काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आमनिर्वाचनपछिको शिथिलता चिर्दै संगठनलाई सुदृढ एवं एकताबद्ध बनाउने तथा आसन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि काठमाडौंमा आजबाट चार दिने राष्ट्रिय भेला सुरु गरेको छ। बबरमहलस्थित कार्की बैंक्वेटमा हुने यस भेलामा देशभरबाट करिब साढे तीन हजार नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। गत निर्वाचनमा पार्टीले बेहोरेको पराजयपछि कार्यकर्तामा नयाँ ऊर्जा भर्न र पार्टीलाई पुरानै लयमा फर्काउने अवसरका रूपमा यस भेलालाई लिइएको छ।
भेलामा पालिका तहका पार्टी अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न तहका जनप्रतिनिधिहरू समेत सहभागी छन्। पार्टीका सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार, भेलाको उद्घाटन सत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। त्यसपछि पाँच शीर्ष नेताहरूले विभिन्न विषयमा प्रस्तुति दिनेछन्। अध्यक्ष ओलीले केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित दुई कार्यभार र १५ कामबारे प्रकाश पार्नेछन्। वरिष्ठ नेताले पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने विषयमा धारणा राख्नेछन् भने संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले संसदीय क्षेत्रको कामबारे जानकारी गराउनेछन्।
यस्तै, पार्टी उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको सरकारमा रहँदा राष्ट्र र जनताको पक्षमा गरिएका कामहरूको विषयमा प्रस्तुति दिनेछन् भने महासचिवले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय तहको निर्वाचनको कार्ययोजनाबारे विषयवस्तु प्रस्तुत गर्नेछन्। यी प्रस्तुतिहरू दुई दिनसम्म चल्नेछन्। सहभागीहरूबाट स्थानीय तहको निर्वाचन लगायत समसामयिक विषयमा लिखित सुझाव संकलन गरिनेछ, जसले सुझावहरूलाई व्यवस्थित ढंगले बटुल्न मद्दत पुग्ने विश्वास पार्टीले लिएको छ।
यो भेलाले एमाले एकताबद्ध छ, विचार र दृष्टिकोणमा विमति छैन र चुनौतीहरूको सामना गर्न तयार छ भन्ने सन्देश दिन खोजेको ढकालले बताए। गत निर्वाचनपछि पार्टीमा देखिएका उतारचढाव र विभिन्न अभिव्यक्तिलाई केन्द्रीय कमिटीको ‘कट अफ बैठक’ ले समाधान गर्दै अब संस्थागत निर्णय अनुसार अगाडि बढ्ने सहमति भएको उनले स्पष्ट पारे। तल्लो तहमा कार्यकर्ताको नयाँ म्यान्डेटका आधारमा वडा र पालिका कमिटीहरू पुनः अनुमोदित गराउने लक्ष्य पनि भेलाले बोकेको छ, जसले आगामी निर्वाचनमा सक्षम नेतृत्व तयार पार्न सहयोग पुग्ने विश्वास लिइएको छ।
भेलापछि पार्टीको केन्द्रीय कमिटीको बैठक बस्नेछ। यो बैठकले राष्ट्रिय भेलामा प्राप्त सुझावहरूलाई ध्यानमा राख्दै स्थानीय तहको निर्वाचन र मुलुकको वर्तमान विषम परिस्थितिबारे महत्वपूर्ण निर्णय लिनेछ। सरकारको गतिविधि संविधान विपरीत देखिएको भन्दै यस विषयमा पनि पार्टीले एकीकृत दृष्टिकोण बनाउने र जनसमक्ष राख्ने तयारी गरेको छ।
राष्ट्रिय भेलाले आम निर्वाचनपछि पार्टीमा देखिएको शिथिलता र निराशालाई चिरेर कार्यकर्तामा उत्साह भर्ने, संगठनलाई गति दिने र पार्टीको पक्षमा जनमत निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने एमालेको अपेक्षा छ। देशभरका कार्यकर्ता एकै ठाउँमा भेला हुँदा सिर्जना हुने सामूहिक भावनाले पार्टीलाई नयाँ उचाइमा पुर्याउने विश्वास एमालेले लिएको छ।
