काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठनको अन्तिम प्रक्रिया सुरु गरेको छ। संसदीय निर्वाचनमा सशक्त जनमत प्राप्त गर्दै संसदमा चौथो ठूलो शक्ति बनेको रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम दिइसकेको छ भने मन्त्रिमण्डल छनोटको गृहकार्यमा जुटेको छ। पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई उनीहरूले अवलम्बन गर्नुपर्ने नीति नियम र आवश्यक आचरणबारे निर्देशन समेत दिएका छन्।
वरिष्ठ नेता शाहको नेतृत्वमा सरकार बन्ने लगभग पक्का भएसँगै अब बन्ने सरकारको प्राथमिकता के हुनुपर्छ भन्ने विषयमा विभिन्न क्षेत्रमा छलफल र बहस हुन थालेका छन्। चैत १५ भित्रमा मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ। रास्वपाले सुशासनलाई मुख्य एजेण्डा बनाएर सरकारको कार्यसम्पादन अघि बढाउने प्रतिबद्धता जनाइसकेको छ। पुराना दलहरूबाट आजित जनताले रास्वपासँग धेरै आशा र अपेक्षा राखेका छन्। ती आशाहरूलाई पूरा गर्न रास्वपाले सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्न कठोर कदम चाल्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। विशेषगरी युवाहरूमा बालेन प्रधानमन्त्री बन्ने भएपछि देशमै केही गर्न सकिन्छ कि भन्ने ठूलो अपेक्षा पलाएको छ।
युवा नेता मिलन पाण्डेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक छात्राको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘युवामा धेरैपछि आशा जागेको छ, अब यो आशालाई ऊर्जामा परिणत गर्नुपर्छ।’ उक्त तस्बिरमा छात्राको सेतो सर्टको पछाडिको भागमा कालो मसीले लेखिएको छ, ‘बालेन सरकार बन्दैछ, साथीहरू अब रोजगारी नेपालमै पाइन्छ। विदेश जानु पर्दैन।’ यो नाराले युवाहरूको भावनालाई प्रतिविम्बित गरेको छ। वैकल्पिक राजनीति र सुशासनको वकालत गर्दै आएका पाण्डेले शिक्षा, स्वास्थ्य सेवा र रोजगारी यी तीन क्षेत्रमा व्यापक सुधार अबको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्।
सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूसँगको परिचयात्मक कार्यक्रममा देश र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्न निर्देशन दिएका थिए। उनले विगतमा नागरिकले पुराना दलहरूलाई ३६-३७ वर्ष कुरेको बताउँदै अब नागरिकले रास्वपाको सरकारलाई ३६ दिन पनि कुर्न नसक्ने बताए। उनले पद र व्यक्तिगत स्वार्थमा नलाग्न र जनताको जीवनमा परिवर्तन ल्याउने दिशामा आफूलाई केन्द्रित गर्न सांसदहरूलाई सुझावसमेत दिएका छन्।
जेनजी आन्दोलनपछि उदाएको वैकल्पिक राजनीतिको वकालत गर्दै आएको रास्वपाको पक्षमा देखिएको जनलहरलाई नेपालका बौद्धिक र विज्ञ व्यक्तित्वहरूले पनि नजिकबाट नियालिरहेका छन्। उनीहरूले सरकार गठनको गृहकार्यमा रहेको रास्वपा र त्यसको नेतृत्वलाई सुझावसहित आगामी दिनमा प्रारम्भिक रूपमा गर्नुपर्ने कामका विषयहरू औंल्याएका छन्।
त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक डा. देवराज अर्याल यसपटकको संघीय निर्वाचनमा रास्वपाप्रतिको जनलहरलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँछन्। जनताले आफ्नो आशा र अपेक्षालाई निर्वाचनमार्फत शान्तिपूर्ण रूपमा प्रकट गरेको उनको भनाइ छ। उनले जनलहर र विश्वास सुशासन, पारदर्शिता र आर्थिक समृद्धिको आशामा आधारित रहेकोले रास्वपाले यसलाई बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उपप्राध्यापक अर्यालले बालेन नेतृत्वको रास्वपा सरकारले प्रारम्भिक रूपमा सुशासन स्थापना, काममा पारदर्शिता, रोजगारी सिर्जना, बिचौलियाको दबाबबाट मुक्ति, देश र नागरिकको सार्वभौमिकताको पक्षमा निर्णय गर्ने क्षमता, अर्थतन्त्रलाई फराकिलो बनाउनुपर्ने, स्वआर्जनको बाटो बनाउन क्रियाशील हुनुपर्ने र नागरिकको क्रयशक्ति मजबुत बनाउनुपर्ने जस्ता कामलाई प्राथमिकता दिनुपर्ने बताए। उनले प्रतिपक्षी दलहरूले पनि रचनात्मक सहयोगको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए।
