तस्बिर स्रोत, EPA
नेपाली कांग्रेसका सभापति गगन थापाले हालै सम्पन्न निर्वाचनमा पार्टीले भोगेको निराशाजनक हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन चाहेको खबर सार्वजनिक भएको छ। यद्यपि, पार्टीको केन्द्रीय समितिले यसबारे निर्णय गर्ने नेपाली कांग्रेसका एक महामन्त्रीले बीबीसीलाई जानकारी दिएका छन्। पार्टी प्रवक्ताले पनि यसलाई सभापतिको व्यक्तिगत सोचका रूपमा व्याख्या गर्दै केन्द्रीय समितिको निर्णय अपरिहार्य रहेको बताएका छन्।
गत निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस यसपटक दोस्रो स्थानमा खुम्चिएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ कांग्रेसले केवल १८ सिट हासिल गरेको छ भने समानुपातिकतर्फ १६ प्रतिशत मत प्राप्त गरेको छ। समानुपातिकतर्फको सिट बाँडफाँडपछि पनि कांग्रेसले कुल ४० सिट पूरा नगर्ने देखिएको छ। गगन थापा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएको दुई महिना पनि पूरा भएको छैन।
तस्बिर स्रोत, EPA
निर्वाचनमा पार्टीले बेहोरेको पराजयको नैतिक जिम्मेवारी र राजीनामा फरक विषय भएको नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले स्पष्ट पारेका छन्। बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै उनले भने, “राजीनामाबारे सभापतिज्यूको भनाइमाथि हामी छलफल गर्छौं। केन्द्रीय समितिको बैठकले के भन्छ, बैठक भएपछि मात्र टुङ्गो लाग्छ।” घिमिरेले सभापति थापाले राजीनामा दिन चाहेको भए पनि केन्द्रीय समितिले उनको “आवश्यकता महसुस” गर्न सक्ने तर्क गरे। उनले उपसभापतिमार्फत केन्द्रीय समितिमा राजीनामा प्रस्ताव आएमा अध्ययन र छलफल गरी उपयुक्त निर्णयमा पुगिने बताए। काठमाण्डूबाट जित्दै आएको आफ्नो क्षेत्र छोडेर सर्लाहीबाट चुनाव लडेका थापा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग पराजित भएका छन्, जो पहिला कांग्रेसमै आबद्ध थिए।
यसैगरी, कांग्रेस प्रवक्ता देवराज चालिसेले राजीनामा नै समस्याको समाधान नहुन सक्ने धारणा व्यक्त गरे। “यो सम्हालिने बेला हो। नेता, कार्यकर्ताको मनोबल गिरिरहेको बेला त्यसलाई उठाउन भरपर्दो बाटो नदिई यस्तो निर्णय लिनु हुँदैन,” उनि भन्छन्। चालिसेका अनुसार सभापतिको राजीनामा दिने व्यक्तिगत इच्छा भए पनि यसमा पार्टीको संस्थागत निर्णय आवश्यक छ। वैशाखमा हुने भनिएको नियमित महाधिवेशनको समय नजिकिँदै गर्दा अहिले राजीनामाले थप सङ्कट निम्त्याउन सक्ने उनको तर्क छ। उनले नेतृत्व परिवर्तनभन्दा नैतिकताको विषय महत्वपूर्ण भएको र नियमित अधिवेशन आउनै बाँकी रहेको, जसमा जोसुकै पनि उठ्न पाउने बताए।
पार्टीको नतिजाको जिम्मेवारी एक जनाको मात्र नभई सामूहिक भएको चालिसेले बताए। उनले भने, “पार्टीले ल्याएको परिणाम सबैले समीक्षा गर्नुपर्ने विषय हो। एउटा व्यक्ति मात्र जिम्मेवार हुँदैन। पार्टीको समग्र परिस्थिति, विगतका पृष्ठभूमि र कारण पनि जिम्मेवार हुन्छन्। आत्मसमीक्षा नगरी राजीनामाको विषयमा प्रवेश गर्नु उचित हुँदैन।” महामन्त्री घिमिरेले पनि नेतृत्वले अपेक्षाकृत नतिजा दिन नसक्दा विगतदेखि नै प्रश्न उठ्दै आएको स्वीकार गर्दै राजीनामा प्रश्नको एक सम्भावित उत्तर भए पनि अन्य तयारीका साथ सशक्त रूपमा अगाडि बढ्नुपर्ने हुन सक्ने बताए। उनले नैतिक धरातल राखेरै यस विषयमा छलफल गरिनेमा जोड दिए।
यस विषयमा पूर्व सभापति शेरबहादुर देउवानिकट नेताहरूले भने मौनता साँधेका छन्। यद्यपि, देउवानिकट मानिने नेता महेन्द्र यादवले कांग्रेसलाई एकढिक्का राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले भने, “जे गर्ने हो, एकताबद्ध भएर गर्नुपर्छ। सबै जना एक ठाउँमा बसेर सर्वसम्मत निष्कर्ष निकाल्नुपर्छ।” यसअघि भूतपूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर जिम्मेवारीका साथ अगाडि बढ्न तथा पार्टीको व्यापक-बृहत् एकताका लागि निष्ठ र समर्पण भावका साथ काम गर्न आग्रह गरेका थिए।
