तस्बिर स्रोत, IRTV
तस्बिरको क्याप्शन, आयतोल्लाह अलि खामेनेइको मृत्युको समाचार प्रस्तोताले रुँदै वाचन गरेका थिए
बीबीसी ग्लोबल डिसइन्फरमेशन युनिटका रेहा कन्सारा र बीबीसी मनिटरिङका सोरोस नेगादरीद्वारा लिखित यो विश्लेषण इरानी सरकारी सञ्चारमाध्यमको युद्धकालीन रिपोर्टिङमा केन्द्रित छ।
गत फेब्रुअरी २८ मा इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले ‘तानाशाह अब नरहेको’ सङ्केत दिएपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएको भन्ने खबर इरानबाहिर फैलिएको थियो। तर, सो समय इरानको सरकारी टेलिभिजन हेरिरहेका इरानीहरूले भने यस्तो समाचार पाएनन्। इरानी सरकारी अधिकारीहरूले खामेनेईको मृत्युको पुष्टि वा इन्कार दुवै गरेनन्। सरकारी प्रसारक आईआरटीभी३ का प्रस्तोताले यो खबरलाई ‘आधारहीन हल्ला’ भन्दै दर्शकहरूलाई सरकारसँगको पछिल्लो जानकारीमा विश्वास गर्न आग्रह गरे। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत् खबर सार्वजनिक गरेको केही घण्टापछि मात्र इरानी सरकारी सञ्चारमाध्यमले खामेनेईको मृत्युको पुष्टि गर्यो।
युद्ध सुरु भएयता इरानमा १,२०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ र यो द्वन्द्व लेबनानदेखि खाडीका अरब देशसम्म फैलिएको छ। इरानी सरकारी सञ्चारमाध्यमले भने घरेलु दर्शकका लागि घटनाहरूको औपचारिक जानकारी तथ्य र कथा मिसाएर प्रवाह गरिरहेको पाइएको छ। लाखौं इरानीहरूले विदेशस्थित फारसी भाषाका स्याटेलाइट टीभी च्यानलहरू हेरे पनि, इन्टरनेट बन्द, सेन्सरशिप र निश्चित च्यानलमा मात्र पहुँचका कारण उनीहरूका लागि स्वतन्त्र समाचार पाउन मुस्किल छ। यसले इरानीहरूलाई अशान्ति र लडाइँका दौरान बाहिरी दुनियाँबाट बेखबर राखेको छ।
बीबीसीले इरानका सरकारी सञ्चारमाध्यमले युद्धको पहिलो हप्तामा प्रेषित गरेका समाचारहरूको विश्लेषण गरेको थियो। ती मिडियाले ‘सर्वसाधारणले पाएको दुःख, दुश्मनका विरुद्ध बदला र इस्लामिक गणतन्त्रप्रतिको वफादारी’ लाई आफ्ना प्रसारणको केन्द्रमा राखेको पाइयो। यसमा सैन्य र सरकारी संरचनामाथि इजरायल र अमेरिकी आक्रमणबारे भने निकै कम उल्लेख गरिएको थियो। बीबीसीले गलत जानकारी प्रवाह भएका केही उदाहरणहरू पनि फेला पारेको छ।
इरानको मिडिया संयन्त्र
मिडिया वाचडग रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार इरान प्रेस स्वतन्त्रता दबाउने मुलुकहरूमध्ये अग्रपंक्तिमा पर्छ। सन् १९७९ को क्रान्तिपछि इस्लामिक गणतन्त्र इरान बनेदेखि मिडिया सरकारको कडा नियन्त्रणमा काम गरिरहेको छ। बीबीसी पर्सियन र अन्य पश्चिमा मिडिया संस्थाहरूलाई इरानमा काम गर्न प्रतिबन्ध लगाइएको छ। सरकारको मुख्य समाचार माध्यम टीभी र रेडियो भए पनि समाचार वेबसाइट र इन्स्टाग्राम, टेलिग्राम, एक्स जस्ता सामाजिक सञ्जालमार्फत् अनलाइनमा पनि उपलब्ध छ, यद्यपि सामाजिक सञ्जालमा पहुँचका लागि भीपीएन प्रयोग गर्नुपर्छ।
खासगरी इन्टरनेट बन्द गरिएका बेला सरकारका मिडिया संयन्त्र नै देशभित्रका इरानीहरूका लागि समाचारका मुख्य स्रोत हुन्। मानव अधिकारवादी संस्था विटनेसकी मासा अलिमर्दानी भन्छिन्, “उनीहरूको सेना असाध्यै मजबुत छ र उनीहरू जितिरहेका छन् भन्ने कुरा फैलाइएको छ।” इरानी सरकारी मिडियाले इरानी फौजले सयौं अमेरिकी सेनालाई घाइते बनाएको र मर्नेको सङ्ख्या पनि बढाइचढाइ गरेर बताएको पाइन्छ। गत मार्च ३ मा तस्निम न्यूजले आईआरजीसीका प्रवक्तालाई उद्धृत गर्दै युद्धको पहिलो दुई दिनमा ६५० जना अमेरिकी सैनिक मारिएको बताएको थियो। यो दाबीलाई भारत, टर्की र नाइजेरियाका समाचार संस्थाहरूले पनि प्रयोग गरेका थिए। तर, सो बेलासम्म पेन्टागनले ६ जना अमेरिकी सैनिक मारिएको जानकारी दिएको थियो र मार्च १३ सम्ममा अमेरिकी सेन्ट्रल कमान्डले थप एक जनाको मृत्यु भएको बताएको थियो।
