तस्बिर स्रोत, Reuters
१० मार्च २०२६, ०९:०२ +०५४५
पढ्ने समय: ३ मिनेट
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध “अत्यन्त चाँडै” समाप्त हुने बताउनुभएको छ। तर उहाँले अमेरिकाले “पर्याप्त विजय हासिल नगरेको” र “अन्तिम विजय” को लक्ष्य राखेको समेत स्पष्ट पार्नुभएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ता भएको दिन ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो। वार्तासम्मको अवधिमा ८ जना अमेरिकी सैनिकको ज्यान गइसकेको जानकारी सार्वजनिक भएको थियो।
सीबीएस न्यूजसँगको एक अन्तर्वार्तामा ट्रम्पले अमेरिका “तालिकाभन्दा निकै अगाडि” रहेको दाबी गर्नुभयो।
अमेरिकी राष्ट्रपतिको उक्त टिप्पणीपछि मङ्गलबार एसियाको प्रारम्भिक कारोबारमा तेलको मूल्यमा गिरावट आएको छ। सोमवार एक बिन्दुमा ती कारोबार प्रतिब्यारल ११५ अमेरिकी डलरसम्म पुगेका थिए।
इरानले स्ट्रेट अफ हर्मुज नामक जल क्षेत्रलाई अवरुद्ध गर्ने धम्की दिएको सन्दर्भमा ट्रम्पले तेहरानलाई त्यसो गरेमा “मृत्यु, आगो र क्रोध” को सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ।
तेलको भाउ घट्यो
तस्बिर स्रोत, Getty Images
ब्रेन्ट कच्चा तेलको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलरमा झरेको छ। अमेरिकामा कारोबार हुने तेलको मूल्यसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलरमा पुगेको छ। यद्यपि, यो द्वन्द्व सुरु हुनुअघिको तुलनामा मूल्य अझै पनि करिब ३० प्रतिशतले बढी छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार युद्ध “निकै चाँडै” समाप्त हुने बताएपछि तेलको मूल्यमा यस्तो गिरावट देखिएको हो। तेलको मूल्यमा आएको प्रारम्भिक गिरावटले एसियाली बजारहरूलाई सकारात्मक प्रोत्साहन दिएको देखिन्छ। जापानको निक्केई २२५ सूचकाङ्क २.८ प्रतिशतले बढेको छ भने दक्षिण कोरियाको कोस्पी एक्सचेन्ज ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो।
धेरै एसियाली देशहरू द्वन्द्व प्रभावित खाडी राज्यहरूका ठूला ग्राहक भएकाले तेलको मूल्यमा भएको वृद्धिसँगै एसियाली सूचकाङ्कहरूमा ठूलो धक्का परेको थियो।
ट्रम्पले अरू के भनेका छन्?

तस्बिर स्रोत, Reuters
एनबीसीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानी तेल कब्जा गर्ने सम्भावनालाई खुला राखेको बताउनुभयो, यसबारे “केही मानिसहरूले कुरा गरेको” उहाँले उल्लेख गर्नुभयो। न्यूयोर्क पोस्टसँगको अर्को अन्तर्वार्तामा उहाँले आफ्नो प्रशासन इरानमा अमेरिकी सेना पठाउने कि नपठाउने भन्ने निर्णय गर्नबाट “निकै पर” रहेको स्पष्ट पार्नुभयो।
रिपब्लिकन सांसदहरूसँगको कुराकानीमा ट्रम्पले अमेरिका “केही अति दुष्ट मानिसहरूबाट छुटकारा पाउन” इरानमा “छोटो अवधिको” सैन्य कारबाहीमा संलग्न भएको बताउनुभयो। उहाँले थप भन्नुभयो: “हामीले पहिले नै धेरै तरिकाले जितेका छौँ, तर हामीले पर्याप्त जितेका छैनौँ।”
ट्रम्पले न्यूयोर्क पोस्टलाई भन्नुभयो कि उहाँ इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईलाई लिएर “खुसी छैनन्।” तर पछि ट्रम्पले आफ्नो प्रेस ब्रिफिङका क्रममा मोज्तबाको स्थानमा कसलाई चाहन्छन् वा त्यो कसरी प्राप्त हुने छ भनेर स्पष्ट पार्नुभएन।
उक्त ब्रिफिङमा ट्रम्पले इरानमा गरिएको कारबाही “ठूलो सफलता” भएको दोहोर्याए। तर उहाँले इरानले “निकै लामो समयसम्म” परमाणु अस्त्र विकास गर्न नसक्ने सुनिश्चित गर्न चाहेको र त्यो निकै ठूलो काम रहेको बताउनुभयो। पत्रकारहरूसँग बोल्दै ट्रम्पले अमेरिकाको इरानमा अझै पनि लक्ष्यहरू रहेका र ती “एकै दिनका” काम भएको बताउनुभयो। तैपनि उहाँले यो युद्ध “निकै चाँडै” सकिने विश्वास व्यक्त गर्नुभयो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
