्रित अवस्था केही कमजोर हुन थालेको भए तापनि आइतवारसम्म वर्षाको पूर्वानुमान कायम छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले “प्रिमनसुनका बेला छोटो अवधिमै धेरै वर्षा हुने भएकाले थप सजग हुन आवश्यक हुन्छ” भनेका छन्।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, शनिवार देशभर अधिकांश ठाउँमा बादल लागेको थियो। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन एवं चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात भएको थियो। विभागले शनिवार कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरेको छ।

तस्बिर स्रोत, RSS
शुक्रवारदेखि सक्रिय बनेको यस प्रणालीका कारण गत चौबिस घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा रेकर्ड गरिएको थियो। विभागका अनुसार, पाल्पाको बड्याङ्गढीमा ९२.२ मिलिमिटर, रुपन्देहीको तिलोत्तमामा ८१ मिलिमिटर, मोरङमा ६१.६ मिलिमिटर, दाङको अम्बापुरमा ६८ मिलिमिटर, र राप्तीको कुशुममा ५८.८ मिलिमिटर पानी परेको थियो। कुनै स्थानमा २४ घण्टाभित्र ५० देखि १०० मिलिमिटर वर्षा भएमा त्यसलाई ‘भारी वर्षा’ का रूपमा गणना गर्ने गरिन्छ।

तस्बिर स्रोत, RSS
हाल प्रिमनसुनको समय रहेकाले अपराह्नपछाडि हावाहुरी चल्ने सम्भावना समेत रहने भन्दै विभागले यात्रा एवं हिँडडुलमा थप सजग रहन सर्वसाधारणलाई सुझाएको छ। तीन दिनको पूर्वानुमानअनुसार, सोमवार दिउँसो देशको पहाडी र हिमाली भू-भागमा सामान्यतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि उपलब्ध छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। बीबीसी नेपाली सेवाको कार्यक्रम सोमवारदेखि शुक्रवारसम्म बेलुकी पौने नौ बजे रेडिओमा सुन्न सकिन्छ।