वास्तविकता बङ्ग्याउने
तस्बिरको क्याप्शन, बाहरेनमा आगोको मुस्लो देखिएको इरानी सरकारी मिडियाले जारी गरेको तस्बिर एआईले बनाएको थियो
नयाँ प्रविधिले पनि सरकारी मिडियाबाट हल्ला फैलाउन मद्दत गरिरहेको छ। एक फेसबुक पोस्टमा, जुन पछि हटाइएको थियो, सरकारी अङ्ग्रेजी न्यूज च्यानल पेस टीभीले जलिरहेको एउटा भवनको भिडिओ शेअर गरेको थियो जसमा ‘इरानको हमलापछि बहरेनमा एक अग्लो भवनबाट धुवाँ उडिरहेको’ भन्ने विवरण लेखिएको थियो। तर, ध्यान दिएर हेर्दा दुई कारलाई मिलाएर एक बनाइएको जस्ता अनौठा तथ्यहरू देखिए, जसले भिडिओ नक्कली र एआईको सहयोगमा बनाइएको पुष्टि गर्यो। यूकेको थिंक ट्याङ्क इन्स्टिट्यूट अफ स्ट्र्याटेजिक डाइलगका वरिष्ठ निर्देशक ब्रेट शफर भन्छन्, “युद्धका बेला हल्ला फैलाउन एआईको प्रयोग नयाँ कुरा नभए पनि ठूलो सरकारी मिडियाद्वारा एआईको नक्कली विषयवस्तु प्रयोग गर्नु आश्चर्यजनक कुरा हो। इरानी सरकारी मिडियाले डीपफेक प्रयोग बारम्बार गर्नुले यो उनीहरूको युद्धबारे बताउने तरिका बनेको देखिएको छ।” युद्ध सुरु भएयता सरकारले आफ्ना भनाइ राख्न एआईका तस्बिर प्रयोग गरेका अन्य उदाहरण पनि बीबीसीले देखेको छ। धेरैजसो तस्बिरहरू अवास्तविक छन् र कसैलाई दिग्भ्रमित पार्ने भन्दा पनि आफ्नो भनाइलाई बढाइचढाइ गर्ने उद्देश्यले प्रयोग भएको देखिन्छ।
सत्यका अंश पनि
तस्बिर स्रोत, Iranian Press Center/AFP via Getty Images
तस्बिरको क्याप्शन, इरानी प्रेस सेन्टरले जारी गरेको यो आकाशबाट खिचिएको र एक स्कूलमा भएको आक्रमणपछि मारिएका विद्यार्थीहरूको चिहानस्थल
असत्य समाचारका साथमा केही सत्य अंश पनि घुसाउने इरानी सत्ताका कारण इरानभित्र र बाहिर संशय पैदा भएको छ। मार्च ३ मा इरानी सरकारी मिडियाले एक स्कुलमाथि भएको आक्रमणमा १६० बालबालिका र कर्मचारीहरू मारिएको बताए। स्वतन्त्र विज्ञहरूले त्यसलाई अमेरिकाले नजिकैको सैन्य आधारमाथि गरेको आक्रमण भने। समाचारमा अन्तिम संस्कारको तस्बिर पनि शेअर गरिएको थियो। इरानी सरकारका विपक्षीहरूले अन्तिम संस्कारको फोटो एआई जेनेरेटेड हो भने पनि, बीबीसीले त्यो तस्बिर साँचो भएको पुष्टि गर्यो। स्कुलदेखि ३.७ किलोमिटर टाढा चिहानस्थल फेला पर्यो, जहाँ तस्बिरमा देखिएका रुख, सडक र नजिकैको भवन पनि मिलेका थिए। स्याटेलाइट तस्बिरमा एकदिन अघि बाँझो रहेको जमिन र भोलिपल्ट नयाँ खनेको चिहान स्पष्ट देखिन्थ्यो। विटनेसकी मासा अलिमर्दानी भन्छिन्, “हामीले एउटा समयमा दुई सत्य हेर्नु परेको छ। इरानी सत्ताले धेरैजसो अत्याचारको प्रमाण लुकाउँछ र युद्धका बेलामा उसले सर्वसाधारण मारिएको कुरा भने गहिरो तरिकाले दस्ताबेजीकरण गर्छ।” उनी भन्छिन् कि त्यस्तो दस्ताबेजले राज्यको युद्धको भाष्यलाई सहयोग गर्छ र त्यो स्वतः झुटो पनि हुँदैन। अलिमर्दानीका अनुसार इरानको सरकारी रिपोर्टिङलाई केही “शङ्का” राखेरै बुझ्नुपर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
