तस्बिर स्रोत, Reuters
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ हाल ‘विज्ञहरूसँग गहन परामर्शमा’ रहेको उक्त दलका एक उच्च पदाधिकारीले बीबीसीलाई जानकारी दिएका छन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत प्राप्त गरी सरकार बनाउने तयारीमा रहेको रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बालेन अनुपस्थित रहेपछि उनको भूमिका र उपस्थितिबारे चासो बढेको थियो।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार, बालेन विज्ञहरू र पार्टीका नेताहरूसँग निरन्तर छलफलमा व्यस्त छन्। स्वास्थ्य नाजुक रहेकाले स्वास्थ्यलाभ गर्दै उनी अहिले नयाँ सरकारमा कसरी काम गर्ने, मुख्य प्राथमिकताहरू केके हुन् र जनताको परिवर्तनको अपेक्षालाई कसरी सम्बोधन गर्ने भन्नेबारे सरसल्लाह गरिरहेका छन्। चुनावका बेला पनि बालेन अस्वस्थ भएको विवरण आएका थिए। बुर्लाकोटीले प्रधानमन्त्री पदका सम्भावित दावेदार बालेनसँग आफ्नो भेट तीन दिनअघि भएको बताए पनि परामर्शमा रहेका विज्ञहरूको सूची खुलाएनन्।

तस्बिर स्रोत, Nepal Photo Library
रास्पाले मङ्गलवार र बुधवार गरी नवनिर्वाचित सांसदहरूका निम्ति परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रम राखेको थियो
बालेनको अनुपस्थितिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएका छन्। कतिपयले यसलाई ‘अहंकार’ भन्दै आलोचना गरेका छन् भने, केहीले उनी सरकार गठनको महत्त्वपूर्ण कार्यमा व्यस्त रहेको भन्दै बचाउ गरेका छन्। रास्वपाको अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक रहेकी सूचना प्रविधिविज्ञ दोभान राईले फेसबुकमार्फत बालेनको अनुपस्थितिमाथि प्रश्न उठाउँदै उनले कम्तिमा उपस्थित भएर वा सामाजिक सञ्जालमार्फत आफ्ना सहकर्मी सांसदहरूलाई धन्यवाद दिनुपर्ने बताएकी थिइन्। उनले मेयर पद छोडेर चुनावी यात्रामा जाँदा पनि बालेनले कुनै सम्बोधन वा माफी नमागेको प्रसङ्ग स्मरण गराउँदै यसलाई ‘सामन्ती पारा’ को संज्ञा दिइन्। यद्यपि, बालेन निकट एक रास्वपा सांसदले भने कार्यक्रममा बालेन उपस्थित हुने तालिका नै नरहेको दाबी गर्दै उनी सरकारको नेतृत्वका लागि पूर्वतयारीमा व्यस्त रहेको बताए।

तस्बिर स्रोत, Nepal Photo Library
सांसदहरूको शपथग्रहणका लागि सिंहदरबारभित्र अस्थायी हल तयार पारिँदै
निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएसँगै नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अघि बढेको छ। आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई बिहीवार प्रमाणपत्र पनि प्रदान गरेको छ। जम्मा २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी १८२ सीट जितेको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार, आयोगको प्रतिवेदन प्राप्त भइसकेपछि सरकार गठनको प्रक्रिया सुरु हुनेछ। सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले चैत १२ गते सांसदहरूको शपथ कार्यक्रम तय भएको जानकारी दिए। रास्वपाका महामन्त्री बुर्लाकोटीका अनुसार, पार्टी ‘सामान्यतया: शपथपछाडि नै प्रधानमन्त्री नियुक्ति गर्ने’ मनस्थितिमा छ, यद्यपि सांसदहरूको शपथअघि पनि प्रधानमन्त्री नियुक्त हुने अभ्यास रहेको कतिपय जानकारले बताएका छन्। संसद् सचिवालयसँगको छलफलमा मुख्य दलहरूले सांसदहरूको शपथपछि मात्रै प्रधानमन्त्रीको नियुक्ति चाहेको देखिएको महासचिव पाण्डेयले जानकारी दिए।

तस्बिर स्रोत, EPA/Shutterstock
रास्वपाका नेताहरूले सरकार गठन र मन्त्री चयनका विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन निरन्तर छलफलमा रहेको बताएका छन्। महामन्त्री बुर्लाकोटीले उपयुक्त व्यक्तिहरूलाई सरकारमा पठाउनेबारे शीर्ष तहमा छलफल भइरहेको र लामिछाने तथा बालेनबीच नीति र नेतृत्वका सवालमा उच्च स्तरको समन्वय र समझदारी रहेको दाबी गरे। उनले सामूहिक नीति र पार्टीको नेतृत्वका कारण उनीहरूबीच कुनै समस्या नआउने विश्वास व्यक्त गरे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
