काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। यो जितसँगै चितवनले बिहीबार सुदूरपश्चिम रोयल्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। चितवनले एनपीएलका तीन संस्करणमध्ये पहिलो पटक दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको हो, जुन टोलीका लागि ऐतिहासिक उपलब्धि मानिएको छ।
यसअघि, एनपीएलको पहिलो संस्करणमा चितवन प्लेअफमा पुगे पनि एलिमिनेटरमा कर्णाली याक्ससँग २१ रनले पराजित भएको थियो। दोस्रो संस्करणमा भने टोली सातौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो। किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योगफल खडा गरेको थियो।
चितवनले दिएको २०५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो। काठमाडौंका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए। उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यद्यपि, टोलीको जितका लागि उनको प्रयास पर्याप्त हुन सकेन। काठमाडौंका ओपनरद्वय साहिल पटेल २ रन र साम हेज्लेट ३ रनमै पवेलियन फर्किएपछि टोली दबाबमा परेको थियो। राशिद खानले १२ रन जोड्दा सहान अर्राचिगेले २३ रन बनाए। उनलाई रञ्जित कुमारको बलमा विवेक यादवले क्याच छुटाए पनि अर्को ओभरमा उस्मा मिरको बलमा कुशल मल्लको हातबाट २४ रनमा क्याच आउट भए। कप्तान करण केसी १ रनमै बोल्ड हुँदा जहानदाद खान पनि खाता खोल्न नपाई सलाउद्दिन खानको बलमा बोल्ड भए। सोनु देवकोटा ६ रनमा कुशल मल्लको उत्कृष्ट क्याचबाट आउट भए। अन्त्यमा, भीम सार्की ३० रन र गणेश गौतम ४ रनमा अविजित रहेका थिए।
चितवनको बलियो बलिङ प्रदर्शनमा रिजन ढकालले सर्वाधिक ४ विकेट लिए। पाकिस्तानी बलर उस्मा मिरले ३ विकेट हात पार्दा सलाउद्दिन खान र कुशल मल्लले समान १–१ विकेट लिएर काठमाडौंको ब्याटिङ ध्वस्त पारेका थिए।
त्यसअघि, चितवनको ब्याटिङतर्फ ओपनर कामिल मिशराले उत्कृष्ट शतकीय पारी खेल्दै १२० रनको अविजित योगदान दिए। उनले ५९ बलको सामना गर्दै ५ चौका र १० छक्का प्रहार गरे। यो एनपीएलको इतिहासमै एक खेलाडीले बनाएको सर्वाधिक रनको कीर्तिमान हो। उनले यसअघि कर्णाली याक्सका मार्क वाटले बनाएको ११४ रनको कीर्तिमान तोडेका हुन्। मिशराले तेस्रो विकेटका लागि कप्तान रवि बोपारासँग १५४ रनको कीर्तिमानी साझेदारी गर्दै टोलीको स्कोर उकासेका थिए। उनी एनपीएलमा शतक प्रहार गर्ने पाँचौं खेलाडी बनेका छन्। पहिलो संस्करणमा पोखराका एन्ड्रेस गौसले शतक बनाएका थिए भने दोस्रो संस्करणमा कर्णाली याक्सका मार्क वाट र पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक प्रहार गरेका थिए। जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सका युवराज सम्राले पनि शतक बनाएका थिए।
चितवनका अर्का ओपनर देव खनाल १७ रनमा क्याच आउट हुँदा, वान डाउन आएका डेभिड मलान भने खाता खोल्न नपाई पवेलियन फर्किए। कप्तान रवि बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रनको महत्त्वपूर्ण योगदान दिएर बोल्ड भएका थिए। चौथो विकेटको रूपमा विवेक यादव ३ बलमा २ चौकासहित ८ रन बनाएर क्याच आउट भए। कुशल मल्ल भने शून्य रनमा अविजित रहेका थिए। काठमाडौं गोर्खाजका लागि बलिङतर्फ कप्तान करण केसी र राशिद खानले २–२ विकेट लिएका थिए।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम रोयल्सले बिहीबार चितवन राइनोजसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। यो खेल एनपीएल तेस्रो संस्करणको फाइनलका लागि महत्त्वपूर्ण हुनेछ।