संविधानविद् विपिन अधिकारीले भर्खरैको संघीय निर्वाचनको परिणामअनुसार रास्वपाको घोषणापत्र जनअनुमोदन भएको बताए। उनले अब बन्ने बालेन नेतृत्वको सरकारले घोषणापत्रलाई क्रमशः कार्यान्वयनमा लैजानुपर्ने बताए। अधिकारीका अनुसार सुशासन, भ्रष्टाचार नियन्त्रण र सरकारमा रहेकाहरूमा निष्ठामात्र भए पनि धेरै कुरामा सुधार देखिनेछ। उनले अबको सरकारले पाँच वर्षको कार्ययोजनासहित सरोकारवाला सबैमाझ बहस छलफल अगाडि बढाउनुपर्ने, छिमेकी देशहरूसँगको सम्बन्धलाई सुमधुर राख्दै उनीहरूबाट फाइदा लिनसक्ने रणनीति अपनाउनुपर्ने, देशमै रोजगारी सिर्जनाका अवसरहरू पहिल्याउनुपर्ने र राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए। उनले संविधानको सही कार्यान्वयन गर्दै सबै क्षेत्र, समुदाय, वर्ग र लिङ्गका आवश्यकतालाई सम्बोधन गर्न सक्ने गरी बृहत् छलफलका माध्यमबाट संविधान संशोधनको मुद्दालाई समेत अगाडि बढाउनुपर्ने सुझाव दिए।
संविधानविद् निलाम्बर आचार्यले जनताको अपार मतबाट बन्न लागेको रास्वपा सरकारले देशलाई स्थायी शान्ति र विकासतर्फ लैजानुपर्ने बताए। उनले यसका लागि पार्टीभित्रको एकतालाई बलियो बनाउनुपर्ने, गृह र बाह्य नीति मजबुत बनाउँदै समयमै काम गर्ने र सकारात्मक नतिजा दिनेतर्फ सरकारले सोच्नुपर्ने बताए। शान्ति सुरक्षा, सुशासन, भ्रष्टाचारमुक्त समाज, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता नै नागरिकको मुख्य माग भएकाले यसतर्फ सरकार योजनाबद्ध रूपमा लाग्नुपर्ने आचार्यको भनाइ छ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेको मात्र पटक-पटक भाषण सुनिएको र बालेन शाहको ठोस योजनाहरू बाहिर नआइसकेकाले अहिले नै टिप्पणी गर्नु हतार हुने बताए। तर, भावी सरकारले गर्ने कुरा रास्वपाको चुनावी घोषणापत्र (करारनामा) मै उल्लेख गरिएकाले अघिल्लो सरकारले गरेका कमजोरीहरू (भ्रष्टाचार, कुशासन र जनतालाई बेपरवाह गर्ने शैली) लाई रास्वपाले सुधार गर्नुपर्ने उनको भनाइ छ। ‘अब कुराले मान्छे अघाउनेवाला छैन, काममै देखिनुपर्छ,’ उनले भने, ‘नयाँ संविधान आएको १० वर्ष भइसक्दा पनि जनताको घर र जीवनसम्म कुनै परिवर्तन पुग्न सकेको छैन, अब बन्ने सरकारले गरिबको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्नुपर्यो।’
नेपालले भारत, चीन र अमेरिकासँग सुमधुर सम्बन्ध र समान दूरी राख्दै अगाडि बढ्नुपर्ने बताउँदै श्रेष्ठले नेपाल मध्य धारमा बसेर अगाडि बढ्नुपर्ने बताए। नेपालको हितलाई केन्द्रमा राख्दै छिमेकीको समेत अहित नहुने नीति अवलम्बन गर्न सके फाइदा लिन सकिने उनको धारणा छ। जल, जमिन र पर्यटनमा प्रचुर सम्भावना बोकेको देश भएकाले उद्योगधन्दा खोल्ने र उत्पादन बेच्नसक्ने अवसर र सम्भावना पनि उत्तिकै रहेको उनले बताए। नेपालको जंगललाई उपयोगमात्रै गर्न जाने एक/दुई वर्षमै विदेशी ऋणको भारीबाट मुक्त हुन सकिने सम्भावना रहेको श्रेष्ठले औंल्याए। विश्लेषक श्रेष्ठले नेपाल पर्यटनका लागि विश्वकै नमुना देश रहेको बताउँदै पर्यटन क्षेत्रको विकास गर्न सके नेपालले छोटो समयमै कायापलट गर्नसक्ने विश्वास व्यक्त गरे।





